एलआईसी नेपालले नेपाल पुर्नबीमा कम्पनीसंग गर्यो शतप्रतिशत पुर्नबीमा

विकासन्युज                              २०७५ भाद्र १७ गते ५:३६

काठमाडौं । भारतीयको समेत लगानी रहेको लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेड (एलआईसी)ले नेपाल पुर्नबीमा कम्पनी लिमिटेडमा शत्प्रतिशत पुर्नबीमा गरेको छ । दुबै कम्पनीबीच पुर्नबीमा गर्ने विषयमा आइतबार सम्झौता भएको छ ।

 

चालु आर्थिक वर्षदेखि नेपालमा कुल आर्जन भएको बीमा शुल्कको २० प्रतिशत स्वदेशमै पुर्नबीमा गर्नुपर्ने व्यवस्थाअनुसार सम्झौता भएको हो । पुर्नबीमा वापतको रकम विदेश जान नदिनका लागि पुर्नबीमा कम्पनी स्थापना गरिएको हो । सरकारको नीतिअनुसार शत्प्रतिशत पुर्नबीमा नेपालमै गरिएको एलआईसीका निमित्त प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदारले बताए । एलआईसीले जोखिम र महाविपत्तिको शत्प्रतिशत पुर्नबीमा गरेको उनले जानकारी दिए ।

कम्पनीसंग शत्प्रतिशत पुर्नबीमा गर्ने एलआईसी छैठौ कम्पनी भएको छ । यसअघि सुर्या लाइफ, गुराँश लाइफ, सानिमा लाइफ, आईएमई लाइफ इन्स्योरेन्स कम्पनी र राष्ट्रिय बीमा संस्थासंग शत्प्रतिशत पुर्नबीमा सम्झौता गरेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) चिरायु भण्डारीले जानकारी दिए ।

कम्पनीले २८ मुलुकमा बीमा तथा पुर्नबीमा कम्पनीसंग व्यवसाय गरी बीमा शुल्क आर्जन गर्दै आएको छ । गत आर्थिक वर्षमा ४ अर्ब रुपैयाँ बराबरको पुर्नबीमा व्यवसाय गरेको नेपाल पुर्नबीमा कम्पनीले यो वर्ष ३ अर्ब बढाएर ७ अर्ब पुर्याउने लक्ष्य लिएको छ ।