नेप्से ८ अंकले उकालो लाग्दा एनआईसी एशिया बैंकको सबैभन्दा बढी सेयर कारोबार

विकासन्युज                              २०७५ भाद्र १७ गते ३:२३

काठमाडौं । आइतबारको नेप्से परिसूचक ८.५९ अंकले उकालो लागेको छ । परिसूचक अघिल्लो कारोबारको तुलनामा साढे ८ अंकले बढेर ११९०.२८ अंकमा पुगेको छ । अघिल्लो कारोबार अर्थात बिहीबारको नेप्से परिसूचक ९ अंकले बढेर ११८१ अंकमा अडेको थियो ।

साताको पहिलो कारोबारमा कुल १६४ कम्पनीको ३० करोड २५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सो मध्ये सबैभन्दा बढी एनआईसी एशिया बैंकको ३ करोड २० लाख रुपैयाँकोे सेयर कारोबार भएको छ । त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्स र एनएमबी बैंकको २ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

कारोबारका साथ साथै सबैभन्दा बढी सेयर मूल्य बढ्नेमा पनि एनआइसी एशिया बैंक नै अग्रस्थानमा रहेको छ । सो दिन यस कम्पनीका सेयरधनीले ५.५९ बढी कमाएका छन् । त्यस्तै, तिनाउँ डेभलपमेन्ट बैंक र भार्गव विकास बैंकको सेयर मूल्य क्रमशः ५.४५ र ५ प्रतिशतले बढेको छ ।

बजारमा सबैभन्दा बढी होटल समूहको सूचक ३२ अंकले उकालो लागेको छ । त्यस्तै, उत्पादनमूलक, जीवन बीमा र अन्य समूह ओरालो लागेका छन् भने बाँकी समूह सामान्य अंकले बढेरका छन् ।