एनआईसी एसिया निजी क्षेत्रको सबैभन्दा बढी निक्षेप संकलन गर्ने बैंक, कम सिभिल (सूचिसहित)

विकासन्युज                              २०७५ भाद्र ४ गते ४:३२

काठमाडौं । एनआईसी एसिया निजी क्षेत्रको सबैभन्दा बढी निक्षेप परिचालन गर्ने बैंक भएको छ । गत असारसम्म बैंकले १ खर्ब ५१ अर्ब रुपैयाँ भन्दा बढी निक्षेप परिचालन गरेको छ ।

 

एक वर्षको अवधिमा निक्षेप परिचालन झण्डै ७५ प्रतिशत बढेको छ । एक वर्षमा बैंकले करिब ६५ अर्ब रुपैयाँ निक्षेप वृद्धि गरेको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरणअनुसार एनआईसी एसिया सबैभन्दा धेरै बढी निक्षेप संकलन गर्ने निजी क्षेत्रको बैंक भएको छ ।

एनआईसी भन्दा बढी निक्षेप संकलन गर्नेमा सरकार स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक हो । राष्ट्रिय वाणिज्यले गत असारसम्म १ खर्ब ६९ अर्ब रुपैयाँ निक्षेप परिचालन गरेको छ । अघिल्लो वर्ष राष्ट्रिय वाणिज्यको १ खर्ब ५४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको थियो । राष्ट्रिय वाणिज्यमा सरकारी कोषहरु रहेकाले बढी निक्षेप देखिएको हो । सिभिल बैंकको सबैभन्दा कम निक्षेप रहेको छ । गत असारसम्म सिभिलको निक्षेप ४० अर्ब रुपैयाँ हाराहारीमा रहेको छ ।

आक्रमक बजार विस्तारका कारण एनआईसी एसिया आर्थिक वर्ष २०७४/०७५ मा सबैभन्दा बढी निक्षेप संकलन गर्ने निजी क्षेत्रको वाणिज्य भएको हो । दुई वर्षयता लगातार बैंकिङ क्षेत्रमा लगानीयोग्य पुँजीको अभाव भएपनि बढी ब्याज दिएर एनआईसी एसियाले निक्षेप संकलनमा भारी वृद्धि गरेको हो ।

यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकले १ खर्ब ४० अर्ब, नविल बैंकले १ खर्ब ३५ अर्ब, एभरेष्ट बैंकको १ खर्ब १४ अर्ब, ग्लोबल आईएमई बैंकले १ खर्ब ६ अर्ब र सिद्धार्थ बैंकले १ खर्ब १ अर्ब रुपैयाँ निक्षेप परिचालन गरेको सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ ।