अब क्यिूआर कोडबाटै रकम भुक्तानी गर्न सकिने, एनआईसी एशियाले ल्यायो यस्तो एप

विकासन्युज                              २०७५ श्रावण २० गते ७:०९

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आइतबार(आज)बाट क्यिूआर कोड मार्फत भुक्तानी संचालनमा ल्याएको छ । यो सेवा बैंकको मोबाइल बैंकिङ्ग(मोबैंक एप) प्रयोगकर्ताहरुले प्रयोग गरि उपभोग गर्न सक्नेछन् । क्यिूआर कोड मार्फत भुक्तानी गर्नको लागि निम्न तरिका प्रयोग गर्न सकिन्छ ।

१. मर्चेन्टले मोबैंक मर्चेन्ट एप बाट रिक्वेष्ट पेमेन्ट विकल्प प्रयोग गरि क्यिूआर कोड जेनरेट गर्ने र ग्राहकले आफ्नो मोबैंक प्रयोग गरि सोहि क्यिूआर कोड मा मोपे विकल्प प्रयोग गरि स्क्यान गरेर भुक्तानी गर्न सक्नेछन् ।

२. मर्चेन्टले भुक्तानी काउण्टरमा क्यिूआर कोड भएको स्टिकर पनि राख्न सक्नेछन् जसलाई ग्राहकले मोपे विकल्प प्रयोग गरि स्क्यान गरेर भुक्तानी गर्न सक्नेछन् ।

बैंकले नै यो सेवा नेपालमा पहिलो पटक शुरु गरेको हो जसबाट व्यवसायी तथा ग्राहकहरु लाभान्वित हुने बैंकको विश्वास छ । यो सेवा प्रयोग गर्नको लागि ग्राहकसँग स्मार्ट फोन उपलब्ध हुनुपर्ने र उक्त स्मार्ट फोन प्रयोग गरि ग्राहकले सजिलै भुक्तानी गर्न सकिने बैंकले जनाएको छ । बैंकको मोबाइल बैंकिङ्ग मोबैंक सेवा गुगल प्ले/एप स्टोर अथवा बैंकको वेबसाइटबाट डाउनलोड गरी प्रयोग गर्न सकिने छ ।