बैंकहरुको नाफा र सम्पत्तिमा व्यापक फेरबदल हुँदै, फरक हिसाबले सिटिजन्स बैंकको संचित कोषमा २ अर्ब थपियो

विकासन्युज                              २०७५ श्रावण १६ गते १२:०५

काठमाडौं । पुरानो लेखा प्रणाली अनुसार सिटिजन्स बैंक इन्टरनेशनलले आर्थिक वर्ष २०७३/७४ मा खुद नाफा १ अर्ब ८ करोड रुपैयाँ गरेको थियो । नयाँ लेखा प्रणाली अनुसार उसको नाफा १ अर्ब ७१ करोड भयो । बैंकले मंगलबार नयाँ लेखा प्रणाली अनुसार सार्वजनिक गरेको वित्तीय विवरणमा  गणना गर्दा गत वर्षको नाफामा ६३ करोड ७३ लाख ३८ हजार वृद्धि भयो ।

नयाँ विधि अनुसार हिसाव गर्दा नाफा ५८.९२ प्रतिशतले वृद्धि भयो । यस्तो उच्चदरको नाफा वृद्धि नयाँ व्यापार गरेर वा व्यापार बढाएर भएको होइन, ‘नयाँ तरिकाबाट गरेको पुरानो हिसाव’ मात्र हो ।

आर्थिक वर्ष २०७४/७५ को नाफामा फेरि ठिक उल्टो विवरण आयो । पुरानो लेखा प्रणाली अनुसार गत वर्ष बैंकको नाफा १ अर्ब ४० करोड ५५ लाख ५७ हजार रुपैयाँ छ । सोही वर्षको नाफा नयाँ लेखा प्रणाली अनुसार १ अर्ब २७ करोड ५ लाख ७६ हजार रुपैयाँ छ । नयाँ लेखा प्रणाली अनुसार बैंकको नाफा १३ करोड ४९ लाख ८१ हजार घटेको छ ।

पुरानो विधि अनुसार असार मसान्तमा बैंकको संचित कोषमा २ अर्ब ७६ करोड रुपैयाँ छ भने नयाँ विधिअनुसार बैंकको संचित कोषमा ४ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ । संचित कोषमा १ अर्ब ८६ करोड रुपैयाँ (६७ प्रतिशतले वृद्धि) थपिएको छ ।

सिटिजन्स बैंकको तथ्याङ्क प्रष्ट रुपमा प्रकाशित भएकोले हामीले फरकपन उल्लेख गरेका हौं र एउटा उदाहरणका रुपमा प्रस्तुत गरेका हौ ।
सिटिजन्स बैंकको जस्तै अरु बैंकहरुको वित्तीय विवरणमा पनि व्यापक फेरबदल आउने जानकारहरु बताउँछन् । धेरै बैंकहरुले २०७५ असार मसान्तको वित्तीय विवरण सार्वजनिक गरेको छैनन् ।

गणितको हिसावमा यति ठूलो अन्तर कसरी आउँछ ? यो मिलेको हिसाव हो कि बिग्रेको हिसाव ? पब्लिक कम्पनीहरुको हिसाब किताव तथ्यपरक र विश्वसनिय हुनुपर्छ कि नाटकीय र परिवर्तन योग्य ?

गणितमा जहिले पनि २ मा २ जोड्दा ४ नै हुन्छ, ५ हुँदैन र तीन पनि हुँदैन । तर बैंकहरुको वित्तीय विवरणमा किन यस्तो भइरहेको छ ? गणितको हिसावमा यति ठूलो अन्तर कसरी आउँछ ? यो मिलेको हिसाव हो कि बिग्रेको हिसाव ? पब्लिक कम्पनीहरुको हिसाब किताव तथ्यपरक र विश्वसनिय हुनुपर्छ कि नाटकीय र परिवर्तन योग्य ?

यहि प्रश्न हामीले नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायण प्रसाद पौडेललाई सोध्यौ । उनले यो प्रश्न निकै जटिल र डकुमेन्ट हेरेर बताउन सकिने खालको भएको बताए ।

नारायण पौडेल

उनका अनुसार पहिलाको लेखा प्रणाली र अहिलेको लेखाप्रणालीमा अद्योपान्त नै फरक छ । सम्पत्तिको मूल्यङ्कन गर्ने विधिमा फरक पर्छ । आय गणना गर्ने विधिमा फरक पर्छ । प्रोभिजन गर्ने विधिमा फरक पर्छ । त्यसले नाफा नै परिवर्तन गर्छ । कम्पनीको नेटवर्थ पनि फरक आउँछ ।

इन्टरनेशनल फाइनान्सियल रिपोटिङ स्ट्याण्डर्ड (आईएफआरएस) का आधारमा नेपाल सरकारले नेपाल फाइनान्सियल रिपोटिङ स्ट्याण्डर्ड (एनएफआरएस) लागू गरेको छ । सोही आधारमा बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो वित्तीय विवरण प्रकाशन गर्न थालेका छन् ।

के फरक पर्छ ?

नाफा र सम्पत्ति मात्र होइन, कर्जा लगानीको अंक पनि फरक परेको छ । पुरानो लेखा प्रणाली अनुसार सिटिजन्स बैंकले २०७५ असार मसान्तसम्ममा ५७ अर्ब ९५ करोड कर्जा सापटी दिएको छ । तर नयाँ लेखा प्रणालीअनुसार सोही बैंकको कर्जा सापटी प्रवाह ५८ अर्ब ५४ करोड रुपैयाँ छ । करिव ६० करोड रुपैयाँ लगानी बढी देखिएको छ ।

नयाँ प्रणाली अनुसार धितो पर्याप्त भएको कर्जामा व्याज असुल ढिला भएको अवस्थामा व्याज रकमलाई कर्जामा जोड्न पाइन्छ । त्यसैले करिव ६० करोड कर्जा लगानी बढी देखिएको बैंक सम्बद्ध स्रोतले बतायो ।

गत वर्षका नाफामा ६३ करोड बढी हुनुमा एक्वाएर गरेको प्रिमियर फाइनान्सको सम्पत्तिको मूल्याङकनले फरक पारेको हो । उक्त ६३ करोड रुपैयाँ सिटिजन्स बैंकको संचित कोषमा जोडिएको छ ।

नयाँ लेखा प्रणालीका आधारमा अधिकांश सूचिकृत कम्पनीहरुको नाफा ह्वातै बढ्ने भएको छ । खासगरी स्थीर सम्पत्ति धेरै भएका पुराना बैंकहरुको नाफामा उच्चदरले वृद्धि आउने छ ।

एनएफआरएस अनुसार कर्जाको धितो पर्याप्त भएमा ऋणीबाट नियमित रुपमा ब्याज भुक्तानी नभए पनि यसलाई कर्जामा गणना गर्न मिल्नेछ । यसले बैंकहरुको कर्जा वृद्धि हुनेछ । त्यस्तै व्याज आम्दानी नियमित नभएको कर्जामा ६ महिनापछि कर्जा नोक्सानी व्यवस्था(प्रोभिजिन) गर्नु नपर्ने भएको छ । नयाँ व्यवस्थाले प्रोभिजनमा धेरै रकम जम्मा गरेका बैंकहरुको नाफामा वृद्धि आउने छ ।

एनआरएफएस अनुसार कर्जाको धितो पर्याप्त छ भने ब्याज भुत्तानी नियमित नभए पनि सबै कर्जा नोक्सानीको व्यवस्था गर्न नपर्ने भएकाले नाफा बढी देखिने कुमारी बैंकका डेपुटी सीईओ राजीव गिरी बताउँछन् । कुनै पनि कर्जाको धितो राम्रो अवस्थामा र पर्याप्त छ भने नियमित रुपमा ऋणीले ब्याज भुक्तानी नगरे पनि कर्जा सम्झौता अनुसारको व्याज रकमलाई आम्दानीमा गणना गर्न पाइने उनको भनाई छ । तर यस्तो रकमलाई कर्जा लगानीमा जोड्नु पर्नेछ ।

ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीका अनुसार एनआरएफएस लागू भएपछि पुराना बैंकहरुको नेटवर्थ बढ्ने छ । स्थीर सम्पत्तिको पुरानो मूल्यका आधारमा सम्पत्तिको मूल्याङ्कन गर्दै आएका बैंकहरुले फ्रेस मूल्यको आधारमा सम्पत्तिको मूल्याङ्कन गर्नुपर्नेछ । यस्तो मूल्याङ्कन विधिले नेपाल बैंक, कृषि विकास बैंक, नागरिक लगानी कोष, राष्ट्रिय बीमा कम्पनी जस्ता स्थीर सम्पत्ति बढी भएका कम्पनीको नेटवर्थ वृद्धि हुनेछ ।