सिटिजन्स बैंकको एफपीओ साउन १५ देखि, २३०० कित्तासम्म आवेदन दिन पाइने

विकासन्युज                              २०७५ श्रावण ८ गते ७:४२

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले साउन १५ गतेदेखि सर्वसाधारणका लागि थप निष्कासन (एफपीओ) ल्याउने भएको छ । बैंकले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १०० रुपैयाँ प्रिमियम थप गरी २०० रुपैयाँमा एफपीओ निष्कासन गर्न लागेको हो । बैंकले निष्कासन गर्न लागेको एफपीओ ४ लाख ६३ हजार ८२६ कित्ता रहेको छ । एफपीओबाट बैंकले ९ करोड २७ लाख ६५ हजार २०० रुपैयाँ संकलन गर्ने छ ।

एफपीओ निष्कासन बन्द छिटोमा साउन १८ गते र ढिलोमा भदौ १४ गतेसम्म हुने निष्कासन तथा बिक्री प्रवन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेडले जनाएको छ । न्युनतम ५० र अधिकतम २ हजार ३०० कित्ता एफपीओ भर्न पाइने छ ।

एफपीओ बाँडफाँडपछि बैंकमा संस्थापकको ५१ र सर्वसाधारणको ४९ प्रतिशत स्वामित्व हुने छ । चुत्तापुँजी बढेर ८ अर्ब ७ करोड ९६ लाख रुपैयाा पुग्ने बैंकले जनाएको छ । संस्थापक र सर्वसाधारणको स्वामित्व ५१ः४९ प्रतिशत मिलाउन एफपीओ निष्कासन गरेको बैंकले जानकारी दिएको छ ।

नेपाल धितोपत्र बोर्डले गत साता स्वीकृत दिएपछि बैंकले एफपीओ निष्कासन गरेको हो । बैंकले गत आर्थिक वर्ष ०७४÷०७५ मा खुदनाफा ३० प्रतिशत वृद्धि गरेको छ । गत आर्थिक वर्षमा बैंकले नाफा बढाएर १ अर्ब ४० करोड ८४ लाख रुपैयाँ पुर्याएको छ । अघिल्लो आर्थिक वर्षमा बैंकको खदनाफा १ अर्ब ८ करोड १६ लाख रुपैयाँ थियो ।