१५ प्रतिशत बोनस सेयरले लगानीकर्ता लोभिएपछि एनएमबी बैंकको एफपीओ सबै बिक्री

विकासन्युज                              २०७५ आषाढ़ २८ गते ६:४८

काठमाडौं । एनएमबी बैंकले १५ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको भोलिपल्ट थप निष्कासन (एफपीओ) पुरै बिक्री भएको छ । एफपीओ बन्द हुने अन्तिम दिन आज बिहीबारसम्म ७० हजार ७०० आवेदकबाट ३ अर्ब ९१ करोड ६१ लाख रुपैयाँ बराबरको आवेदन परेको छ ।

केही अस्विकृत हुने भएकाले तथ्याँक घट्न सक्ने निष्कासन तथा बिक्री प्रवन्धक नागरिक लगानी कोषका सेयर शाखा प्रमुख रोशनजंग कार्कीले बताए । उनले माग भन्दा बढी आवेदन परेको जानकारी दिए । बैंकले अझै तथ्याँक अद्याविधिक गरिरहेकाले अझै बढने संभावना रहेको उनले सुनाए ।

बैंकले चुत्तापुँजी बढाउन प्रतिकित्ता ३३३ रुपैयाँमा १ करोड १४ लाख १५ हजार १६३ कित्ता एफपीओ निष्कासन गरेको हो । एफपीओ बिक्रीबाट बैंकले ३ अर्ब ८० करोड १२ लाख रुपैयाँ संकलन गर्नेछ । बुधबारसम्म ७७ हजार आवेदकबाट २ अर्ब ७७ करोड रुपैयाँ बरारबको एफपीओका लागि आवेदन परेको थियो ।

बैंकले एफपीओमा लगानी गर्नेलाई पनि १५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेपछि यसको असर एफपीओमा परेको हो । बैंकको मंगलबार बसेको ३५९ औं सञ्चालक समिति बैठकले एफपीओ बाँडफाँडपछि चुत्तापुँजी अर्थात ७ अर्ब ६० करोड ३२ लाख ९० हजार रुपैयाँ पुग्ने र सोको १५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । नेपाल राष्ट्र बैंक र वार्षिक साधारणसभाबाट पारित भएपछि बोनस सेयर दिने बैंकले स्पष्टपारेको छ ।

एफपीओ बिक्री नहुने अवस्था आएपछि नागरिक लगानी कोषले भोली शुक्रबारदेखि सोमबारसम्मका लागि संस्थापक सञ्चालक तथा तिनका परिवारका लागि खुला गरिने कोषले जानकारी दिएको थियो । एफपीओका लगानीकर्ताले समेत बोनस सेयर पाउने भएपछि बैंकको चुत्तापुँजी बढेर ८ अर्ब ७४ करोड ३७ लाख रुपैयाँ पुग्ने छ ।