एनएमबी बैंकको एफपीओमा साढे २ अर्ब रुपैयाँको आवेदन

विकासन्युज                              २०७५ आषाढ़ १३ गते ५:२९

काठमाडौं । संस्थागत र सर्वसाधारणको गरी एनएमबी बैंकको एफपीओमा साढे २ अर्ब रुपैयाँ बराबरको आवेदन परेको छ । बुधबारसम्म ६१ हजार ४५० आवेदकबाट २ अर्ब ४५ करोड ५० लाख रुपैयाँको एफपीओ खरिदका लागि आवेदन परेको हो । बैंकले प्रतिकित्ता ३३३ रुपैयाँमा १ करोड १४ लाख १५ हजार १६३ कित्ता एफपीओ निष्कासन गरेको हो ।

एफपीओ बिक्रीबाट बैंकले ३ अर्ब ८० करोड १२ लाख रुपैयाँ संकलन गर्नेछ । असार २८ गतेसम्म पनि एफपीओ बिक्री नभए संस्थापक लगानीकर्ता अवसर पाउने र त्यसपछि पनि बिक्री नभए अण्डरराइटले सकार्ने छन् ।

बैंकले चुक्तापुँजी बढाउन १०० रुपैयाँ अंकित मूल्यमा २३३ रुपैयाँ प्रिमियम थप गरी ३३३ रुपैयाँमा एफपीओ निष्कासन गरेको हो । एफपीओ निष्कासनपछि बैंकको चुक्तापुँजी बढेर ७ अर्ब ६० करोड ३२ लाख रुपैयाँ पुग्ने जानकारी दिएको छ ।