लगानीकर्ताले एनएमबी बैंकको एफपीओलाई पत्याएनन्, पहिलो दिन २१ करोडको मात्र आवेदन

विकासन्युज                              २०७५ ज्येष्ठ ३१ गते ९:५१

काठमाडौं । एनएमबी बैंकको थप निष्कासन (एफपीओ) खुलेको दिन बुधबार २१ करोड रुपैयाँको मात्र आवेदन परेको छ । ७ हजार ४०० आवेदकबाट ६ लाख ३० हजार ६३६ कित्ताका लागि मात्र आवेदन परेको हो । न्युनतम १० देखि ५७ हजार ७० कित्तालाई आवेदन परेको बिक्री प्रवन्धक नागरिक लगानी कोषका सेयर शाखा प्रमुख रोशनजंग कार्कीले बताए । केही लगानीकर्ताले सो बराबरको आवेदन दिएको उनले जानकारी दिए ।

सेयर बजार निरन्तर ओरालो लागिरहँदा एफपीओ निष्कासन भएकाले सबै बिक्री नहुने संभावना देखिएको छ । बिहीबार एनएमबीको सेयर मूल्य प्रतिकित्ता ३७० रुपैयाँमा करोबार भएको थियो । एफपीओ र कारोबार मूल्यबीचको अन्तर ६७ रुपैयाँ मात्र छ ।

यसअघि एफपीओ निष्कासन गर्दा पहिलो दिन अत्याधिक आवेदन पर्ने र निर्धारित समयमा बन्द हुने गरेकोमा अब अन्तिम दिनसम्म पनि एफपीओ बिक्री नभएर प्रत्याभूतिकर्ता (अण्डरराइटर) ले सर्कार्नु पर्ने अवस्था आउने देखिएको छ ।

लगानीकर्ताहरुले बजार घटिरहेका बेला एफपीओको मूल्य धेरै भएको सामाजिक सञ्जालमा प्रतिक्रिया दिएका छन् ।
उच्च ब्याजदर, घट्दो सेयर बजार, तरलताको अभावकाबीच आवेदन खुलेको एफपीओमा संगठित संस्थाहरुले पनि आवेदन दिन सक्नेछन् । एफपीओ बिक्री नभएमा आवेदन खुलेको चार दिन पछि अर्थात असार ३ गतेदेखि संगठित संस्थाहरुका लागि पनि आवेदन खोलिएको छ ।

बिहीबारदेखि निष्कासन भएको एफपीओ ४ कार्य दिनभित्र पनि बिक्री हुन नसक्ने अवस्था आएमा संगठित संस्थाले पनि आवेदन दिने पाउने व्यवस्था गरिएको बिक्री प्रवन्धक नागरिक लगानी कोषले जनाएको छ । संगठित संस्थाले पनि नकिने आधा दजर्न मर्चेन्ट बैंकरले सकार्ने छन् ।

असार ३ गतेसम्म बिक्री नभए संगठित संस्थाले किन्न पाउने कोषले बताएको छ । एफपीओ ढिलोमा असार २८ गते निष्कासन बन्द हुने कोषले जानकारी दिएको छ । बैंकले चुक्तापुँजी बढाउन १ सय रुपैयाँ अंकित मूल्यमा २३३ रुपैयाँ प्रिमियम थप गरी ३३३ रुपैयाँमा एफपीओ निष्कासन गर्न लागेको हो । सर्वसाधारणले न्युनतम १० र अधिकतम ५७ हजार ७० कित्ता एफपीओ खरिदका लागि आवेदन दिन सक्ने छन् ।

बैंकले प्रिमियम मूल्यमा १ करोड १४ लाख १५ हजार १६३ कित्ता एफपीओ निष्कासन गर्नेछ । एफपीओ बिक्रीबाट बैंकले ३ अर्ब ८० करोड १२ लाख रुपैयाँ संकलन गर्नेछ । एफपीओ निष्कासनपछि बैंकको चुक्तापुँजी बढेर ७ अर्ब ६० करोड ३२ लाख रुपैयाँ पुग्ने जानकारी दिएको छ । बाँकी रहेको रकम जगेडा कोषमा जम्मा हुने छ । बैंकले सो रकम पछि लगानीकर्तालाई लाभांश वितरण गर्न सक्नेछ ।

बैंकले इक्रा नेपाल लिमिटेडबाट आईपीओको ग्रेडी थ्री प्रमाणपत्र दिएको छ । बैंकको एफपीओमा ६ संस्थाले प्रत्याभूति (अण्डरराइटिङ) गर्ने भएका छन् । लगानी कोषका अतिरित्त ग्लोबल आईएमई क्यापिटल लिमिटेड, एनआईबीएल एस क्यापिटल लिमिटेड, नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड, प्रभु क्यापिटल लिमिटेड र आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड रहेका छन् ।