अब कार्डबाटै अनलाइन सामान खरिद गर्न सकिने, सटिजन्स बैंकले ल्यायो नयाँ प्रविधि

विकासन्युज                              २०७५ ज्येष्ठ २० गते ४:५२

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ‘भिषा थ्रिडी सेक्योर’ प्रविधि सञ्चालनमा ल्याएको छ । उक्त प्रविधि मार्फत ग्राहकहरुले इन्टरनेटमा कार्डबाट वस्तु तथा सेवा खरिद गर्न सक्नेछन् ।

भिषा कार्ड इन्टरनेसनलको “भेरिफाइड बाई भिषा”मा आधारित यो प्रविधि अनलाइन कार्ड कारोबारको लागि अतिरिक्ति सुरक्षा तहको रुपमा रहने बैंकले जनाएको छ । यो सेवा लिने ग्राहकहरुले प्रत्येक कारोबार गर्दा इमेल तथा मोबाइलमा छुट्टै पिन नम्बर प्राप्त गर्न सक्नेछन्, जसले गर्दा अनलाइन कार्ड कारोबार अझै सुरक्षित हुनेछ ।

बैंकमा डलर खाता भएका ग्राहकहरुले विश्वका कुनै पनि स्थानमा र नेपाली रुपैयाँ खाता भएका ग्राहकहरूले नेपाल र भारतमा डेविट एवं क्रडिट कार्ड मार्फत न्यूनतम वार्षिक शुल्कमा अनलाइनमा वस्तु तथा सेवा खरिद गर्न सक्नेछन् ।

यस प्रबिधिबाट गरिएको अनलाइन कार्ड कारोबारमा जालझेली एवं नक्कली कारोबारको जोखिम कम हुने हुँदा अझै सुरक्षित, भरपर्दो र विश्वसनीय हुने बैंककाे अपेक्षा रहेकाे छ ।