एनएमबी बैंकले ३३३ रुपैयाँमा एफपीओ ल्याउने

विकासन्युज                              २०७५ ज्येष्ठ १५ गते ११:१५

काठमाडौं । एनएमबी बैंकले प्रतिकित्ता ३३३ रुपैयाँमा थप निष्कासन (एफपीओ) ल्याउने भएको छ ।  बैंकले प्रतिकित्ता ३३३ रुपैयाँमा एफपीओ निष्कासन गर्नका लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

बैंकले चुक्तापुँजी बढाएर ८ अर्ब रुपैयाँ पुर्याउन १ करोड १४ लाख १५ हजार १६३ कित्ता एफपीओ निष्कासन गर्न लागेको हो । बैंकले अंकित मूल्य १०० मा २३३ रुपैयाँ प्रिमियम थप गरेर एफपीओ निष्कासनको प्रस्ताव गरेको छ ।

यो मूल्यमा एफपीओ ल्याउदा ३ अर्ब ८० करोड १२ लाख रुपैयाँ प्राप्त हुनेछ । निष्कासन तथा बिक्री प्रवन्धक नागरिक लगानी कोष रहेको छ । ७ वटा मर्चेन्ट बैंकरले एफपीओको प्रत्याभूति (अण्डरराइटिङ) गर्ने भएका छन् ।

नागरिक लगानी कोषले प्रस्तावित प्रतिकित्ता ४२५ रुपैयाँमा एफपीओ नकिन्ने भएपछि बैंकले एफपीओको मूल्य घटाएको हो । लगानी कोष सञ्चालक समितिले प्रतिकित्ता ४२५ रुपैयाँमा प्रत्याभूति (अण्डरराइटिङ) गर्ने प्रस्ताव अस्वीकृत गरेका थियो ।

चुक्तापूँजी न्युनतम् ८ अर्ब रुपैयाँ पुर्याउन बैंकले गत वर्षको जेठ २२ गते प्रिमियम मूल्यमा एफपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिएको थियो । एफपीओका लागि बैंक बोर्डमा गएको १ वर्ष पुगेको छ । एनएमबीको पुँजी ६ अर्ब ४६ करोड १७ लाख रुपैयाँ छ ।

एफपीओ निष्कासनपछि १ अर्ब ५४ करोड रुपैयाँ पुँजीमा र बाँकी जगेडा कोषमा राखेर लगानीकर्तालाई बोनस सेयर वितरण हुने छ । बैंकको जगेडा कोष ५ अर्ब रुपैयाँ भन्दा बढी छ ।

आउदो असारसम्म बैंकले न्युतम चुक्तापुँजी पुर्याउनु पर्ने छ । न्युनतम चुक्तापुँजी नपुगे निक्षेप संकलन, कर्जा लगानी, लाभांश वितरणमा प्रतिवन्ध लगाउने निर्देशन केन्द्रीय बैंकले जारी गरिसकेको छ ।

८ अर्ब रुपैयाँ पुँजी नपुर्याउन वाणिज्य बैंकलाई केन्द्रीय बैंकले निगरानीमा राखेको छ । चुक्तापुँजी ८ अर्ब रुपैयाँ नपुर्यापछि केन्द्रीय बैंकले एनएमबीको साधारणसभा रोकेको छ ।