एफपीओ आउने भएपछि एनएमबीको सबैभन्दा बढी कारोबार, सेयर मूल्य घट्याे

विकासन्युज                              २०७५ ज्येष्ठ १५ गते ३:२५

काठमाडौं । थप निष्काशन(एफपीओ) आउने भएपछि एनएमबी बैंकको सबैभन्दा बढी सेयर कारोबार भएको छ । बैंकले प्रतिकित्ता ३३३ रुपैयाँमा एफपीओ ल्याउने भएपछि लगानीकर्ताहरुकाे आकर्षण बढेको हो ।

बैंकले अंकित मूल्य १०० मा २३३ रुपैयाँ प्रिमियम थप गरेर एफपीओ निष्कासन गर्न लागेकाे हाे । मंगलबार बैंकको ३ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ ।

बैंकको कारोबार रकममा वृद्धि भएपनि सेयर मूल्यमा भने गिरावट आएको छ । सोमबार प्रतिकित्ता ४४४ रुपैयाँ रहको बैंकको सेयर मूल्य मंगलबार घटेर प्रतिकित्ता ४१९ रुपैयाँमा झरेको छ । जुन रकम अघिल्लो दिनको तुलनामा २५ रुपैयाँ घटी हो । बैंकले प्रतिकित्ता ३३३ रुपैयाँमा एफपीओ निष्कासन गर्ने भएपछि कम्पनीको सेयर मूल्यमा गिरावट आएको हो ।

समग्रमा मंगलबारको नेप्से परिसूचक ९.१८ अंकले घटेर १३२७ अंकमा झरेको छ । सो दिन कुल १६७ कम्पनीको ८ लाख ४० हजार कित्ता सेयर ४१ करोड ७४ लाख रुपैयाँमा किनबेच भएको छ ।

बजारमा बीमा समूहबाहेक बाँकी समूहको परिसूचक राताम्मे भएका छन् । सबैभन्दा बढी होटल समूह ३३ अंकले घटेको छ । बीमा समूह भने सामान्य ५ अंकले उकालो लागेको छ ।