युक्रेनको राजधानी किभमा रुसी आक्रमण, कम्तीमा ११ जनाको मृत्यु
काठमाडौं । युक्रेनको राजधानी किभमा एक साताभित्र भएको दोस्रो ठूलो रूसी आक्रमणमा कम्तीमा ११ जनाको मृत्यु भएको छ । सहरका शीर्ष सैन्य प्रशासक तिमुर तकाचेन्कोका अनुसार आक्रमणमा ४६ जना घाइते भएका छन् जसमा पाँच बालबालिका पनि छन् । यसैबीच, किभ क्षेत्रका अन्य स्थानहरूमा पनि तीन जनाको मृत्यु भएको छ । आपत्कालीन सेवाका अधिकारीहरूका अनुसार २० भन्दा बढी स्थानमा उद्धार अभियान जारी छ । अधिकारीहरूले जनाएअनुसार सहरका दुई जिल्लामा रहेका अग्ला आवासीय भवनहरू पनि आक्रमणको निशानामा परेका छन् । यी आक्रमणहरू टर्कीमा हुने नेटो शिखर सम्मेलनको ठीक एक दिनअघि भएका हुन्, जहाँ युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भेटवार्ता हुने अपेक्षा गरिएको छ । नयाँ आक्रमण हुनुभन्दा केही घण्टाअघि मात्रै जेलेन्स्कीले रूसले किभमा अर्को ूठूलो आक्रमणू गर्ने तयारी गरिरहेको चेतावनी दिएका थिए । गत बिहीबार भएको रूसी आक्रमणमा ३० जनाको मृत्यु भएको थियो । लगातार विस्फोटका तीव्र आवाजबीच किभवासीहरूले फेरि एक भयावह रात बिताए । आक्रमणका क्रममा ठूलो संख्यामा सर्वसाधारणले आफ्नो सुरक्षाका लागि भूमिगत आश्रयस्थलहरूमा शरण लिएका थिए ।
ट्रम्पद्वारा इटालीकी प्रधानमन्त्री मेलोनीमाथि सामाजिक सञ्जालमार्फत टिप्पणी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीसँग सम्बन्धित एक तस्बिर पोस्ट गर्दै उनीप्रति व्यङ्ग्यात्मक टिप्पणी गरेका छन् । ट्रम्पले आफ्नो ट्रुथ सोसलमा मेलोनीलाई माथितिर हेरिरहेको देखिने एक मीम सार्वजनिक गर्दै ‘निषेध आदेश आवश्यक छ’ भन्ने क्याप्सन लेखेका छन् । गत महिना फ्रान्समा भएको जी–७ शिखर सम्मेलनका क्रममा मेलोनीले बारम्बार ट्रम्पसँग तस्बिर खिच्ने प्रयास गरेको र संयुक्त राज्य अमेरिकाप्रतिको उनको अडानका कारण घरेलु राजनीतिक असर परेको ट्रम्पले दाबी गरेका थिए । एक इटालियन टेलिभिजनसँगको अन्तर्वार्तामा ट्रम्पले मेलोनीले आफूलाई धेरै तस्बिरका लागि अनुरोध गरेको दाबीसमेत गरेका थिए । यता इटालीकी प्रधानमन्त्री मेलोनीले ती दाबीलाई ‘पूर्ण रूपमा बनावटी’ भन्दै अस्वीकार गरेका छन् । उनले इटालीले कहिल्यै कुनै पनि देशसँग ‘भिख माग्ने’ नीति नलिने स्पष्ट पार्दै ट्रम्पको भनाइप्रति आश्चर्य व्यक्त गरेका छन् । यस घटनाले दुवै नेताबीच सार्वजनिक रूपमा देखिँदै आएको मतभेदलाई पुनः सतहमा ल्याएको छ ।
प्रशान्त महासागरमा चीनको क्षेप्यास्त्र परीक्षण, जापानसहितका देशले जनाए असन्तुष्टि
काठमाडौं । चीनले सोमबार प्रशान्त महासागरमा रणनीतिक आणविक पनडुब्बीबाट क्षेप्यास्त्र परीक्षण गरेको पुष्टि गरेको छ । परीक्षणअघि नै क्षेत्रका केही राष्ट्रलाई जानकारी गराइएको भए पनि यस कदमले जापानसहितका देशहरूको चिन्ता बढाएको छ र दक्षिण प्रशान्त क्षेत्रमा चीनको बढ्दो सैन्य उपस्थितिमाथि नयाँ बहस सुरु भएको छ । चिनियाँ नौसेनाका प्रवक्ता वाङ सुएमेङका अनुसार स्थानीय समयअनुसार दिउँसो १२ः०१ बजे पिपुल्स लिबरेसन आर्मी नेभीको रणनीतिक आणविक पनडुब्बीबाट प्रशिक्षण प्रयोजनका लागि सिमुलेटेड वारहेड बोकेको रणनीतिक क्षेप्यास्त्र प्रक्षेपण गरिएको थियो । क्षेप्यास्त्र तोकिएको समुद्री क्षेत्रमा सफलतापूर्वक खसेको उनले बताए । यो चीनको वार्षिक सैन्य प्रशिक्षण कार्यक्रमअन्तर्गतको नियमित अभ्यास भएको र सम्बन्धित राष्ट्रहरूलाई पूर्वसूचना दिइएको पनि उनको भनाइ छ । प्रक्षेपण भएको दिन नै चीन र रुसले पूर्वी चीनको प्रमुख नौसैनिक बन्दरगाह छिङदाओबाट संयुक्त वार्षिक नौसैनिक अभ्यास पनि सुरु गरेका छन् । यद्यपि उक्त क्षेप्यास्त्र परीक्षण संयुक्त अभ्यासकै हिस्सा थियो वा थिएन भन्नेबारे बेइजिङले स्पष्ट पारेको छैन । जापानले भने परीक्षणको निन्दा गर्दै चीनलाई यस्तो कदम पुनर्विचार गर्न आग्रह गरेको जनाएको छ । पपुवा न्यू गिनीका विदेशमन्त्री जस्टिन टाकाचेन्कोले आफूलाई चिनियाँ राजदूतमार्फत परीक्षणबारे अग्रिम जानकारी दिइएको पुष्टि गरेका छन् न्युजिल्यान्ड सरकारको एक स्रोतले पनि चीनले सम्भावित अन्तरमहाद्वीपीय ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षणबारे जानकारी गराएको बताएको छ, यद्यपि क्षेप्यास्त्र खस्ने स्थान खुलाइएको थिएन । बेइजिङले पछिल्ला वर्षहरूमा आणविक हतियार र सैन्य क्षमता तीव्र रूपमा विस्तार गर्दै आएको छ । अमेरिकी रक्षा मन्त्रालयका अनुसार सन् २०२३ सम्म चीनसँग ५०० भन्दा बढी आणविक हतियार थिए भने सन् २०३० सम्म त्यो सङ्ख्या एक हजारभन्दा बढी पुग्न सक्ने अनुमान गरिएको छ । यसअघि सेप्टेम्बर २०२४ मा चीनको रकेट फोर्सले फ्रेन्च पोलिनेसिया नजिक अन्तर्राष्ट्रिय जलक्षेत्रमा डमी वारहेडसहित लामो दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेको थियो । यो चार दशकभन्दा बढी अवधिपछि गरिएको पहिलो यस्ता प्रकारको परीक्षण थियो । विश्लेषकहरूले त्यसबेला थर्मोन्युक्लियर वारहेड बोक्न सक्ने डोङ फेङ–३१ क्षेप्यास्त्र प्रयोग गरिएको अनुमान गरेका थिए । गत महिना सार्वजनिक भएको न्युजिल्यान्डको रक्षा बलको आन्तरिक दस्तावेजले पनि प्रशान्त क्षेत्रमा चीनको नौसैनिक गतिविधि र ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण अब नियमित बन्दै जाने चेतावनी दिएको थियो । दोस्रो विश्वयुद्धपछि यही क्षेत्रमा भएका आणविक परीक्षणले प्रशान्त टापु राष्ट्रहरूमा गहिरो असर छोडेकाले चीनको बढ्दो सैन्य गतिविधिलाई उनीहरूले विशेष चासोका साथ हेरिरहेका छन् । यद्यपि चीनले अस्पताल, सडक र खेलकुद पूर्वाधारजस्ता विकास परियोजनामार्फत पनि प्रशान्त टापु राष्ट्रहरूसँग आफ्नो प्रभाव विस्तार गर्ने प्रयासलाई निरन्तरता दिइरहेको छ ।