अमेरिकाबाट अध्यक्षको राजीनामा, पार्टी र सञ्चालकमाथि संघीन आरोप

काठमाडौं । राष्ट्रिय सहकारी महासंघ लिमिटेडकी अध्यक्ष ओमदेवी मल्लले पदबाट राजीनामा दिएकी छन् । उनले महासंघको ३४औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै पदबाट राजीनामा दिएको जानकारी दिएकी हुन्। उनले आफू अस्वस्थ रहेको र विगत ६ महिनादेखि अमेरिकामा रहेको उल्लेख गर्दै यो बीचमा नेपाल फर्किने सोच भए पनि स्वास्थ्य र सञ्चालक समितिले पनि साथ नदिएपछि राजीनामा दिन बाध्य भएको उनको भनाइ छ ।  मल्लले महासंघकै सञ्चालकहरूले काम गर्न साथ नदिएको, हरेक निर्णयहरू पार्टीकै हितमा गर्नुपर्ने र स्वतन्त्र ढंगले काम गर्ने वातावरण नबनेपछि राजीनामा दिएको उल्लेख गरेकी छन् ।  राजीनामामा पत्रमा उनले भनेकी छन् ‘अध्यक्ष भएदेखि नै मलाई आन्तरिक तथा बाह्य रूपमा सहयोग प्राप्त भएन । राजनीतिक रुपमा एकलौटी सञ्चालक समितिको चयन भएपनि महासंघका हरेक बैठक पूर्व अनिवार्य रूपमा पार्टीको विभागीय प्रमुखसँग सल्लाह लिनु पर्ने, निर्णयहरू पार्टी हित अनुकूल हुनुपर्ने जस्ता दबाबको कारण मैले स्वस्फूर्त रूपमा योजनाअनुसार काम गर्न सकिनँ । महाप्रबन्धक नियुक्तिदेखि अन्य कार्यालयका महत्त्वपूर्ण काममा पनि अध्यक्षलाई स्वतन्त्र हिसावले काम गर्ने वातावरण बनेन । पार्टीको सहकारी विभागबाट भएको हस्तक्षेपले मानसिक रुपमा पनि निकै तनावमा भएँ । महासंघभित्र सबै राजनीतिक आस्था भएका सहकारीकर्मीहरुलाई मिलाएर लैजानुपर्छ भन्ने उद्देश्य राखेर अथक प्रयास गरें । तर, एउटै पार्टीका साथीहरू रहेको बोर्डमा रहे पनि असहयोगको अवस्था पनि भयो । आफ्नै साथीहरूको अपमान र हस्तक्षेपले गर्दा मानसिक रुपमा म कमजोर भएको थिएँ ।’ यस्तो छ उनको राजीनामा पत्र  उपरोक्त विषयमा नेपालको सहकारी अभियानको शिर्षस्थ निकाय राष्ट्रिय सहकारी महासंघ लि. नेपालको ३१ औं वार्षिक साधारणसभावाट सर्वसम्मत रुपमा अध्यक्ष पदमा निर्वाचित भएको २ वर्ष काम गर्दै गरेको समयमा अचानक बिरामी भएर स्वास्थ्य उपचार र पारिवारीक भेटघाटका लागि विगत ६ महिनादेखि म संयुक्त राज्य अमेरिकामा छु । गत पुसमा सम्पन्न ३३ औं वार्षिक साधारणसभा भन्दा अगावै स्वदेश फर्कने योजनाका साथ आएको थिए तर स्वास्थ्यमा थप सुधार नभएका कारण साधारणसभामा उपस्थित हुन नसकेर शुभकामना सन्देश पठाएको कुरा साथीहरुलाई अवगत नै छ । अध्यक्षका रुपमा मेरो भूमिकाको सहकारी अभियानले मूल्यांकन गर्ने नै छ । कार्यकालको छोटो अवधिमा पनि मेरो अगुवाईमा हाम्रो टिमले केही सकारात्मक प्रयासको थालनी गरेका हौ भने मलाई लाग्दछ । मन्त्रालयमा रोकिएको बजेटलाई निरन्तरता दिने, सरकारसँग मिलेर सातै प्रदेशमा गोष्ठी गर्ने, सहकारी राष्ट्रिय गित निकाल्ने, अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ मनाउने, सरकारसंग सहकारी नीति सम्बन्धी सम्बाद, कोअपरेटिभ डिजिटल कन्क्लेभ, सहकारी रोजगार मेलालगायतका धेरै कामहरु भएका थिए ।  ती काम प्रयाप्त थिए म भन्दिनँ, तर कामको शुरुवात भएकै थियो । मेरो कार्यकालको छोटो अवधीमा भोगेका आरोह अवरोह सबै सहकारीकर्मीलाई जानकारी होस् र महासंघमा सुधारका लागि पनि कोशेढुंगा बनोस् भनेर केही अनुभवहरु यहाँहरु समक्ष साझा गर्न चाहान्छु । अध्यक्ष भएदेखि नै मलाई आन्तरिक तथा बाह्य रुपमा पूर्ण सहयोग प्राप्त भएन । राजनीतिक रुपमा एकलौटी सञ्चालक समितिको चयन भएपनि महासंघका हरेक वैठक पूर्व अनिवार्य रुपमा पार्टीको विभागिय प्रमुखसँग सल्लाह लिनु पर्ने, निर्णयहरु पार्टी हित अनुकुल हुनुपर्ने जस्ता दवावको कारण मैले स्वस्फूर्त रुपमा योजना अनुसार काम गर्न सकिन । महाप्रवन्धक नियुक्ती देखि अन्य कार्यालयका महत्वपूर्ण काममा पनि अध्यक्षलाई स्वतन्त्र हिसावले काम गर्ने वातावरण बनेन् । यद्यपी टिमका केही साथीहरुको साथ सहयोग र कर्मचारीहरुको सकारात्मक कार्यशैलीका कारण केही महत्वपूर्ण कामहरु पनि भएका छन् ।  पार्टीको सहकारी विभागबाट भएको हस्तक्षेपले मानसिक रुपमा पनि निकै तनावमा भएँ । महासंघभित्र सबै राजनीतिक आस्था भएका सहकारीकर्मीहरुलाई मिलाएर लैजानुपर्छ भन्ने उद्देश्य राखेर अथक प्रयास गरें तर एउटै पार्टीका साथीहरु रहेको बोर्डमा रहेपनि असहयोगको अवस्था पनि भयो । आफ्नै साथीहरुको अपमान र हस्तक्षेपले गर्दा मानसिक रुपमा म कमजोर भएको थिएँ । गत भदौमा परिवार अमेरिका जाने भनेपछि केही समयका लागि परिवारसँगै विदेशमा रहदा उपचारसँगै तनाव पनि कम हुन्छ भन्ने परिवारको सल्लाह अनुसार अमेरिका आएको हुँ।  यहाँ आएपछि केही परिवर्तन हुन्छ कि ? भन्ने लागेको थियो तर पार्टी नेतृत्वको दवावले नै होला महासंघका साथीहरुले पटक पटक राजिनामा पठाउन दवाव दिनुभयो । राजिनामा नदिए, अविश्वासको प्रस्ताव साधारणसभामा लगेर हटाउने धम्की पनि साथीहरुले दिनुभयो । मैले साधारणसभामा शुभकामना सन्देश पठाए । त्यसपछि पनि धेरै दवाव दिएको कारण म राजिनामा दिने निष्कर्षमा पुगे । काम गर्ने चाहना भएरै दुइ दशक भन्दा बढी समय सहकारी अभियानमा लागे, त्यो पनि महासंघको सञ्चालक, उपाध्यक्ष, वरिष्ठ उपाध्यक्ष हुदै अध्यक्ष भएकी थिए, तल हुँदा सबैलाई साथ दिएकी थिए, सहयोग गरेकी थिए, तर म अध्यक्ष भएपछि मैले सहयोग गरेकाहरुबाट साथ पाइन, उल्टो असहयोग हुने अवस्था सिर्जना भयो ।  राजनीति कति निष्ठुर हुँदो रैछ भन्ने पनि म सहकारी महासंघको अध्यक्ष भएपछि थाहा पाएँ । स्वार्थ मिलेन भने नेताहरु कति कुर हुदा रहेछन त्यो पनि बुझ्न पाए ।  थाहा छैन, महिलाले काम गर्न सक्दैनन् भन्ने लाग्यो कि ? पार्टीमा मैले गुट गर्न सकिन कि ?  उहाँहरुको नजरमा गुट मिलेन कि ? वा पार्टीको सहकारी विभाग र विभागका साथीहरुको कही कतै चित्त दुखाए कि ? म आफैलाई के भयो भन्ने जानकारी छैन, कहाँनिर म चुके भन्ने पनि पत्तो छैन, छ त केबल सहकारीमा कुनै योगदान नभएका मान्छेको आदेश, निर्देशन अनि अनाहकको तनाव। यो सबै कुरालाई मनन गरी आज सारै विक्षिप्त भएर राष्ट्रिय सहकारी महासंघ लि. नेपालको अध्यक्ष पदबाट राजिनामा पठाएकी छु ।  मैले वरिष्ठ उपाध्यक्षलाई कार्यवाहक दिएको ६ महिना पुग्दैछ, त्यो भन्दा पहिला पठाएको यो राजिनामा प्रक्रियागत रुपमा स्वीकृत गरी नयाँ नेतृत्व चयन गर्न सहज होस् भन्ने अनुरोध राष्ट्रिय सहकारी महासंघ लि. नेपाल, यसका सम्पूर्ण शेयर सदस्य संघ संस्थाहरुका प्रतिनिधिहरु, सम्पूर्ण सहकारीकर्मी साथीहरु, नियमनकारी निकाय लगायत सबैमा अनुरोध गर्न चाहन्छु ।  सहकारीमा पछिल्लो समयमा समस्या आए, समस्या नभएको कुनै क्षेत्र छैन, समस्या हुनु, समस्या आउने विषय जहाँ, जहिले र जतिबेला पनि हुन्छ, सहकारीमा आएका समस्या समाधानका लागि हामी सबैको पहलकदमी पुगेन भन्ने महसुस भएको छ, हामीले मात्रै गरेर नहुने अवस्था देखिएपछि पार्टीहरु, सरकार र अन्य सरोकारवालाहरुलाई अनुरोध गर्न लागियो । तर समस्यालाई गुट हेरेर, अरु व्यक्तिको दवाव र प्रभावमा परेर जव कसैलाई सकाउन लागिन्छ भने त्यसले सहकारी अभियानलाई हित गर्दैन, हिजो सहकारी अभियानमा योगदान गर्ने थुप्रै साथीहरु आज समस्यामा हुनुहुन्छ, कतिपयमा संस्थागत समस्या होला, कतिपयमा व्यक्तिगत समस्या होला, कतिपयको नियत नै खराव होला, समस्या हुनुको कारण पहिचान गरेर समाधानमा लाग्नु पर्नेमा सबैलाई एउटै डालोमा राखेर, एउटै कित्तामा कित्ताकाट गराएर समस्या बढाइदिने खालका गतिविधि सहकारीका नाममा राजनीति गर्नेहरुबाट भएका छन्, चुनावमा सहयोग नगरेको नाममा, सल्लाहकार चयन नगरेको नाममा हुने यस्ता खाले गलत प्रवृति रोक्न सकेमा मात्रै सहकारी अभियान थप प्रभावकारी बन्नेछ ।  आगामी दिनमा यस्ता हस्तक्षेपकारी काम नहुन्, नेपालको सहकारी अभियानलाई सबै मिलेर, सबैको सहभागितामा, सबैको सक्रियतामा थप व्यवस्थित गराउन सकियोस्, त्यसका लागि म वाधक हो कि ? भन्ने केही साथीहरुलाइ परेको छ, मेरा कारणले मात्र समस्या आएको हो भने पनि म त्यसका लागि सजाय भोग्न तयार छु, तर म वाधक होइन, बन्दिन भन्ने प्रतिवद्धताका साथ राजिनामा गरेकी छु । ३३ औ साधारणसभाबाट संशोधनसहित पारित विनियम यथासिघ्घ्र सम्बन्धित सहकारी विभाग र निकायबाट स्वीकृत गराई सोही संशोधित पारित विनियम अनुसार आगामी कार्यकालकोलागि राष्ट्रिय सहकारी महासंघको संचालक समितिको निर्वाचन गराई, नयाँ नेतृत्व चयनतर्फ सम्पूर्ण सभाका सदस्यहरु लाग्नुहुनेछ भन्ने विश्वासका साथ निर्वाचित अध्यक्ष पदबाट राजीनामा गर्दछु । आगामी निर्वाचनको प्रकृयाबाट आउने नयाँ संचालक समितिलाई अग्रीम बधाई तथा शुभकामना समेत व्यक्त गर्दछु ।  हिजोका दिनमा काम गर्ने क्रममा म बाट जानेर वा नजानेर सहकारी अभियानको विरुद्धमा कही कतै गलत भएको रहेछ, मेरा कारण कसैको मन दुखेको रहेछ, कही कतै अप्ठेरो परेको रहेछ भने त्यसका लागि म क्षमा प्रार्थी छु । यो पनि थाहा छ, मलाई माया गर्ने, सहकारी क्षेत्रलाई माया गर्ने, सहकारीको प्रवद्र्धनमा योगदान गरेका साथीहरुलाई मेरो यो निर्णयले अवश्य दुखीः बनाएको होला, तर, पनि म वाध्य छु, सबै भन्दा ठुलो स्वास्थ्य रहेछ, तनावले स्वास्थ्यलाई निकै सताउदो रहेछ, पहिला पहिला अन्यत्र तनाव हुँदा बिसाउने चौतारी सहकारी थियो, तर आज मलाई यही सहकारी क्षेत्रबाट यति ठुलो तनाव हुन्छ, जसलाई साथ सहयोग गरे तिनीहरुले नै तनाव दिन्छन्, मेरो स्वास्थ्यमा समस्या नै आउछ भन्ने लागेको मात्रै भए, सायद अर्कै सोचिन्थ्यो होला । सहकारी क्षेत्रमा काम गर्दा मेरो तनाव थिएन, तल बसेर काम गर्दा नभएको तनाव अध्यक्ष भएपछि कताबाट आयो, कुन हुण्डरीले ल्यायो थाहा भएन, दिनै पिच्छे कसैको दवाव झेलेर नेतृत्वमा बसिरहन पर्छ भन्ने पनि छैन भन्ने सोचका साथ महासंघको औपचारिक जिम्मेवारीबाट बिदा भएको छु, यसबाट सहकारी क्षेत्र र आम साथीहरुमा पर्न जाने असुविधाप्रति क्षमा प्रार्थी छु । ओमदेवी मल्ल अध्यक्ष राष्ट्रिय सहकारी महासंघ लिमिटेड  

सहकारीको ऋण नतिर्ने १४२ ऋणीलाई प्रशासनको पाँच दिने अल्टिमेटम

काभ्रेपलाञ्चोक । सहकारीबाट ऋण लिएर नतिर्ने ऋणीलाई जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले लिएको ऋण तत्काल तिर्न अनुरोध गरेको छ । यहाँका दुई सङ्कटग्रस्त सहकारीबाट ऋण लिई नतिर्ने तथा सम्पर्कमा नआउने ऋणीलाई कारबाहीको दायरामा ल्याउने प्रशासनले चेतावनी दिएको हो ।      जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले बनेपा नगरपालिकामा सञ्चालित दुई सहकारीबाट ऋण लिई नतिर्ने ऋणीलाई तत्काल तिर्न सार्वजनिक सूचनामार्फत आग्रह गरेको हो ।      कार्यालयले बनेपा–७ स्थित मुकुल बचत तथा ऋण सहकारी संस्था र बनेपा–१० को पशुपति बचत तथा ऋण सहकारी संस्थाबाट ऋण लिएर नतिर्ने ऋणीलाई सूचनामार्फत तिर्न आग्रह गरिएको कार्यालयका अनुसन्धान अधिकृत एवं प्रहरी निरीक्षक वेदनारायण श्रेष्ठले जानकारी दिए । ती दुई सहकारीबाट ऋण लिएका १४२/१४२ जनाले ऋण लिई ऋण चुक्ता नगरेकाले तत्काल उक्त रकम चुक्ता गर्ने योजनासहित अनिवार्य कार्यालयमा उपस्थित हुन सूचना जारी गरिएको उनले बताए ।      अनुसन्धान अधिकृत श्रेष्ठका अनुसार ती दुवै सहकारीका बचतकर्ताले जम्मा गरेको रकम हिनामिना गरी ठगी गरेकाले उक्त सहकारीका सञ्चालक समितिका पदाधिकारीलाई कारबाही गरी ठगी रकम दिलाई पाउँ भनी कार्यालयमा मुद्दा दाएर भएको छ ।      कार्यालयले तोकेको पाँच दिनको समयसीमाभित्र सम्पर्कमा नआएमा खोजीकार्य गरी कानुन बमोजिम कार्बाही गरिने उनले बताए । बचत रकम फिर्ता नगरेपछि उजुरी परेका सहकारीको छानबिन भइरहेको जनाउँदै अनुसन्धान अधिकृत श्रेष्ठले ती सहकारीका ऋणीलाई क्रमशः ऋण तिर्न अनुरोध गर्दै जाने उल्लेख गरे ।      जिल्लामा सञ्चालित करिब एक दर्जन सहकारीका सञ्चालकले हालसम्म बचतकर्ताको बचत रकम ठगी गरेको भन्दै प्रहरीकोमा उजुरी परेको छ । उजुरीमध्ये सहकारीको रकम अपचलन अभियोग लागेका २६ जना पक्राउ परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अभियोग लागेकामध्ये ६७ जना सहकारी सञ्चालक अझै फरारको सूचीमा रहेका प्रहरीले जनाएको छ ।    

सदस्यबाट बचत नलिने सहकारी

पुणे, भारत । भारतको पुणे जिल्लाको काष्टी, दौंड गाउँमा स्थापित एक सहकारी संस्था अहिले सफल व्यापारिक मोडलका रूपमा स्थापित भएको छ । सन् १९२६ मा स्थापना भएको सहकार महर्षि काष्टी विविध कार्यकारी सेवा सहकारी संस्था लिमिटेडले ९७ वर्षको लामो यात्रा पार गर्दै समुदायको आर्थिक रूपान्तरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ ।  १ हजार ३ सय सदस्य आवद्ध रहेको यो सहकारीले सदस्यबाट बचत संकलन नगरिकनै प्रभावकारी व्यापार र सेवा विस्तार गरेर उदाहरणीय सफलता हासिल गरेको छ । सहकारीले सदस्यलाई बचत अनिवार्य नगरी सेयर खरिदमार्फत सदस्यको सहभागिता बढाइरहेको छ । यस सहकारीमा सदस्यहरूले १०० देखि २० हजार भारतीय रुपैयाँसम्ममा सेयर खरिद गर्न सक्छन् । प्रतिकित्ता सेयर मूल्य ९ सय रुपैयाँ तोकिएको छ, जसमा ८ सय रुपैयाँ जगेडा कोषमा राखिन्छ ।  यो सहकारीको सबैभन्दा उल्लेखनीय पक्ष यसको बहुउद्देश्यीय व्यापारिक संरचना हो । सहकारीले हाल १३ वटा विभाग सञ्चालन गर्दै आएको छ । तीमध्ये मल तथा कृषि सामग्री, कृषि मेसिनरी, उपभोक्ता पसल, साडी विभाग, रेडिमेड कपडा, घरायसी उपकरण, मेडिकल, किटनाशक तथा बीउ वितरण प्रमुख छन् । यसबाहेक सहकारीले स्थानीय उत्पादन र उपभोगलाई प्रोत्साहन गर्न विभिन्न डिपार्टमेन्टल स्टोर सञ्चालन गर्दै आएको छ, जहाँ ५० जना कर्मचारी कार्यरत छन् ।  सहकारीले स्थानीय खाद्य उद्योग कटुवाल फुड्ससँग सहकार्य गरी मिठाई, चिसो पेय र मिनरल वाटरको बिक्री वितरण पनि गर्दै आएको छ । यसले सहकारीलाई अतिरिक्त आम्दानीको स्रोत सिर्जना गरेको छ । सहकारीले आफ्ना सदस्य किसानलाई विशेष गरी उखु उत्पादनका लागि प्रति सिजन ७० हजार भारतीय रुपैयाँसम्म ऋण उपलब्ध गराउँदै आएको छ । यसले किसानको उत्पादन क्षमता र आम्दानी दुवै बढाउन सहयोग पुर्‍याएको छ । वित्तीय रूपमा पनि यो सहकारी निकै सुदृढ देखिएको छ । हाल सहकारीको कुल सेयर पूँजी १ करोड २० लाख रुपैयाँ रहेको छ भने वार्षिक कारोबार ७० करोड रुपैयाँ पुगेको छ । सहकारीले विभिन्न विभागको लेखापरीक्षण अलग–अलग रूपमा गर्ने र अन्तिममा समग्र वित्तीय विवरण तयार गर्ने पारदर्शी प्रणाली अपनाएको छ । सहकारीले सदस्यलाई नियमित रूपमा आकर्षक लाभांश वितरण गर्दै आएको संस्थाका अध्यक्ष राकेश पाचपुटेले बताए । उनका अनुसार सहकारीले हालसम्म अधिकतम वार्षिक ५० प्रतिशतसम्म लाभांश वितरण गरेको छ भने गत आर्थिक वर्षमा ११ प्रतिशत लाभांश वितरण गरिएको थियो । यस सहकारीले उत्कृष्ट कार्यसम्पादनका लागि राष्ट्रिय तथा क्षेत्रीय स्तरमा सम्मान पनि प्राप्त गरेको उनले जानकारी दिए ।  विशेष गरी भारतीय सरकारी संस्था राष्ट्रिय सहकारी विकास निगमले  सन् २००७ र २०१० मा ‘उत्कृष्ट सहकारी’ अवार्ड यस सहकारीलाई प्रदान गरेको जानकारी अध्यक्ष बाजपुटेले जानकारी दिए ।  सहकारीका अध्यक्ष बाजपुटेका अनुसार सहकारीले काष्टी गाउँको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको छ । ‘हामीले व्यक्तिगत स्वार्थभन्दा समुदाय र सदस्यको हितलाई प्राथमिकता दिएका छौं । यसले गाउँमा वित्तीय साक्षरता बढाएको छ र किसानलाई आत्मनिर्भर बनाएको छ,’ उनले भने ।  उनका अनुसार सहकारीको सञ्चालक समितिले पूर्ण रूपमा स्वयंसेवीको रूपमा काम गर्दै आएको छ, जसले प्रशासनिक खर्च कम गरी नाफा सदस्यमै वितरण गर्न सम्भव भएको छ । भारतमा सहकारीहरू व्यापारिक रूपमा पनि सफल हुन सक्ने उदाहरणका रूपमा यो सहकारीलाई लिइन्छ । पारदर्शी व्यवस्थापन, समुदायमा आधारित व्यापार र सदस्य केन्द्रित सेवा यसको सफलताका प्रमुख आधार भएको उनले बताए ।  नेपालमा पनि केही सहकारीहरूले व्यापारिक क्षेत्रमा प्रवेश गरेका थिए । शिवशिखर सहकारीले देशका विभिन्न स्थानमा मार्ट सेवा सञ्चालन गरेको थियो । तर, पारदर्शिताको अभाव र आर्थिक अनियमितताका कारण उक्त सहकारीको व्यवसाय असफल भयो ।  यसको विपरीत काष्टीको यो सहकारीले पारदर्शी लेखा प्रणाली, सदस्यको विश्वास र प्रभावकारी व्यवस्थापनमार्फत सहकारी मोडललाई सफल व्यवसायमा रूपान्तरण गरेको छ । स्थानीयवासीका अनुसार सहकारीले गाउँको आर्थिक गतिविधि बढाउनुका साथै रोजगारी सिर्जना, कृषि उत्पादन वृद्धि र उपभोक्तालाई सहज सेवा उपलब्ध गराएको छ । ९७ वर्षको इतिहास बोकेको यो सहकारी संस्था केवल बचत र ऋणमा सीमित नभई सफल व्यापारिक संस्थाका रूपमा पनि स्थापित हुन सक्छ भन्ने सशक्त उदाहरण बनेको छ ।  भारतमा सहकारी : प्राथमिकतामा सदस्य  भारतमा कृषि सहकारीको मोडल वित्तीय संस्था मात्र होइन, ग्रामीण अर्थतन्त्रको मेरुदण्डका रूपमा विकसित भएको छ । विशेषगरी महाराष्ट्र, केरला, गुजरात, कर्नाटक र उत्तर प्रदेश जस्ता राज्यहरूमा सहकारीहरूले कृषि उत्पादन, बजार पहुँच, वित्तीय सेवा र स्थानीय रोजगारी सिर्जनामा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।  काष्टी, दौंडको सहकार महर्षि काष्टी विविध कार्यकारी सेवा सहकारी संस्था लिमिटेड पनि यही सफल मोडलको एक प्रतिनिधि संस्था हो । भारतमा कृषि सहकारीको मोडल बहुउद्देश्यीय प्रणालीमा आधारित छ । सहकारीले किसानलाई ऋण दिने मात्र नभई उत्पादनका सम्पूर्ण चरणमा सहयोग गर्ने गरेको अध्यक्ष बाजपुटेले बताए ।  सहकारीहरुले किसानलाई मल, बीउ, कीटनाशकदेखि कृषि उपकरण उपलब्ध गराउने, उत्पादन खरिद गर्ने र बजारसम्म पुर्‍याउने काम सहकारीले नै गरेको गरेको उनले सुनाए ।  विशेषगरी राष्ट्रिय सहकारी विकास निगम (एनसीडीसी) जस्ता सरहकारी संस्थाले सहकारीलाई वित्तीय सहयोग, प्राविधिक सहयोग र पूर्वाधार निर्माणमा सहजीकरण गर्दै आएका छन् । यसले सहकारीलाई निजी कम्पनीसँग प्रतिस्पर्धा गर्न सक्ने बनाएको अध्यक्ष बाजुपाटेले बताए ।  भारतमा धेरै कृषि सहकारीहरूले उखु, दुग्ध, अन्न र तरकारी उत्पादनमा महत्त्वपूर्ण भूमिका खेलेका छन् । महाराष्ट्रका उखु सहकारीहरूले किसानको उत्पादन सिधै प्रशोधन उद्योगसँग जोड्ने काम गरेका छन् । यसले किसानलाई उचित मूल्य र स्थिर आम्दानी सुनिश्चित गरेको छ । भारत सरकारले सहकारी क्षेत्रलाई कृषि विकासको प्रमुख क्षेत्रका रूपमा लिएको छ । सरकारले सहकारीलाई सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउँछ । सहकारीले किसानलाई सहज ऋण, सस्तो मल र बीउ उपलब्ध गराउँदै उत्पादन लागत घटाएर आम्दानी बढाउन सहयोग गरेको छ ।  भारतमा सहकारी सफल हुनुको मुख्य कारण पारदर्शी व्यवस्थापन, सरकारी सहयोग र समुदायको सक्रिय सहभागिता हो । सहकारीका सञ्चालकहरू स्वयंसेवी रूपमा काम गर्ने, नियमित लेखापरीक्षण हुने र सदस्यलाई लाभांश वितरण गर्ने प्रणालीले विश्वास कायम गरेको देखिन्छ । सहकारीले बचत तथा ऋण दिने काम मात्र नभई सफल व्यापारिक संस्था पनि सहकारी बन्न सक्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ । यही कारणले पनि भारतको सहकारी मोडल अहिले विश्वभर अध्ययनको विषय बनेको छ र नेपालजस्ता देशका लागि पनि अनुकरणीय उदाहरणका रूपमा स्थापित भएको छ ।