निकोलश पाण्डेको नेतृत्वमा महासंघको नयाँ कार्यसमितिले सम्हाल्यो कार्यभार, निर्माण क्षेत्रको गरिमा उकास्ने अठोट

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको १३ औं अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिले सोमबार औपचारिक रूपमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेको छ ।  अनामनगरस्थित महासंघको केन्द्रीय कार्यालयमा आयोजित विशेष समारोहका बिच नवनिर्वाचित अध्यक्ष निकोलश पाण्डेसहितका पदाधिकारी तथा सदस्यहरूले आफ्नो कार्यभार सम्हाल्दै शपथ लिएका हुन् ।  शपथ ग्रहणसँगै नयाँ नेतृत्वले निर्माण क्षेत्रको वर्तमान चुनौतीहरूलाई चिर्दै खस्कँदो गरिमालाई पुनस्र्थापित गर्ने र व्यवसायीहरूको हकहितका लागि दृढतापूर्वक लाग्ने सामूहिक प्रतिबद्धता व्यक्त गरेको छ । कार्यक्रममा महासंघका पूर्वअध्यक्षहरू, सातै प्रदेशका प्रतिनिधिहरू र निर्माण क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।  महासंघको आगामी कार्यकालका लागि नेतृत्व चयन भएका पदाधिकारीहरू अध्यक्षमा निकोलश पाण्डे, महासचिवमा शिवहरि घिमिरे, महिला उपाध्यक्षमा गङ्गा पोखरेल, कोषाध्यक्षमा उज्ज्वल गौतम, सहकोषाध्यक्षमा उपेन्द्र घिसिङ, नीतिगत उपमहासचिवमा मंगल शाही, आन्तरिक उपमहासचिवमा सन्तोष साह, प्रादेशिक उपाध्यक्षहरूमा प्रदेश निर्वाचित उपाध्यक्ष कोशी धिरेन्द्र दाहाल, मधेस शम्भु ठाकुर, बागमती बालकृष्ण थापा, गण्डकी खिमप्रकाश मल्ल, लुम्बिनी शहदेव खड्का कर्णाली हिमबहादुर बुढा तथा सुदूरपश्चिम प्रकाशबहादुर शेट्टी रहेका छन् ।  अधिवेशनले देशभरका निर्माण व्यवसायीहरूमाझ आपसी एकता र सहकार्यको नयाँ ऊर्जा सञ्चार गरेको सहभागीहरूले बताएका छन् । नयाँ टिमले विशेष गरी निर्माण उद्योगमा देखिएका नीतिगत समस्याहरूको समाधान र व्यवसायीहरूको सुरक्षालाई आफ्नो मुख्य प्राथमिकतामा राख्ने विश्वास लिइएको छ । 

याम्बालिङ्ग हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज चैत २३ गते अन्तिम दिन रहेको छ । चैत ८ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले आजसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पुँजी ७० करोड रुपैयाँको ४० प्रतिशत अर्थात् २८ करोड रुपैयाँको अंकित मूल्य १ सय रुपैयाँ दरका २८ लाख कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये जारी पुँजीको १० प्रतिशत अर्थात् ७ करोड रुपैयाँको ७ लाख कित्ता आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर १ देखि ७ सम्मका स्थानीय बासिन्दालाई छुट्याएको छ । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम स्थानीयले ७ हजार कित्ता आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । स्थानीय बासिन्दाले बिक्री प्रबन्धकका साथै आयोजना कार्यालय, सिन्धु विकास बैंकको जुगल गाउँपालिका र चौतारा शाखा र कुमारी बैंकको शाखाबाट आवेदन दिन सक्नेछन् ।

स्थानीयले स्नो रिभर्सको आईपीओ खरिद गर्ने आज अन्तिम दिन

काठमाडौं । स्नो रिभर्स लिमिटेडको आईपीओमा आवेदन दिने आज चैत २३ गते अन्तिम दिन रहेको छ । चैत ९ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले आजसम्म आवेदन दिन सक्नेछन् ।  कम्पनीले जारी पुँजी ९३ करोड ७५ लाख रुपैयाँको २० प्रतिशत अर्थात् १८ करोड ७५ लाख रुपैयाँ बराबरको १८ लाख ७५ हजार कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये जारी पुँजीको १० प्रतिशत अर्थात् ९ करोड ३७ लाख ५० हजार रुपैयाँको ९ लाख ३७ हजार ५०० कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई छुट्याएको छ । स्थानीयलाई छुट्याएको सेयरमध्ये अति प्रभावित क्षेत्र ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका-८ का स्थानीयलाई ४ लाख ६८ हजार ७५० कित्ता र आयोजना प्रभावित क्षेत्र सिरीजङ्गा गाउँपालिका-१ देखि ७ सम्म, सिदिङ्वा गाउँपालिका-५ र ६, पाथीभरा याङवारक गाउँपालिका-५ र ६ र पाँचथरको हिलिहाङ गाउँपालिका-१ का स्थानीयलाई ४ लाख ६८ हजार ७५० कित्ता सेयर बिक्री खुला गरिएको हो । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतममा स्थानीयले १० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीले १ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।  कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । स्थानीय बासिन्दाले बिक्री प्रबन्धकका साथै आयोजनाको कार्यालय याम्फुदिन, नेपाल बैंकको सिरीजङ्गा शाखा, एनएमबि बैंक, सानिमा बैंक र ग्लोबल आइएमई बैंकको फुङलिङ शाखाबाट आवेदन दिन सक्नेछन् ।