जनरल इन्स्योरेन्सकाे आईपीओ भाेलिदेखि भर्न पाइने

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपालले निष्काशन गर्न लागेको प्राथमिक सेयर (आईपीओ)मा भोलि (असोज ११ गते)देखि आवेदन दिन पाइने भएको छ । कम्पनीले भोलिदेखि प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ दरको ३० लाख कित्ता अर्थात ३० करोड रुपैयाँ बराबरको आईपीओ बिक्री गर्न लागेको हो । कम्पनीले गत भदौ २५ गतेमात्र नेपाल धितोपत्र बोर्डबाट सेयर निष्काशन गर्न अनुमति पाएको थियो । कूल ३० लाख कित्ता साधारण सेयर मध्ये ५ प्रतिशत अर्थात एक लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ४ प्रतिशत अर्थात एक लाख २० हजार कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ । त्यसपछि बाँकी रहेको २७ लाख ३० हजार कित्ता सर्वसाधारणमा बिक्री गरिने कम्पनीले जनाएको छ । यससँगै, लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने छन् । आईपीओको निश्कासन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलका अनुसार यो आईपीओको निष्कासन बन्द छिटोमा असोज १४ गते बैंकिङ समय पश्चात हुने छ । उक्त सेयर निष्काशनको लागि इन्स्योरेन्सले केयर रेटिङ नेपालबाट केयर एनपी आईपीओ ग्रेड ४ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको आधारभूत पक्ष औषतभन्दा तल रहेको बुझाउँछ । कम्पनीको लेखा परिक्षण हुन बाँकी रहेको वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष २०७६/२०७७ मा कम्पनीको प्रतिसेयर नेटवर्थ १०४.०२ रुपैयाँ र प्रतिसेयर आम्दानी २.२५ रुपैयाँ रहेको छ । जुन चालु आव २०७७/२०७८ मा बढाएर क्रमशः ११५.९ रुपैयाँ र १७.३८ रुपैयाँ पुर्याउने कम्पनीको प्रक्षेपण रहेको छ ।

सानिमा लाइफको सीईओमा मुखिया, तीन विश्वविद्यालयबाट मास्टर्स, नयाँ प्रडक्टमा विशेष दख्खल

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा अगम मुखिया नियुक्त भएका छन् । मुखियालाई बीमा समितिले शुक्रबार नियुक्तीका लागि स्विकृति दिएको हो । बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गर्नको लागि बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले स्वीकृति दिनुपर्ने कानुनी व्यवस्था छ । मुखिया रिलायवल लाइफ इन्स्योरेन्स कम्पनीमा डेपुटी सिइओको रुपमा रहेका थिए । प्रमुख कार्यकारी अधिकृत पदमा उनले ४ वर्षका लागि नियुक्ती पाएका हुन् । सानिमा लाइफमा सीईओ पद खाली थियो । कम्पनी २०७४ सालमा संचालनमा आएको भएपनि महाप्रबन्धकको रुपमा शिवराम तिमिल्सिनाले व्यवस्थापनको नेतृत्व गरिरहेका थिए । मुखियाले त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय र काठमाडौं विश्वविद्यालय गरी ३ विश्वविद्यालयबाट स्नातकोत्तर तह (मास्टर्स डिग्री) गरेका छन् । उनले त्रिभुवन विश्वविद्यालयबाट फिजिक्समा, काठमाडौं विश्वविद्यालयबाट म्यानेजमेन्टमा र पूर्वाञ्चल विश्वविद्यालयबाट कम्प्युटर एप्लिकेसन विषयमा मास्टर्स गरेका हुन् । नेपाल लाइफ इन्स्यारेन्स कम्पनीमा १० वर्ष काम गरेका मुखिया सो कम्पनीको एसिस्टेन्ट जनरल म्यानेजरको जिम्मेवारीमै रहेकै बेला रिलायवल लाइफ इन्स्यारेन्स कम्पनीको डेपुटी प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा गएका थिए । बीमा क्षेत्रमा करिब १५ वर्ष काम गरेको अनुभव भएका मुखिया बीमा बजारमा नयाँ नयाँ प्रडक्ट ल्याउनेमा खास दख्खद राख्ने व्यक्तिका रुपमा परिचित छन् । उनले अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ) मा प्रोजेक्ट कन्सल्ट्यान्टको रुपमा पनि काम गरेको अनुभव संगालेका छन् ।

ज्योति लाईफ इन्स्योरेन्स चौथो वर्षमा प्रवेश, २ अर्बको जीवन बीमा कोष बनाउन सफल

काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनी आज(असोज ८ गते)बाट चौथो वर्षमा प्रवेश गरेको छ । २०७४ आश्विन ८ गतेबाट औपचारिक रुपमा व्यवसाय शुभारम्भ गरेको यस कम्पनी तेश्रो वर्ष सफलताका साथ पुरा गरि चौथो वर्षमा लागेको हो । कम्पनीले घातक रोग सहितको सेवा दिने पहिलो नेपाली जीवन बीमा कम्पनीको रुपमा व्यवसाय शुरु गरेको थियो । कम्पनीले २०७६ बैशाख २५ गतेदेखि सर्वाधिक ३५ वटा घातक रोग विरुद्ध अधिकतम ५० लाख रुपैयाँसम्मको सुविधा दिँदै आएको छ । ११७ वटा शाखा सञ्जाल सहित सातै प्रदेशको ७२ जिल्लाबाट सेवा प्रवाह गर्दै तेश्रो आर्थिक बर्षमा झन्डै दुई अर्ब कुल बीमा शुल्क संकलन गर्न सफल भएको छ । आईएसओ ९००१ः२०१५ गुणस्तर चिन्ह प्रमाण पत्र यस कम्पनीले बीमितहरुलाई बोनस वृद्धि सहित सल्भेन्सी अनुपात १.८३ कायम गरेको छ । त्यस्तै, कुल लगानी ३ अर्ब ५० करोड रुपैयाँ र २ अर्ब रुपैयाँको जीवन बीमा कोष बनाउन सफल हुँदै चौथो बर्षमा प्रवेश गरेको छ । यो अवसरमा कम्पनीका कार्यकारी प्रमुख प्रकाश बिक्रम खत्रीले सबै बीमित, अभिकर्ता, कर्मचारी, सेयरधनी, नियामक निकाय सबैलाई आभार व्यक्त गर्दै आगामी दिनमा निरन्तर साथको अपेक्षा रहेको बताएका छन् ।