दशैंलाई लक्षित गर्दै कलंकी अन्डरपास आइतबारदेखि पुन: सञ्चालनमा आउने

  २०७५ असोज ९ गते १६:२५     खेमराज श्रेष्ठ

काठमाडौं । नेपालमा पहिलो पटक निर्माण गरिएको कलङ्की अण्डरपास पुन: सञ्चालनमा आउने भएको छ । दशैंमा उपत्यका भित्रिने र बाहिरिने सवारीलाई मध्यनजर गर्दै अर्को हप्ताको आइतबारदेखि अन्डरपास सञ्चालनमा ल्याउन लागिएको हो ।

हाल अन्डरपासमा धमाधम पिचको काम भैरहेको छ । एक दुई दिनमै पिचको काम सकिने चक्रपथ सुधार आयोजनाका इन्जिनियर निराजन शर्माले बताए । उनका अनुसार अब अन्डरपासको थोरै मात्र भाग पिच हुन बाँकी रहेकोले असोज १४ गतेदेखि अन्डरपास पुन सञ्चालनमा आउनेछ ।

“अहिले दशैंलाई लक्षित गरेर मात्र अन्डरपास खोल्न लागिएको हो, दशै पश्चात फेरी ४ दिन जति बन्द गरेर फिनिसिङको काम हुने इन्जिनियर शर्माले विकासन्युजसँग भने ।” आयोजना डिसेम्बर सम्ममा पुरा हुने पनि उनले बताए । यसअघि परिक्षणको लागि गत साउनमा केहिदिनको लागि अण्डरपास सञ्चालनमा ल्याइएको थियो ।

अण्डरपास सञ्चालनमा आएपछि उपत्यका बाहिरिने र भित्रिने प्रमुख नाका कलङ्कीमा कम जाम हुने विश्वास गरिएको छ । चीन सरकारको  सहयोगमा कोटेश्वर–कलङ्की सडक विस्तारअन्तर्गत अण्डरपास निर्माण भएको हो । साउन पहिलो सातामै खोल्ने भनिए पनि निर्माण सम्पन्न नभएकाले अण्डरपास खोल्न समय लागेको हो । थानकोटबाट कालिमाटीतर्फ आउने र जाने यातायात साधनका लागि १६ मिटर चौडाइको सडक रहेको छ । त्यसको ठीक तल १६ मिटर लामो सब–वे रहेकाे छ ।

जसबाट बल्खुबाट स्वयम्भूतर्फ आउने र जाने गाडी वारपार हुनेछन् । सब–वेको अन्डरपास भने ८ सय ४० मिटर लामो रहेको छ । यस बाटोबाट सीधै रिङरोडमा अघि बढ्ने गाडी मात्र गुड्नेछन् ।

तस्बिर: प्रकाश देवकोटा

खसीबजार पुलबाट सुरु भएकाे अन्डरपासबाहेक दायाँबायाँबाट भने स्लोपमा समानान्तर सडक बाफल पुलसम्म पुगेकाे छ । खसीबजार तिरको दायाँ स्लोपबाट कालिमाटीतर्फ गाडी आउजाउ गर्नेछन् भने बायाँ स्लोपबाट थानकोटतर्फ आउजाउ गर्नेछन् । त्यस्तै, स्वयम्भूतर्फको बायाँ स्लोपका गाडी कालिमाटीतर्फ आउजाउ गर्नेछन् भने दायाँ स्लोपबाट थानकोटतर्फ आउजाउ गर्नेछन् ।

कुन सडकमा कसरी सवारीसाधन गुडाउने

नागढुंगाबाट स्वयम्भूतर्फ जाने सवारीसाधन विना अवरोध ओभरहेड ब्रिजको बायाँतर्फ मोडेर जान सक्नेछन् । स्वयम्भूबाट नागढुंगा जाने सवारीसाधनले पनि सोही रुट प्रयोग गर्न सक्नेछन् ।

नागढुंगाबाट बल्खुतर्फ जाने सावरीसाधन विनाअवरोध दायाँ मोडेर जान सक्नेछन् । बल्खुबाट नागढुंगा जाने सवारीसाधनले पनि सोही रूपट प्रयोग गर्न सक्नेछन् ।

त्रिपुरेश्वरबाट स्वयम्भू जाने सवारीसाधनले ओभरहेड ब्रिजको दायाँ मोड प्रयोग गरेर जाने सक्नेछन् । स्वयम्भूबाट त्रिपुरेश्वर जाने सवारीसाधनले पनि सोही रुट प्रयोग गर्न सक्नेछन् ।

त्रिपुरेश्वरबाट बल्खु जाने सवारीसाधनले ओभरहेड ब्रिजको बायाँ मोड प्रयोग गर्न सक्नेछन् । बल्खुबाट त्रिपुरेश्वर जाने सवारीसाधनले पनि सोही मोड प्रयोग गर्न सक्नेछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.