बीमा सम्मेलनमा अर्थमन्त्रीले भने-घरमै बसेर प्रिमियम तिर्ने र दावी भुत्तानी लिने व्यवस्था गर्नुस

  २०७५ असोज ९ गते १०:२८     विकासन्युज

 

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले घरमै बसेर बीमा शुल्क (प्रिमियम) तिर्न र दावी भुत्तानी लिने व्यवस्था मिलाउन निर्देशन दिएका छन् । विकासोन्मुख राष्ट्रका बीमा कम्पनीहरुको २१ औं सम्मेलनलाई मंगलबार सम्वोधन गर्दै अर्थमन्त्रीले बीमा कम्पनीलाई प्रविधिमैत्री बनाउन सुझाएका हुन् । “अब बीमा क्षेत्रले पनि प्रविधिको उच्चतम प्रयोग गरेर ग्राहकले घरैमा बसेर बीमा प्रिमियम तिर्ने र दावी भुत्तानीको व्यवस्था गर्नुपर्छ” उनले भने ।

बीमा क्षेत्रले सबै क्षेत्रको जोखिम कभर गर्नुपर्ने र प्रडक्टमा विविधिकरण गर्न अर्थमन्त्रीको सुझाव थियो । साइबर जोखिम बीमा व्यवसाय अघि बढाउन उनले अनुरोध गरेका छन् । आर्थिक संकटको सामना गर्न बीमा क्षेत्रले तयार हुनुपर्ने अर्थमन्त्रीको भनाई थियो । बीमा क्षेत्रले सेयर बजारमा लगानी गरेकोमा उनको असन्तुष्ठि थियो । लगानीमा विविधिकरण गर्न र जोखिम हस्तान्तरण हुने गरी नीति ल्याउन अर्थमन्त्रीले सुझाव दिएका थिए ।

निर्जीवन बीमाको आधा हिस्सा मोटर बीमा रहेको बताउदै उनले अन्य क्षेत्रलाई पनि समेट्न आग्रह गरे । सरकारले लघुबीमालाई प्रभावकारी रुपमा अघि बढाउन लागेको उनले जानकारी दिए । वृद्धको र सिमान्तकृत जनताको स्वास्थ्य बीमा सरकारले गर्न लागेको भन्दै तयार भएर बस्न अर्थमन्त्रीले सुझाव दिएका थिए ।

सो अवसरमा बीमा समितिका अध्यक्ष चिरन्जीवि चापागाइले सबै क्षेत्रको बीमा समेट्ने गरी काम अघि बढेको जानकारी दिए । साइबर बीमा कार्यान्वयनमा आउन लागेको उनले बताए ।

मंगलबारबाट सुरु भएको सम्मेलन दुई दिनसम्म चल्ने छ । सम्मेलनमा विकासोन्मुख राष्ट्रका बीमा कम्पनीहरु, पुनर्बीमा कम्पनी, बीमा क्षेत्रका नियामक निकायहरुको सहभागिता रहनेछ । प्राकृतिक विपत्तिमा बीमा क्षेत्रका लागि अवसरको खोजी गर्न २१ औं सम्मेलन आयोजना गर्न लागिएको हो । सम्मेलनमा विकासोन्मुख २० देशबाट १५० भन्दा बढि सहभागीहरु काठमाडौं आईपुगेका छन् ।

विकासोन्मुख राष्ट्रका बीमा कम्पनी र रि इन्स्योरेन्स कम्पनीको छाता संस्था एसोसियसन अफ इन्युरर्स एण्ड रि इन्स्योरेन्स अफ डेभलपिङ कन्ट्रिज(एआईआरडीसी)को २१ औं सम्मेलनको आयोजना गरेको हो । सम्मेलनमा प्राकृति विपत्तिको जोखिम न्युनीकरणमा रि इन्स्योरेन्स कम्पनीको भूमिका, बीमा कम्पनीहरुको डिजिटलाइजेशन, माईक्रो इन्स्योरेन्स लगायतका बिषयमा विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.