खाद्य संस्थानले सहकारीमार्फत दशैंलाई सुपथ मूल्य पसल सञ्चालन गर्ने

  २०७५ असोज ५ गते २०:१९     विकासन्युज

काठमाडौ । नेपाल खाद्य संस्थानले सहकारीमार्फत दशैँ, तिहार र छठका लागि सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । रामशाहपथ, थापाथली र नख्खुबाहेक अन्य ठाउँमा सहकारीमार्फत सुपथ मूल्य पसल सञ्चालन गर्न लागिएको संस्थानका विभागीय प्रबन्धक श्रीमणिराज खनालले जानकारी दिए । उनका अनुसार करीब १२ सहकारी संस्थालाई संस्थानबाट खाद्यान्न उपलब्ध गराई पसल सञ्चालनको जिम्मा दिइनेछ ।

“कर्मचारी अभाव र सर्वसाधारणलाई पहुँच पु¥याउन यसपटकदेखि हामीले सहकारीमार्फत चाडपर्वमा खाद्यान्न वितरण गर्न थालेका हौँ”, उनले भने । यसअघि संस्थानले उपत्यकाका आठ ठाउँमा पसल सञ्चालन गरेको थियो । संस्थानले यस वर्ष चाडपर्वलाई लक्षित गरी दुई हजार खसी र च्याङ्ग्रा ल्याउने भएको छ । ५ सय खसी दाङ, ५०० खसी हेटौडा तथा एक हजार च्याङ्ग्रा मनाङबाट ल्याइने भएको संस्थानका सूचना अधिकारी शङ्कर सापकोटाले जानकारी दिए ।

उनका अनुसार खसी र च्याङ्ग्रा सङ्कलन गर्न त्यहाँस्थित कार्यालयलाई निर्देशन दिइसकेको छ । संस्थानका ती ठाउँमा रहेका कार्यालयले घट्स्थापनापछि खसी र च्याङ्ग्रा काठमाडौँ पठाइनेछ । खसी र च्याङ्ग्रा थापाथलीस्थित अञ्चल कार्यालयबाट वितरण गरिनेछ । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित समितिले खसी र च्याङ्ग्राको मूल्य निर्धारण गर्नेछ । संस्थानले यसपटक आठ किसिमका चामल बिक्री वितरण गर्नेछ । बासमति, जापानिज, जिरा मन्सुलीसहित कर्णालीको फापर, सिमीसमेत बिक्री वितरणमा राखिने भएको छ । संस्थानले यही असोज १२ देखि छठ पर्वसम्म पसल सञ्चालन गर्ने भएको छ ।
रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.