बाहिरी चक्रपथमा भूमाफिया फसे, सरकारले थाल्याे नयाँ डीपीआर र रेखांकनकाे काम

  २०७५ असोज ५ गते १७:४८     नारायण पौडेल

काठमाडौं । बाहिरी चक्रपथको पाइलट प्रोजेक्टमा भूमाफियाहरुले चलखेल गरेपछि डीपीआर नै नयाँ बन्ने भएको छ । शहरी विकास मन्त्रालयले चीन सरकारको सहयोगमा नयाँ डीपीआर बनाएर यसै वर्षभित्र आयोजनाको काम अघि बढाउन लागेको हो ।

‘पाइलट प्रोजेक्टका रुपमा अघि सारिएको खण्डमा भूमाफियाहरुले चलखेल गरेपछि नयाँ डीपीआर बनाउन लागेका छौं, नयाँ रेखांकन (अनाइनमेन्टं)सहित यसै वर्ष काम थाल्छौं’, शहरी विकासमन्त्री मोहम्मद ईस्तियाक राईले विकासन्युजसँग भने ।

बाहिरी चक्रपथ आयोजनाले पाइलट प्रोजेक्टका रुपमा चोभारदेखि सतुंगलसम्मको ६.६१८ किलोमिटर खण्डमा काम अघि बढाउन लागेको थियो । तर सो खण्डमा भूमाफियाहरुले २ हजार ९५३ कित्ता जमिन ३ आना भन्दा सानो आकारमा कित्ताकाट गरिदिएका छन् ।

७६ वटा घरहरुसहित ७ हजार ८ सय रोपनी जमिन अधिग्रहण गर्नुपर्ने पाइलट प्रोजेक्टमा भूमाफियाहरुले चलखेल गरेपछि नयाँ डीपीआर बनाएर रेखांकन नै नयाँ गर्ने तयारीमा मन्त्रालय जुटेको हो । मन्त्री राईका अनुसार चीन सरकारले चार महिनाभित्र निःशुल्क डीपीआर बनाईदिने प्रतिवद्धता व्यक्त गरेको छ ।

‘पुरानो डीपीआर र अध्ययन प्रतिवेदनहरु प्राप्त गरेमा ४ महिनाभित्र निःशुल्क नयाँ डीपीआर बनाईदिन्छौं भनेका छन्, हामीले प्रारम्भिक सहमतिका लागि अर्थमन्त्रालय पठाएका छौं’, शहरी विकास मन्त्री राईले भने ।

उनले अर्थमन्त्रालयको सहमतिपछि कानुन मन्त्रालयमा पठाउने र कानुनले सहमति दिएसँगै मन्त्रिपरिषद मार्फत पास गराएर डीपीआर बनाउने प्रक्रिया अघि बढाउने पनि बताए । मन्त्रालयले ७२ किलोमिटर लामो बाहिरी चक्रपथकै डीपीआर नयाँ बनाउन लागेको हो ।

चोभार–सतुंगल खण्डको लागत ६ अर्ब ५० करोड रूपैयाँ अनुमान गरिएको छ । सोमध्ये १ अर्ब रुपैंयाँ भने ७६ वटा घरहरुलाई क्षतिपूर्तिका लागि उपलब्ध गराउनुपर्ने अवस्था छ ।

२०७४ गत बैशाख १३ गते सो खण्डको डिपिआर स्वीकृत भएको थियो तर अब भने सो डीपीआरले काम नगर्ने पक्कका भएको हो । बाहिरी चक्रपथ सडकको दाँया बायाँ २५०/२५० मिटर जमिन अधिग्रहण गरेर ५० मिटरको आधुनिक सडक निर्माण तथा व्यवस्थित वस्ती विकास गर्ने योजना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.