आयल निगमले पेट्रोलियम पदार्थको कोटा तोक्यो, मोटरसाइकलले ५ लिटर मात्र पाउने

  २०७५ असोज ५ गते १५:२५     विकासन्युज

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको वितरणमा केही असहज अवस्था सिर्जना भएको भन्दै सवारीसाधनलाई तोकिएको कोटा मात्र इन्धन उपलब्ध गराउन आग्रह गरेको छ ।

निगमले नेपाल पेट्रोलियम डिलर्स एशोसिएशन र वाग्मती पेट्रोलियम डिलर्स एशोसिएशनलाई आज पत्राचार गर्दै तोकिएको कोटाअनुसारको इन्धन उपलब्ध गराउन अनुरोध गरेको हो । निगमका अनुसार मोटरसाइकल र स्कुटरलाई बढीमा ५ लिटर पेट्रोल उपलब्ध हुनेछ । हलुका सवारीसधान, कार र भ्यानलगायतलाई बढीमा १५ लिटर पेट्रोल उपलब्ध गराइने निगमले जनाएको छ ।

निगमले डिजेलबाट सञ्चालन हुने मध्यम तथा छोटो दूरीका सवारीसाधनलाई बढीमा ५० लिटर र लामो दूरीको सवारीसाधनलाई बढीमा १०० लिटरसम्म उपलब्ध गराउन आग्रह गरेको छ । एम्बुलेन्स, विद्यालयका बस तथा सरकारी सवारीसाधनलगायत अत्यावश्यक सवारीसाधनलाई उच्च प्राथमिकतामा राखी इन्धन बिक्री वितरण गर्न एशोसिएशनलाई अनुरोध गरिएको निगमका प्रवक्ता इञ्जिनीयर वीरेन्द्र गोइतले जानकारी दिए ।

ट्याङ्कर चालकले विभिन्न माग राखी इन्धन ढुवानी नगर्दा मुलुकभर पेट्रोलियम पदार्थको हाहाकार भएको छ । तीन दिनदेखि इन्धनको ढुवानी ठप्प छ । आज पनि काठमाडौँका अधिकांश पेट्रोल पम्प बन्द छन् । इन्धन भर्नका लागि पेट्रोलपम्पमा लामो लाइन लागेको छ । इन्धनको अभाव हुँदा उपत्यकाका सडकमा तुलानात्मकरुपमा केही कम सवारीसाधन सञ्चालनमा छन् । रासस

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.