मुटुको जटिल शल्यक्रियामा सफलता चुम्दै डा अनिल भट्टराई, भन्छन्–‘चाकडीबाज सबैभन्दा ठूलो रोग’

  २०७५ असोज ३ गते २१:२०     विकासन्युज

काठमाडौं । गत भदौ १८ गते त्रिवि शिक्षण अस्पताल अन्तरगत रहेको मनमोहन कार्डियोथोरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा अहिलेसम्मकै दुर्लभ खुल्ला हृदय शल्यक्रिया सफल भयो ।

ओपन हार्ट सर्जरी भनेर चिनिने यो शल्यक्रियाको नेतृत्व गरेको थिए डाक्टर अनिल भट्टराईले । डाक्टर भट्टराईले सफलताको कथा सुनाए ।
३७ हप्ताको गर्भवती महिला प्रमिला अर्याललाई छाती दुख्यो र सास फेर्न गार्हो भयो भनेर ईमर्जेन्सीमा अस्पताल ल्याइयो ।

भिडियो एक्सरे गर्दा मुटुको नली च्यातिएको देखियो । आमा र बच्चा बचाउन अप्रेसन गर्नु पर्ने देखियो ।

३७ हप्ताको बच्चा डेलिभरी भयो भने बाँच्छ । हामी आमा–बच्चा दुवैलाई बचाउने प्रयासमा जुट्यौं ।

प्रमिलाको उपचार गर्न दुई वटा टिमको आवश्यक भयोे, मुटुको अप्रेसनका टिम र बच्चा निकाल्नको लागि गाईनोकोलोजीको टिम ।
तत्काल गाईनोकोलोजीको टिमलाई बोलाएर छलफल गरौं । पहिला बच्चा निकाल्ने, त्यसपछि आमाको मुटुको अप्रेशन गर्नु पर्ने निष्कर्षमा हामी पुग्यौं ।

मुटुको अप्रेसन गर्नुपूर्व रगत पातलो हुने औषधी दिईन्छ । रगत जम्ने हुनाले यो औषधी दिने गरिन्छ ।

तर बच्चा निकालीसकेपछि आमाको पाठेघरमा आलो घाउ हुन्छ । यस्तो अवस्थामा विरामीलाई रगत पातलो बनाउने औषधि दिँदा पाठेघरबाट अत्याधिक रक्तश्राव हुनसक्छ ।

रगत पातलो बनाउने औषधि नदिइ मुटोको अप्रेसन गर्न सकिदैन ।

त्यो एकदमै दोधारे परिस्थिति थियो । चिकित्सा दुनियाँमा यस्तो केस एकदमै दुर्लभ मानिन्छ र अत्यान्तै जोखिमयुक्त ।
गाईनोकोलोजीको टिमले बच्चा निकालिसकेपछि पाठेघरलाई खुल्ला राखेर त्यहाँ बिशेष प्रकारको कपडा खाँदेर राखे । त्यस कपडालाई उनीहरुले ४ घण्टा त्यही राखे ।

त्यसपछि मुटुको अप्रेसनका टिमले छाती खोलेर मुटुको अप्रेसन गर्यौं । मुटुको अप्रेसन सकिएपछि पाठेघर बन्द गर्यौ । ७ घण्टा लगाएर दुबै अप्रेसन सफल बनायौं ।

‘मेहनत बल्ल देखियो भन्ने आभास भयो’ डा भट्टराईले भने–‘एउटा मुटु फुटेर आएको आमा र बच्चालाई बचाउन पाउनु मेरो लागि सुखद अबसर हो । कार्डियक सर्जनहरुका लागि यस्तो शल्यक्रिया निकै जोखिमपूर्ण पनि हो र अवसर पनि हो ।’

डाक्टर अनिल भट्टराईले धादिङ निवासी १४ वर्षिय नानीको काखीमा प्वाल बनाएर मुटुको अप्रेसन गरेको अर्को सफलताको कथा पनि सुनाए ।

‘पहिला हामीले स्तनमुनी काटेर शल्यक्रिया गर्दै आएका थियौं । त्यसमा साधारण दाग देखिने गरेको थियो । त्यो कुरा हामीले नानीको बुबालाई जानकारी गरायौं’ उनले भने

अप्रेसनपछि रहने दागले छोरीको विवाह गराउन समस्या पर्ला कि भन्ने चिन्ता विरामी नानीको बुबाले डाक्टर भट्टराईलाई सुनाए ।
‘एउटा बाबुले त्यति भनेपछि म सोच्न बाध्य भएँ र विदेशमा सिकेर आएको प्रविधिलाई नेपालमा अब प्रयोग गर्नुपर्छ भन्ने लाग्यो,’ डाक्टर भट्टराईले स्मरण गरे ।

आफूले काखीमुनी प्वाल पारेर उपचार गर्ने प्रविधि विदेशबाट सिकेर आएको तर अहिलेसम्म नेपालमा प्रयोग गरेको नगरेको डाक्टर भट्टराईले विरामीको बुबालाई जानकारी दिए ।

‘तपाईले सहमति दिनुहुन्छ भने तपाईको छोरीमै पहिलो पटक यस्तो विधिबाट उपचार गर्छौ । के तपाईं मलाई विश्वास गर्नु हुन्छ ? मैले विरामीका बाबुलाई सोधे ।’

उहाँले मलाई विश्वास गर्नुभयो–‘तपाईले सक्नुहुन्छ, गनुहोस् ।’

काखीमुनि प्वाल पारेर मुटुको शल्यक्रिया गर्ने डा भट्टराईको प्रयास सफल भयो । ‘विरामीले साथ नदिएको भए शायदै मेरो कोशीस सम्भव हुन्थ्यो,’ डाक्टर भट्टराई भन्छन्–‘त्यसपछि यहि प्रविधिमा आधारित रहेर हालसम्म १५/१६ जनाको मुटुको शल्यक्रिया गरिसकेको छु ।’
यस्तो विधिबाट मुटुको अप्रेसन गर्ने भट्टराई नेपालको पहिलो डाक्टर हुन् ।

इटालीमा पढ्दै गर्दा गरेको पहिलो अप्रेसन उनले विर्सनै सक्दैनन् । विद्यावारिधी गर्ने क्रममा मुटुको प्वाल टालिएको बच्चाको अप्रेसन उनले गरेका थिए । त्यो एकदमै जटिल अप्रेसन थियो र त्यो सफल पनि भयो । युरोपमा विद्यार्थीले पढाईको क्रममा कुनै अप्रेसन गरेको छ भने त्यो अप्रेसन उक्त विद्यार्थीले गरेको भनेर नाम आउने गर्दछ । उनलाई विरामीको बुबाआमासहित धेरैले बधाई दिए ।

१० हजार भन्दा बढी अप्रेसन

सन २००६ देखि मुटुरोग शल्यक्रिया शुरु गरेका डाक्टर अनिल भट्टराईले मुटु र अरु शल्यक्रिया गरेर हालसम्म १० हजार भन्दा बढी शल्यक्रिया गरिसकेका बताए ।

‘जिन्दगीमा ९५ प्रतिशत अप्रेसन सफल हुन्छन् र बाँकी ५ प्रतिशतको बारेमा केही भन्न सकिन्न’ उनी भन्छन्–‘एउटा डाक्टरको लागि बिरामी बाच्नु नै सबैभन्दा ठूलो जित हो । हरेक सफल शल्यक्रियाले हामीलाई उत्साहित र जिम्मेवार बनाउँछ ।’

त्यसैले त शल्यचिकित्सा क्षेत्रमा छोटो समयमै राम्रो ख्यातिको नाम भनेको–डाक्टर अनिल भट्टराई ।

भट्टराईको जन्म वि.सं. २०३४ कार्तिकमा पर्वतमा भएको हो । स्कूल तहको शिक्षा पर्वतमा मामाघरमा बसेर हासिल गरे ।

सन् १९९४ मा एमबीबीएस पढ्न उनी रुस पुगे । एमबीबीएस सकेपछि उनले सन् २००२ देखि २००४ सम्म टिचिङ अस्पतालमा मेडिकल अफिसरको रुपमा काम गरे । छात्रवृत्तिमा एमडी पढ्न पुनः रुस गए । २००८ मा फेलोसिप गर्न एक वर्षका लागि उनी अमेरिका पुगे । त्यसपछि उनले २००९ देखि २०१३ सम्म इटलीमा रहेर विद्यावारिधी गरे । इटलीमा उनले थुप्रै शल्यक्रियाहरुमा संलग्न हुने अवसर पाए ।

भ्यागुता चिरेर मुटु झिक्दा

‘मुटु यस्तो अंग हो जसलाई बाहिर झिकेर राख्दा पनि चलिरहन्छ’ अनिल कक्षा ८ मा पढ्दै गर्दा स्वास्थ्य शिक्षाको कक्षामा शिक्षकले भनेका थिए । उनलाई त्यो सुन्दा अचम्म लाग्यो । उनी र उनको साथी मिलेर नजिकैको पोखरीमा गएर भ्यागुता चिरेर मुटु झिकेर हेरे । जतिबेला उनी १२÷१३ वर्षका थिए । स्वास्थ्य क्षेत्रमा रुची बढ्नुको पछाडि यो घट्ना स्मरणीय बताउँछन् डाक्टर भट्टराई बताउँछन् ।

प्रेरणाको स्रोत

कार्डियाग सर्जरीको सबैभन्दा ठूलो मान्छे भनेर माइकल डिबिएगीलाई मानिन्छ । उनी अमेरिकी सर्जन थिए । उनको बुवा लेबननबाट बसाई सरेर अमेरिका छिरेका थिए । डिबियगीले दोस्रो विश्व युद्धमा आर्मीको डाक्टरको काम गरेका थिए । डिबिएगीले त्यो समयमा विभिन्न प्रकारको कार्डियो भास्कुलर सर्जरीलाई विकास पनि गरे । उनको बायोग्राफी आफूले धेरै पढेको र त्यसबाट निकै प्रभावित भएको बताउँछन् भट्टराई ।

आफ्नो प्रोफेसर जोभान स्थेलिङबाट पनि भट्टराई धेरै प्रभावित भएका छन् । जोभान स्थेलिङ उनको ईटालियन प्रोफेसर थिए । उनी त्यो समयमा वर्ल्ड सोसाईटीको प्रेसिडेन्ट पनि थिए । प्रोफेसरले बिशेष गरी तेस्रो राष्ट्रहरुमा कार्डियाक सर्जरी त्यति विकसित भएको छैन भन्ने हिसाबले भट्टराईको धेरै सहयोग गरेका थिए । सर्जरीमा सबैभन्दा धेरै प्रयाक्टिकलको जरुरी छ । नेपालबाट आएको मानिसहरुलाई युरोपमा सजिलैसंग काममा एक्सपोजर दिन पनि गार्हो थियो तर प्रोफेसरले भट्टराइलाई म्यक्सिमम एक्सपोजरमा गर्न सहयोग गरे ।

माईकल डिबेगीको जीवनीबाट आफूलाई प्रोफेस्नल्ली र आफ्नो प्रोफेसरले पर्सनल्ली प्रभावित पारेको भट्टराई बताउँछन् । पीएचडी गर्ने क्रममा उनले सन् २०११ अक्टोबर ‘फ्रान्सिस फन्टान’ नामक अन्र्तराष्ट्रिय पुरस्कार प्राप्त गरे । उक्त पुरस्कार संसारभरको मुटुरोग बिशेषज्ञ वा यस क्षेत्रमा महत्वपूर्ण अनुसन्धान गरेबापत हरेक वर्ष एक जनालाई प्रदान गरिन्छ । पोर्चुगलमा आयोजित युरोपियन कांग्रेसको विशेष सभामा आफ्नो रिसर्चले उक्त पुरस्कार पाएपछि डा भट्टराईलाई धेरै हौसला मिलेको थियो ।

सेभ द हार्टका संस्थापक

सेभ द हार्ट ५ वर्ष अगाडि मुटुरोगको रोकथाम र जनचेतना विस्तार गर्ने उद्देश्यले शुरु गरिएको हो । सन् २०१३ मा भट्टराईकै नेतृत्वमा स्थापना भएको संस्थाले त्यसयता विभिन्न जिल्लामा दर्जनौं स्वास्थ्य शिविरको आयोजना गर्नुका साथै भूकम्प प्रभावितहरुको उपचारमा पनि काम गरेको छ ।

संस्थाले हालसम्म ३९ वटा स्वास्थ्य शिविरको आयोजना गरेको छ । जसबाट जम्मा ४५ हजार चार सय जनाको स्वास्थ्य परीक्षण गरिएकोमा १०७ जनाको शल्यक्रिया गरिएको छ । त्यसमध्ये ४६ जना विपन्न नागरिकको उपचारमा लागेको सम्पूर्ण खर्च संस्थाले बेहोरेको छ भने ६१ जनालाई आंशिक सहयोगसहित उपचार गरिएको उनले जानकारी दिए । विशेष गरी मुगु, कालिकोट र डोल्पाका व्यक्तिहरुलाई संस्थाले सहयोग गर्दै आईरहेका छ ।

संस्थाले नेपालमा उपचार सम्भव नभएका बिरामी कमल रेग्मीलाई इटालीमा लगेर उपचार गराएको थियो । त्यस्तै कमल धमला भन्ने व्यक्तिको आजभन्दा २ वर्ष अगाडि उनीहरुले ग्रिन सिटी अस्पतालमा सबै खर्च बेहोरेर उपचार गराएको थियो ।

सरकारले अप्रेसनको पैसा मात्र बेहोर्ने तर डोल्पा, मुगुबाट आएका बिरामीहरुको गाडी–भाँडाहरुको पैसा कसैले पनि बेहोर्दैन र यसमा एउटा परिवारको ५०/६० हजार खर्च हुने गर्छ जसको सेभ द हार्टले सकेसम्म सबै रकम बेहोरिदिन्छ ।

नेपालमा सबै किसिमको मुटुको अप्रेसन सम्भव भएको उनले बताए । भल्भ फेर्ने सर्जरी, बाईपास सर्जरी, जन्माजात मुटुरोगीहरुको प्वाल टाल्ने अप्रेसन, मुटुको नली फुटेको सर्जरी हुनेगर्छ ।

कृतिम मुटु वा भ्यानटुकिलर यसिस्टिङ डिभाईस भनिने उपचार भने नेपालमा उपलब्ध छैन । ‘प्राविधिक रुपमा यसलाई उपलब्ध गर्नलाई कुनै समस्या छैन मात्रै यसको प्रविधि धेरै महँगो रहेको छ । कृतिम मुटु राख्नको लागि २०÷५० लाख पर्न जान्छ जुन सधैं भर डेस्टीनेसन थेरापीको रुपमा प्रयोग गर्न मिल्दैन’ उनले भने ।

उक्त कृतिम मुटुलाई राखेर मानिसलाई केही महिना र एक दुई बर्षसम्म मात्र बचाउन सकिन्छ । यसमा लामो समय सम्म बचाउन गार्हो हुन्छ । तर यो राख्नको लागि मुटुको प्रत्यारोपन हुन जरुरी छ जुन प्रविधि नआएसम्म भ्यानटुकिलार यसिस्टिङ डिभाईस राखेर त्यति धेरै फाईदा हुँदैन । यसमा टेक्निकल समस्या रहेको छ । त्यस्तै नेपालमा मुटुको प्रत्यारोपन पनि हुँदैन ।

आफ्नै देश प्यारो तर चाकडीबाज समस्या

पढ्न बिदेश गए पनि उनको त्यहाँ बस्ने प्लान कहिले पनि रहेन । उनलाई ‘विदेशमा धेरै अफर आएका थिए भनेर गफ लाउन चाहान्न’ भट्टराई भन्छन्–‘पढ्न विदेशमा गए पनि त्यही बस्ने योजना मैले बनाइन । परिवारको चाहाना पनि नेपालमै काम गरिदेओस् भन्ने थियो ।’ पढ्न, तालिम लिने, अनुभव लिन विदेश जानु पर्ने तर सेवा आफ्नै देश गर्नुपर्छ भन्ने मान्यतामा उनी अडिक रहेका छन् ।

प्रविधिको हिसाबले नेपाल पछाडि भएपनि पछिल्लो समय यसतर्फ विकासले गति लिएको छ । तर चाकडीपनले नेपाली समाजग्रस्त रहेको र नेपाली सामाजिक संरचना र सोचाइ बदल्न जरुरी रहेको बताउँछन् डा भट्टराई । अरु क्षेत्रमा जस्तै मेडिकल क्षेत्रमा पनि चाकडीबाजहरु रहेको र यस्तो प्रवृतिले मानिसहरुलाई पीडित बनाएका उनको बुझाइ छ ।

‘विदेशमा काम गर्नेहरु सम्मानित र प्रोत्साहित हुन्छन् । नेपालमा कर्मयोगिहरु भन्दा चाकडीबाजहरु अगाडि आउँछन् । यसले मानिस, समाज र देशको विकासमा सहयोग गर्दैन’ उनको निष्कर्ष छ ।

‘विदेशमा साथीभाइ, आफन्तहरुबाट एकदमै धेरै प्रोत्साहन मिल्ने गर्छ तर नेपालमा भने खुट्टा तान्ने प्रवृति रहेको छ । यो अर्को दुर्गुण हो’ भट्टराईले समाजको विश्लेषण गर्दै भने–धेरै मानिसहरु आफूलाई सबै कुरा आउँछ भन्ने घमण्ड राख्छन् । ज्ञान बाड्दा घट्छ भन्ने सोच राख्छन् । ज्ञान लिँदा र बाड्दाका सबैलाई फाईदा हुन्छ ज्ञान थोरै मानिसमा मात्र छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.