पश्चिम सेतीबाट चाइना थ्री गर्जेजलाई विदा, आयोजना विकासको खाका तयार पार्न उच्चस्तरिय समिति गठन

  २०७५ असोज २ गते २१:०५     विकासन्युज

काठमाडौं । सरकारले चाइना थ्री गर्जेज इन्टरनेशनल कर्पोरेशनलाई ७५० मेगावाटको पश्चिमसेती आयोजनाबाट विदा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीकोे अध्यक्षतामा मंगलबार बसेको लगानी बोर्डको बैठकले थ्री गर्जेजले अनिच्छा व्यक्त गरेको भन्दै उसलाई विदा गरेको हो ।

 

बोर्ड बैठकले आयोजना विकासका लागि उपर्युत्त ढाँचा तयार पारी शिफारिश गर्न जलस्रोत, ऊर्जा तथा सिंचाइ मन्त्री वर्षमान पुन, अर्थमन्त्री डा. युवराज खतिवडा र बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) महाप्रसाद अधिकारी रहेको उच्चस्तरिय समिति गठन गरेको छ ।

समितिले आयोजनाको लगानी र निर्माण खाकाका बारेमा सरकारलाई शिफारिश गर्ने बोर्डका प्रवत्ता उत्तमभत्त वाग्लेले बताए । थ्री गर्जेजले थप शर्त अघि सारेपछि नबनाउने निष्कर्षमा पुगेको ठहर गरी उसलाई आयोजनाबाट विदा गरेको हो ।

थ्री गर्जेजले आयोजनाको क्षमता घटाउन, अमेरिकी डलरमा बिजुली खरिदविक्रि सम्झौता (पीपीए), प्राविधिक, पुनर्वास तथा पुर्नस्थापना र पश्चिमसेती अझै वित्तीय रुपमा संभावना नरहेको जानकारी गराउदै थप शर्त थपेको थियो ।

यता बोर्डले डलर पीपीएको अवधि १० वर्षबाट बढाएर १२ वर्ष बनाउने, आयोजनाको क्षमता ६०० मेगावाट भन्दा कम गर्न सहमति जनाएको थियो । थ्री गर्जेजले उत्पादन हुने बिजुली प्रसारणका लागि प्रसारणलाइनको निर्माणलगायत विभिन्न मुद्धा उठाएको थियो ।
थ्री गर्जेजले आयोजनाको प्रतिफल १७ प्रतिशत मागेको र १२.५ प्रतिशत मात्र हुने देखिएको थियो ।

यसैगरी बोर्ड बैठकले काठमाडौंको दहचोक, भक्तपुर र पोखरामा अन्तर्राष्टिय स्तरको होटल बनाउन जापान क्लव इन्टरनेशनल प्राइभेट लिमिटेडलाई १४ अर्ब रुपैयाँ बढी लगानी ल्याउन अनुमति दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.