अवैधरुपमा नदी दोहन गर्नेबाट ३८ लाख असुल

  २०७५ असोज २ गते १२:३९     विकासन्युज

काठमाडौं। सिन्धुपाल्चोकका विभिन्न नदीमा अवैधरुपमा गिट्टी, बालुवा निकाल्नेबाट जरिवानास्वरुप दुई महिनामा रु ३८ लाख ५२ हजार ५० असुल गरिएको छ ।

असारदेखि भदौ महिनासम्म नदीबाट गिट्टी बालुवा निकाल्न नपाइने नियम छ । तर पनि लुकिछिपी अवैध काम गर्नेलाई प्रहरीको सहायतामा पक्राउ गरी कारवाहीको दायरामा ल्याइएको छ ।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार अहिलेसम्म ३६ टिपर, १८ मिनिट्रक, १३ स्काभेटर, दुई डोजर, १२ ट्याक्टर, एक जेसिभी नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अगाडि बढाइएको छ । त्यसैगरी एक ट्याक्टर, दुई स्काभेटर र दुई मिनि टिपर कारवाहीको क्रममा रहेको पनि प्रहरीले जानकारी दिएको छ । प्रहरी नै तस्करसँग मिलेको आरोप लाग्न थालेपछि केही प्रहरीमाथि विभागीय अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी वरिष्ठ उपरीक्षक मुकुन्द मरासिनीले जानकारी दिनुभयो । उहाँले आरोप पुष्टि भए कडा कारवाही गरिने साथै तस्करलाई सजिलै उन्मुक्ति नदिने पनि बताए।

जिल्ला समन्वय समितिको खातामा जरिवानस्वरुप उठाएको रकम जम्मा भए पनि खाता भने बन्द छ । प्रदेश सरकारले खाता सञ्चालनको लागि नयाँ कार्य विधि नबनाएकाले सो रकम सञ्चालन गर्न नसकिएको जिल्ला समन्वय समितिका संयोजक कृष्णगोपाल तामाङले जानकारी दिए। बर्खाका तीन महिना नदीजन्य पदार्थ उत्खनन गर्न नपाइने नियम भए पनि जिल्लाका सानाठूला सबैजसो नदीमा तस्करले गिट्टी, बालुवा निकाल्ने गरेका छन् । उनीहरुले नदीको धार नै परिवर्तन हुने गरी जथाभावी नदीजन्य पदार्थ निकाल्ने गरेका छन् । यसले नदी आसपासका बस्ती, विद्यालय, पुलसमेत जोखिममा परेका छन्। रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.