कर्मचारी सञ्चयकोषको ५७औँ वार्षिकोत्सव सम्पन्न, ३०० अर्बको वित्तीय स्रोत

  २०७५ भदौ ३१ गते १७:०६     विकासन्युज

काठमाडौं । कर्मचारी सञ्चयकोषले आइतबार स्थापनाको ५७औँ वार्षिकोत्सव कार्यक्रम मनाएको छ । उक्त कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. युवराज खतिवडाले कर्मचारी सञ्चयकोष सामाजिक सुरक्षण कोष समेत रहेको कारण सामाजिक सुरक्षाका कार्यक्रमलाई नयाँ ढंगले अगाडि बढाउनुपर्ने बताएका छन् ।

अर्थमन्त्री डा. खतिवडाले कोषमा रहेको लगानी योग्य रकमलाई एक वर्षभन्दा बढी अवधिको निक्षेपमा लगानी गरी पुँजी बजारको प्रमुख खेलाडीको रुपमा रहनु पर्ने बताए । उनले नेपाल सरकारको नीति अनुसार कर्मचारी आवसको लागि काम गर्न कोषलाई आग्रह गरेका छन् ।

यसैगरी सोही कार्यक्रममा बोल्दै नेपाल सरकारका राजश्व सचिव तथा कोष सञ्चालक समितिका अध्यक्ष शिशिर कुमार ढुंगानाले कोषलाई सुदृढ सामाजिक सुरक्षण संयन्त्रको रुपमा विकास गर्दै लैजाने नीति रहेको बताए । उनले कोषमा रहेको रकमको दीर्घकालिन व्यवस्थापन गर्न श्रोत व्यवस्थापन र लगानी विविधिकरणमा सुधार गर्नुपर्ने बताए । उनले कोषले निर्णय गर्दा जहिले पनि सञ्चयकर्ताहरुको बृहत्तर हितलाई हेरेर मात्र निर्णय गर्नुपर्ने बताएका छन् ।

सोहि कार्यक्रममा बोल्दै कोषका प्रशासक तुलसीप्रसाद गौतमले नेपाल सरकारले अघि सारेको एकिकृत सामाजिक सुरक्षाको अवधारणलाई सार्थक तुल्याउन कर्मचारी सञ्चयकोषलाई प्राप्त हुने भुमिका र जिम्बेबारी निर्वाह गर्न कोष प्रतिबद्ध रहेको बताएका छन् । उक्त कार्यक्रममा कोषमा २५ वर्ष र १५ वर्ष सेवा गर्ने ३ जना कर्मचारीलाई दीर्घसेवा पदकबाट सम्मान गरिएको थियो । त्यस्तै एसइइ परिक्षामा उत्कृष्ठ अंक ल्याउने कर्मचारीका सन्ततिलाई पुरस्कृत गरिएको थियो ।

कर्मचारी सञ्चयकोषमा हाल ६ लाख सञ्चयकर्ताहरुको करिव ३ सय अर्व बरावरको वित्तिय स्रोत रहेको छ । उक्त रकमबाट कोषले सञ्चयकर्ताको सामाजिक आवश्यकता पूर्ति गर्नको लागि विभिन्न सापटी सुविधाहरु प्रदान गरिरहेको छ भने मुनाफा रकमबाट कोष खडा गरी विभिन्न किसिमका सामाजिक सुरक्षणका सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

यसैगरी कोषले मुलुकको पूर्वाधार विकासको लागि विभिन्न जलविद्युत कम्पनीहरु माथिल्लो तामाकोशी, चिलिमे जलविद्युत कम्पनीद्धारा प्रबर्धित विभिन्न जलविद्युत आयोजनामा ऋण लगानी गरिरहेको छ । नेपाल बायु सेवा निगमलाई विमान खरिद गर्न ऋण लगानी गरेको छ यस्तै कोषले सञ्चयकर्ताको बहुमत शेयर स्वामित्व रहने गरी ६८८ मेगावाटको बेतन कर्णाली जलविद्युत आयोजना निर्माणको प्रारम्भिक प्रकृयाको शुरुवात गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.