नेपाल टेलिकमले इन्टरनेटको मूल्य घटायो, प्रतिएमबीपीएस २ हजार ७०० रुपैयाँ

  २०७५ भदौ ३१ गते १३:०४     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमले असोज १ गतेदेखि इन्टरनेट लिज सेवाको महसुल दर घटाएको छ । बजार अवस्था र सेवाग्राहीको मागलाई ध्यानमा राखी महसुल दरलाई कम गरी थप आकर्षक तथा समसामयिक बनाइएको टेलिकमले जनाएको छ ।

कम्पनीको अनुसार अनुसार ५१२ केबीपीएसको महसुल दरप्रति महिना १ हजार ६ सय रुपैयाँ कायम गरिएको छ । त्यसैगरी १ देखि १० एमबीपीएसको प्रति एमबीपीएस २ हजार ७ सय, ११ देखि १०० एमबीपीएसको प्रति एमबीपीएस २ हजार ४ सय र १०० एमबीपीएस भन्दा माथिको महसुल दर प्रति एमबीपीएस २ हजार १ सय रुपैयाँ तोकिएको छ । उल्लिखित दरमा थप कर लाग्ने छ ।

साथै कर्पोरेट ग्राहकहरुले नेपाल टेलिकमको आईपी नेटवर्क प्रयोग गरी आफ्नो मल्टिपल प्वाइन्टहरु कनेक्ट गर्नको लागि इन्टरनेट लिज सेवाको उपयोग गर्न सक्ने कम्पनीले जनाएको छ ।

पहिले न्यूनतम २५६ केबीपीएस ब्यान्डविथको इन्टरनेट लिज लाइन उपलब्ध गराइएकोमा अब न्यूनतम ५१२ केबीपीएस ब्यान्डविथको लिज लाइन उपलब्ध गराइने छ । हाल २५६ केबीपीएस ब्यान्डविथको लिज लाइन प्रयोग गरिरहेका ग्राहकहरुको समयावधि सकिएपछि स्वचालित रुपमा ५१२ केबीपीएसमा अपग्रेड हुनेछ र नयाँ महसुल दर पनि सोही मितिदेखि लागू हुने कम्पनीले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

त्यसैगरी असोज १ देखि आगामी मंसिर २९ गते सम्म ९० दिन वाइम्याक्स सेवाको प्रमोसनल अफर अन्तर्गत अनलिमिटेड डाटा प्याकेज लगायत विभिन्न प्याकेज उपलब्ध गराइने भएको छ । यस अन्तर्गत अनलिमिटेड डाटामा थप कर लाग्ने छैन भने भोल्युम वेस्ड प्याकेजमा थप कर लाग्ने छ ।

सो अनुसार ब्यक्तिगत प्रयोगकर्ताहरुलाई ५१२ केबीपीएस स्पिडको अनलिमिटेड डाटा भोल्युम १५ सय रुपैयाँमा उपलब्ध गराइने छ । सो प्याकेज चलाउने समयावधि एक महिना हुनेछ । गाउँपालिकाहरुका लागि यही क्षमताको प्याकेज १ हजार रुपैयाँमा उपलब्ध गराइने छ ।

त्यसैगरी २ एमबीपीएस गति सम्मको वाइम्याक्सको विभिन्न भोल्युम बेस्ड प्याकेज उपलब्ध गराइने छ । यस अनुसार १५ दिनका लागि ५ सय रुपैयाँमा १० जीबी, १ महिनाका लागि १ हजार रुपैयाँमा २० जीबी, ३ महिनाका लागि ३ हजार रुपैयाँमा ७० जीबी र ६ महिनाका लागि ६ हजार रुपैयाँमा १७५ जीबी भोल्युम उपलब्ध गराइने छ ।

१ बर्षका लागि १२ हजार रुपैयाँमा ५०० जीबी र २० हजार रुपैयाँमा १ हजार जीबी प्याकेज तथा १ वर्षे कर्पोरेट प्याकको रुपमा ३५ हजार रुपैयाँमा २३०० जीबी प्याकेज उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.