कात्तिकदेखि ६ लाख संचयकर्ताको स्वास्थ्य बीमा, १० लाखसम्म उपचार खर्च पाउने

  २०७५ भदौ २९ गते १३:००     विकासन्युज

काठमाडौं । कर्मचारी संचय कोषले आउदो कात्तिकदेखि ६ लाख संचयकर्ताको १० लाख रुपैयाँसम्मको स्वास्थ्य बीमा गरिदिने भएको छ ।
कोषले आफनो आम्दानीबाट संचयकर्ताको स्वास्थ्य बीमा गर्न लागेको हो । स्वास्थ्य बीमा योजना कात्तिकदेखि कार्यान्वयनमा आउने कोषका प्रशासक तुल्सी गौतमले बताए ।

कोषको आउदो आइतबार हुने ५७ औं वार्षिकोत्सवमा संचयकर्ताको स्वास्थ्य बीमा योजना घोषणा गर्ने भएको छ । गौतमका अनुसार सरकार स्वामित्वको राष्ट्रिय बीमा कम्पनी लिमिटेडमार्फत स्वास्थ्य बीमा कार्यान्वयनमा हुने छ । “प्राविधिक रुपमा राष्ट्रिय बीमामार्फत गर्न सहज हने देखेका छौ । संभवत त्यही संस्थामा बीमा हुनेछ” उनले भने ।

कोषले प्रतिसंचयकर्ता ४५० रुपैयाँ बीमा शुल्क तिर्ने सहमति राष्ट्रिय बीमा कम्पनीसंग गरेको छ । यसबाट ६ लाख संचयकर्तालाई २७ करोड रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ । राष्ट्रिय बीमाले बीमा शुल्क यो भन्दा कम गर्न सहमति जनाएको छ । बीमा शुल्कको दायित्व संचयकर्तालाई नपर्न गरी स्वास्थ्य बीमा हुने गौतमले सुनाए ।

संचयकर्ताको मृत्युपछि सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयनमा रहेकोमा अब वहाल रहेको अवस्थामा संचयकर्तालाई ठुलो रोग लागेमा १० लाख रुपैयाँसम्म उपचार खर्च र १ लाख रुपैयाँ औषधि उपचार खर्च उपलब्ध हुनेछ । यो वर्ष संचयकर्तालाई बाँडेर बचत हुने नाफा रकमबाट बीमा गर्ने र अर्को वर्षदेखि विशेष व्यवस्था गर्ने तयारी कोषको छ ।

“हामीसंग अहिले १ अर्ब ६० करोड रुपैयाँको सामाजिक सुरक्षा कोष छ । त्यो कोषले वार्षिक १५ करोड रुपैयाँ कमाउछ” उनले भने “वार्षिक १० देखि १२ करोड रुपैयाँ व्यवस्थापन गर्न समस्या छैन ।” केही वर्षपछि दीगो रुपमा चल्ने गरी कोषको दायित्वबाट वहन नगर्नु पर्ने गरी काम अघि बढाउने योजना रहेको गौतमले सुनाए ।

कोषले अहिले पनि संचयकर्तालाई औषधी उपचार खर्च दिदै आएको बताउदै उनले अब बीमाबाट ब्योहर्ने किसिमले आउन लागेको स्पष्टपारे । दुर्घटना क्षतिपुर्ति, औषधी उपचार र प्रसुति उपचारका लागि कोषले पैसा दिदै आएको छ । यता सरकारले पनि २ लाख रूपैयाँसम्मकाे बीमा गरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.