एक लिटर नेपाली लुब्रिकेन्ट किन्दा २०० रुपैयाँ देशलाई फाइदा हुन्छ-भोलेश्वर दुलाल

  २०७५ भदौ २९ गते १०:१९     विकासन्युज

 

भोलेश्वर दुलाल, प्रबन्ध निर्देशक, पूर्वाञ्चल ल्युव आयल

भोलेश्वर दुलाल पूर्वी नेपालमा सफल उद्यमी हुन् । उनले स्थापना गरेका पूर्वाञ्चल ल्युव आयल, पूर्वाञ्चल पोलिमयर उद्योगका साथै विभिन्न ब्राण्डका लुब्रिकेन्ट, फेविकल, पेन्ट्स उत्पादन गर्दै आएको छ । उनको ट्रेडिङ कम्पनी सत्कार मेसिनरी कन्सर्नले किसानहरुलाई आवश्यक मेसिनरी सामानको व्यापार गर्छ । कोरियामा बनेको जेडआईसी लुब्रिकेन्सदेखि गाडीका स्पेयर पाट्स, टायर आयातको व्यापारमा पनि उनी जम्दै गएका छन् । उद्योग, व्यापारका साथै उनी सामाजिक काममा पनि सक्रिय छन् । दुलाल नेपाल जेसिसको पूर्व राष्ट्रिय अध्यक्ष समेत हुन् । प्रस्तुत छः उद्योग र व्यापारको अवस्थाबारे उनीसँग गरिएको विकास वहस ।

पूर्वाञ्चल ल्युव आयल उद्योगको अवस्था कस्तो छ ?

हामीले विजनेश शुरु गरेको २६ वर्ष भयो । पूर्वाञ्चल ल्युव आयल उद्योग सञ्चालनमा आएको १९ वर्ष भयो । पूर्वाञ्चल ल्युव आयलले पीएलओ, स्टार र मेघा ब्राण्डका लुब्रिकेन्ट उत्पादन गर्दै आएको छ । पूर्वाञ्चल पोलिमयर उद्योगले फेविकल उत्पादन गर्छ । पूर्वाञ्चल ल्युव आयल हाम्रो धेरै मिहेनतमा स्थापना भएको हो । जतिबेला गल्फ लुब्रिकेन्टस् मात्र हुन्थ्यो, त्यतिबेला हामीले धेरै मिहेनत गरेर पूर्वाञ्चल ल्युव आयल स्थापना गरेका हौ । शुरुमा पीएलओ ब्राण्ड लुब्रिकेन्ट लिएर बजारमा जाँदा नेपाली ब्राण्ड बेच्दैनौ भन्थे डिलरहरुले । तर आज उनीहरुलाइ नेपाली ब्राण्ड नभई नहुने अवस्था आएको छ ।

स्थापनादेखि नै हामी कहिल्यै पनि आत्तिएनौ, मात्तिएनौं । अरु ब्राण्डभन्दा नेपाली ब्राण्डको मूल्य केही कम नै राख्यौं । गुणस्तरमा हामीले सम्झौता गरेनौं । पीएलओले नेपाल गुणस्तर चिन्ह पाएको छ । गुणस्तरीय व्यवस्थापन प्रणाली अन्तराष्ट्रिय स्तरको बनाएर आईएसओ २००१ लिने हाम्रो तयारी छ ।

नेपाली ब्राण्डमा हामी नम्बर वान भएका छौं । वर्षमा १०० करोड रुपैयाँ बराबरको लुब्रिकेन्ट बेच्छौं । हामी ४/५ प्रकारको ग्रिज बनाउँछौं । हाइड्रोलिक आयल, ट्रास्फर्मर आयल, स्पेन्डल आयल, कटिङ आयल, ब्रेक आयल, गेर आयल लगायत धेरै प्रकारका आयल बनाउँछौं । त्यस्तै पेट्रोल इन्जिन आयल, डिजेल इन्जिन आयल बनाउँछौं ।  विभिन्न नामका ८५ प्रकारका लुब्रिकेन्ट नेपालमै उत्पादन गर्छौ ।

एउटै कम्पनीले पीएलओ, मेगा, स्टार जस्ता फरक नामका ब्राण्ड उत्पादन गर्नुको कारण के हो ?

हामीले एक ठाउँमा एउटा डिलर दिएपछि अर्को डिलर दिदैनौ । पीएलओ माग र बिक्री बढेपछि डिलरसिपको माग पनि एकदमै बढ्यो । नेटवर्क विस्तारले बजार विस्तारमा सहयोग नै गर्छ । हामीले नेटवर्क विस्तार र उत्पादनमा पनि विविधिकरण गर्ने योजनासहित हामीले स्टार ब्राण्ड बनायौ । आज स्टार ब्राण्डको लुब्रिकेन्ट नै वार्षिक २८ करोड रूपैयाँको बिक्री छ । त्यसपछि फेरि हाइग्रेडमा मेगा लुब्रिकेन्ट उत्पादन थालेका छौं । यो प्रडक्ट देशभर बिक्री शुरु गरेका छौं । यो ब्राण्ड किन्दै भन्न परेको छैन । बजारमा यसकाे माग राम्रो छ ।

उत्पादन वृद्धिको योजना के बनाउनु भएकाे छ ?

१९ वर्ष अघि जडान गरिएका मेसिनहरु पुराना भए । प्रविधिमा पनि धेरै परिवर्तन आयो । त्यसैले हामीले हालै नयाँ मेसिन राखेको छौं । पहिलाको भन्दा १० गुणा बढी उत्पादन क्षमता भएको मेसिनहरु जडान गरेका छौं । मेसिन खरिदका लागि मात्र ७ करोड रूपैयाँ लगानी गरेका छौं । अटोमेटिक फिलिङ प्लान्ट, कुकिङ प्लान्ट, व्लेण्डिङ प्लान्ट सहित फूल अटोमेटिक प्लान्ट लगाईसकेको छौं । वर्षमा एक लाख किलोलिटर लुब्रिकेन्ट उत्पादन गर्न सक्छौं ।

अब वार्षिक ५०० करोड मूल्य बराबरको लुब्रिकेन्ट माग हुँदा पनि उत्पादन गर्न सकिन्छ । नयाँ प्लान्ट सञ्चालन गरिसकेका छौं । साथै, गुणस्तरमा विशेष ध्यान दिनको लागि क्यास्ट्रोलमा २८ वर्षसम्म काम गरेका अनुभवी केमेस्ट्री डा आँचल कान्ति मण्डललाई नियुक्त गरेका छौं । उनले काम थालेको पनि एक वर्ष भईसकेको छ ।

लुब्रिकेन्ट बजारमा पीएलओको हिस्सा कति हो ?

मूल्यको आधारमा नेपालमा १४ अर्ब रुपैयाँ बराबरको लुब्रिकेन्ट खपत हुन्छ । कुल बजारमा नेपाली उत्पादनको हिस्सा २८ प्रतिशत छ । नेपाली प्रडक्टको बजारलाई १०० प्रतिशत आधार मान्ने हो भने पीएलओको बजार ३२ प्रतिशत छ । सबै लुब्रिकेन्टको बजारमा पीएलओको हिस्सा ८ प्रतिशत रहेको छ ।

नेपाली उत्पादन र विदेशी उत्पादनबीच प्रतिस्पर्धा कस्तो छ ?

मूल्य, गुणस्तर, बजारमा सहज उपलब्धता लगायत सबै हिसावले पीएलओ सबैभन्दा राम्रो ब्राण्ड हो । तर नेपालमा उपभोक्ताले आफ्नो छनोटमा लुब्रिकेन्ट मोटरमा हाल्न पाएका छैनन् । सिप्रदीबाट गाडी किनेकाले म्याक नै हाल्नुपर्ने बाध्यता सिर्जना गरिएको छ । टाटाको गाडीमा म्याक नै हाल्नुपर्छ, म्याक नहाले गाडीको इन्जिनमा हामी ग्यारेन्टी लिदैनौ भनेर उपभोक्तालाई बल्याकमेलिङ गरिराखेको छ । बजार वाईक बेच्दै आएको गोल्छाले सर्भो लुब्रिकेन्ट ल्याएर त्यसै गरेको छ । सर्भो नहाले मोटरसाईकलमा ग्यारेन्टी हुँदैन भनिरहेको छ ।

त्यस्तै, होण्डाले होण्डा आयल ल्याएर त्यसरी नै उपभोक्तालाई किन्न वाध्य बनाएको छ । गाडी विक्रेतालाई यसरी उपभोक्तालाई वाध्यतामा राखेर लुब्रिकेन्ट बेचिरहेका छन् । यो गलत अभ्यास हो । यसले उपभोक्ताको मौलिक अधिकार खोसेको छ । यस विषयमा हामीले सरकारको ध्यानाकर्षण गराएका छौं । सरकारले नयाँ नियमावली ल्याएर यस्तो गलत काम रोक्छौं भनेको छ । सरकारले यस्तो नियम ल्याएर लुब्रिकेन्टको ग्रेडको आधारमा प्रयोग गर्न पाउने अधिकारी उपभोक्तालाई दिने हो भने नेपाली प्रडक्टको खपत धेरै बढ्छ । अहिले पनि विदेशी लुब्रिकेन्ट र नेपाली लुब्रिकेन्टको एमआरपी उस्तै हुन्छ । तर विदेशी ब्राण्ड बेच्नेले एमआरपीमा नै बेचिरहेका छन् । तर डिलरलाई ३० प्रतिशतसम्म छुट दिएका हुन्छौं । डिलरले रिटेलरलाई ३० प्रतिशत छुट दिएको हुन्छ । २० प्रतिशतसम्म छुट दिएका छौं । नेपाली ब्राण्ड बिक्री हुँदा तीन तहमा नेपालीले फाइदा लिएको हुन्छन् । यसबाट धेरै नेपालीले राम्रो आम्दानी पनि गरेको छन् । रोजगारीको अवसर सिर्जना गरेको छन् । प्रत्यक्ष अप्रत्यक्ष रुपमा सरकारलाई ठूलो मात्रामा कर आम्दानी भएको छ । नेपाली उत्पादन बिक्री हुँदा प्रतिकेजीमा १०० रुपैयाँ विदेश जान्छ भने विदेशी ब्राण्ड बिक्री गर्दा प्रतिकेजी ३०० रुपैयाँ विदेश जान्छ । त्यसले न रोजगारी सिर्जना गरेको छ न नेपालीलाई राम्रो फाइदा दिएको छ । उपभोक्ताले एक लिटर नेपाली लुब्रिकेन्ट किन्दा २०० रुपैयाँ देशलाई फाइदा हुन्छ ।

यस्तो जानकारी भएका उपभोक्ताले नेपाली लुब्रिकेन्ट प्रयोग गर्न सक्छन् ?

विभिन्न कम्पनीहरुले ५ वर्ष, ८ वर्ष वा १० वर्ष वारेन्टी गरेर सवारी बेचेका हुन्छन् । त्यो वारेन्टी अवधि भर गाडी बेच्ने कम्पनीले नै बेच्दै आएको लुब्रिकेन्ट मात्र किन्न उपभोक्तालाई वाध्य पारिएको छ । वारेन्टी अवधि सकिएपछि उपभोक्ता आफ्नो रोजाई अनुसारको वर्कशपमा गएर सर्भिस गराउन थाल्छन् । त्यतिबेला उनीहरुले आफ्नो रोजाई अनुसारको लुब्रिकेन्ट प्रयोग गर्न पाउँछन् ।

हामीले बजारमा भएको यस्तो ठगी रोक्न सरकारसँग लविङ गर्दै आएका छौं । हालै अर्थमन्त्री युवराज खतिवडासँग पनि यस विषयमा गम्भिर छलफल भयो । उहाँले नेपाली उद्योगलाई प्रवद्र्धन गर्ने, नेपाली उत्पादनलाई प्रयोग गर्न प्रोत्साहित गर्ने र उपभोक्तालाई खरिदमा छनौटको अधिकार सुरक्षीत बनाउने गरी काम गर्छु भन्नु भएको छ । रातो कितावमा नेपाली उत्पादन १० प्रतिशत महँगो भए पनि नेपाली नै प्रयोग गर्ने भनिएको छ । त्यो कार्यान्वय गर्न नियमावली जारी भएको छैन । अर्थमन्त्रीले छिट्टै नियमावली बनाएर जारी गर्छु भन्नु भएको छ ।

नेपाली उत्पादन सरकारी कार्यालयले नकिन्ने समस्या छ । नेपाली लुब्रिकेन्ट प्रतिलिटर ४०० रुपैयाँमा किन्न पाइन्छ । तर सरकारी कर्मचारीले प्रतिलिटर ७०० रुपैयाँ पर्ने विदेशी लुब्रिकेन्ट किन्छन् । किनकी उनीहरुले त्यसमा कमिशन पाएछन् । सरकारी कर्मचारीहरुले कतिसम्म बद्मासी गरिरहेका छन् भने १००० लिटरको विल बनाउने, ५०० लिटर किनेको छ । १००० लिटरको विल बनाएर लिन्छन् । एकातिर कमिशन पाउँछन् अर्कोतिर खरिद बिल बढीको बनाएर दोहोरा लाभ लिन्छन् । विदेशी कम्पनीसँग एमआरपीमा किन्छन् । नेपाली कम्पनीले एमआरपीमा २० प्रतिशत छुट दिदाँ पनि किन्दैनन् ।

यस्तो कमिशन खेलको हामीले खुलेर विरोध गरेको छौं । मन्त्रीलाई, तीनै तहका जनप्रतिनिधिहरुलाई कमिशनको खेल, अटोमोवाईल व्यवसायीले उपभोक्तालाई ठगेको कुरा राखेको छौं । खासगरी हामीले अर्थमन्त्री युवराज खतिवडाबाट यो विषयमा बढी सहयोगको अपेक्षा गरेका छौं ।

नेपाली लुबिकेन्टले प्रयोग गर्ने मुलभूत कच्चा पदार्थ विदेशबाट नै आयात हुन्छ । तयारी बस्तु उपत्पादन हुन्दा कति प्रतिशत उपयोगिता बढ्छ ?

न्यूनतम १०० देखि १५० प्रतिशतसम्म भ्यालु एड भएको हुन्छ । सरकारले १० प्रतिशत मात्र भ्यालु एड भयो भने पनि उद्योग मान्ने भनेको छ । बेस आयल मात्र आयात हुने हो । बट्टा नेपालमा बन्छ । कार्टुन नेपालमा बन्छ । स्टीकर नेपालमा बन्छ । व्लेण्डिङ यहि हुन्छ । नेपाली श्रमिकले काम गर्छन् । नेपालको बिजुली खपत हुन्छ ।

पीएलओ कै कुरा गर्दा २०० भन्दा बढी कर्मचारीको तलब पाउँछन् । देशभरका डिलर, रिटेलर, तिनका कर्मचारी, उनीहरुको परिवार पालिएका छन् । सरकारले कर पाउँछ । कम्पनीले नाफा लिन्छौं । मूल्यको हिसावले १५० प्रतिशतसम्म भ्यालु एड हुन्छ र पनि विदेशी लुब्रिकेन्ट भन्दा सस्तो मूल्यमा उपभोक्ताले नेपाली लुब्रिकेन्ट प्रयोग गर्न पाएका छन् ।

पीएलओ लुब्रिकेन्ट निर्यातकाे तयारी भएकाे छ  ?

हामी तत्काल नजिकका देशहरुमा निर्यातको तयारीमा छौं । बंगलादेश, पाकिस्तान, बुटान, श्रीलंका, माल्दिभ्स, वर्मा लगायत १० वटा देशहरुमा नियातको तयारी गरिरहेका छौं । धेरै ठाउँमा वितरक तयार पनि गरेका छौं । हामीले ती देशहरुमा विभिन्न तहमा सर्भे गरेको छौं । हाम्रो प्रतिस्पर्धी क्षमताको विश्लेषण गरेको छौं ।

नेपाली लुब्रिकेन्ट विदेशमा प्रतिस्पर्धी हुनुको आधार के के हुन् ?

विभिन्न ६३ देशमा बनेका लुब्रिकेन्ट नेपालमा बिक्री भएका छन् भने नेपाली ब्राण्ड विदेशमा नजाने कुरै भएन । विदेशी लुब्रिकेन्ट भन्दा नेपाली लुब्रिकेन्टको मूल्य २० प्रतिशत सस्तो छ । नेपाली श्रमिक सस्तो छ । नेपालमा बिजुली सस्तो छ । यसले हाम्रो उत्पादन लागत कम हुन्छ । सरकारले पनि निर्यातका लागि इन्सेन्टिभ दिएको छ । हामीलाई बढी मूल्य तिर्नु पर्ने भनेको ढुवानी भाडामा मात्र हो । भाडा कम गर्नको लागि हामीले बेस आयल ल्याउने कन्टेनरबाट नै तयारी लुब्रिकेन्ट निर्यात गर्ने तयारी गरेका छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.