काठमाडौं-पटना-बोधगया सिधा यातायात सुचारू, अनलाइनबाटै टिकट काट्न सकिने

  २०७५ भदौ २८ गते १९:०२     विकासन्युज

काठमाडौं । काठमाडौदेखि भारतको बिहार राज्यका मोतिहारी, मुजफ्फरपुर, पटना, बोधगयाका लागि सिधा यातायात सेवा सुचारू भएको छ । बिहार राज्यपथ परिवहन निगम र स्वयम्भू मञ्जुश्री यातायात प्रा.लि.को सहकार्यमा काठमाडौंदेखि पटना बोधगयासम्म सेवा सञ्चालन भएको हो ।

बिहीबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र नेपालका लागि भारतीय राजदुत मञ्जीव सिंह पुरीले संयुक्त रूपमा उक्त सेवाको शुभारम्भ गरेका छन् । यसैगरी जनकपुरदेखि पटनाका लागि ३१ गते आइतबारदेखि सिधा बस सेवा शुरू हुनेछ । सोही कार्यक्रमको उद्घाटन प्रदेश नं.२ का मूख्यमन्त्री लालबाबु राउतले गर्ने कार्यक्रम रहेको छ ।

स्वयम्भू मञ्जुश्री यातायातले भारतका नयाँ क्षेत्रमा यातायात सञ्चालन गरेसँगै अनलाइनबाट बस टिकट काट्न सकिने सेवाको व्यवस्था गरेका छन् । अबदेखि यात्रीहरूले www.manjushreeyatayat.com.np मार्फत् अनलाइन टिकट काट्न सक्नेछन् । यसैगरी बस सेवाको वेबसाइट बससेवा डटकम (www.bussewa.com) तथा बस सेवाको मोबाईल एप्स, इसेवाको वेबसाइट तथा मोबाईल एप्लिकेशनबाट समेत टिकट काट्न सकिनेछ ।

इसेवा एकाउन्ट नभएका यात्रुले आफ्नो टोल छिमेकमा रहेका इसेवाकाजोन तथा पोइन्टबाट टिकट काट्न सक्नेछन् । साथै भविष्यमा आइएमइ पे, इप्रभु तथा एनआइसी एसिया बैंकमार्फत् समेत टिकट काट्न सकिनेछ ।

राजधानीमा आयोजित बस उद्घाटन कार्यक्रममा बोल्दै भौतिक पूर्वाधार तथा यातयातमन्त्री रघुवीर महासेठले दुई देशका बीचमा यातायात सञ्चालन हुँदा दुई मुलुकका जनतालाई आवतजावतमा सहजता हुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.