आर्थिक पत्रकारलाई जीवन बीमा तालिम

  २०७५ भदौ २५ गते १५:२४     विकासन्युज

काठमाडौं । इकोनोमिक मिडिया सोसाइटी नेपाल र नेशनल एकेडेमी फर फाइनान्सियल सर्भिसेज(नाफ्स)ले जीवन बीमा सम्बन्धि एक दिने अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक पत्रकारहरुलाई जीवन बीमा सम्बन्धि समाचार सम्प्रेषण गर्दा ध्यान दिनुपर्ने बिषयलाई लक्षित गरेर उक्त दुई संस्थाले संयुक्त रुपमा सो तालिमको आयोजना गरेको हो ।

यस्ता समस्या समाचारमा न्युनीकरण गराउने उदेश्यले उक्त तालिमको आयोजना गरिएको नाफ्सका अध्यक्ष रमेशकुमार भट्टराईले बताएका छन् । उनले जीवन बीमा सम्बन्धि समाचार सम्प्रेशन गर्दा पत्रकारिताको भूमिकाबारे प्रशिक्षण दिएका छन् । अध्यक्ष भट्टराईले बीमा क्षेत्रमा काम गर्ने पत्रकारहरुलाई बीमासँग जोडिएका बिषयमा अध्ययन गर्न सुझाब दिए । बैंक भन्दा बीमासँग जोडिएका समाचार लेख्न कठिन हुने बताउँदै उनले प्राविधिक बिषय बुझेर मात्र समाचार लेख्न सुझाव दिएका छन् । अन्यथा आम पाठक तथा लगानीकर्तामा गलत सन्देश जाने उनले बताए ।

त्यस्तै कार्यक्रममा नाफ्सका संचालक कमल पन्थीले जीबन बीमा व्यवसायका बारेमा पत्रकारहरुले जान्नुपर्ने प्राबिधिक बिषयबारे प्रस्तुति दिए । नेपालमा बीमा व्यवसायको अवस्थालाई विश्व बजारसँग तुलना गर्दै पन्थीले बीमा व्यवसायको अवसर र चुनौतीबारे बताएका छन् ।

त्यसैगरी, नाफ्सका संचालक रामेश्वर श्रेष्ठले बीमा कम्पनीहरुले सार्वजनिक गर्ने वित्तीय विवरण विश्लेषण गर्ने तरिकाबारे प्रस्तुति दिए । उनले बीमा कम्पनीले सार्वजनिक गर्ने वित्तीय विवरणमा उल्लेख हुने विभिन्न शिर्षकहरु र त्यसको प्रभाव तथा सूचकहरुको गणना विधीबारे जानकारी दिएका छन् ।

कार्यक्रममा इम्सनका अध्यक्ष रामकृष्ण पौडेलले यस किसिमका तालिम तथा अन्तरकृया कार्यक्रमले आर्थिक पत्रकारहरुलाई बीमा व्यवसायको समाचार सम्प्रेषण गर्न सघाउने धारणा राखेका थिए । उनले सम्बन्धित क्षेत्रका विज्ञहरुबाट आयोजना हुने यस किसिमका अन्तरकृया कार्यक्रमले आर्थिक क्षेत्रमा काम गर्ने पत्रकारहरुको लेखन क्षमता अझ बढाउने र सम्बन्धित क्षेत्रबारे सहि समाचार सम्प्रेषण हुने बताएका छन् ।

त्यस्तै, इम्सनका सदस्य परमेश्वर अधिकारीले यस अन्तरक्रियाबाट जीवन बीमाको प्राविधिक र आर्थिक विषयवस्तुका बारेमा अनलाइन क्षेत्रमा कार्यरत पत्रकारहरूका लागि निकै फलदायी रहेको बताएका छन् । कार्यक्रममा इम्सनमा आबद्ध बिकास न्युज, मेरोलगानी, बिजपाटी डटकम, बिजशाला, कर्पोरेट नेपाल, आर्थिक न्युज, बिजखबर लगायतका आर्थिक मिडियाहरुमा कार्यरत २० जना आर्थिक पत्रकारहरुको सहभागीता थियो ।

आर्थिक विषयमा केन्द्रीत भई सञ्चालन हुँदै आएका ‘आर्थिक मिडिया’ हरुको साझा हितका विषयमा काम गर्ने लक्ष्यसहित ‘इकोनोमिक मिडिया सोसाईटी नेपाल’ले काम गर्दै आएको छ । त्यस्तै, बैंक, बीमा, पूँजी बजार, सहकारी क्षेत्रका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ नेशनल एकेडेमी फर फाइनान्सियल सर्भिसेज् नाफ्सले सक्रियता बढाउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.