वार्षिक ३५ प्रतिशतले व्यवसाय वृद्धि गर्न र यसै वर्ष २० प्रतिशत बोनस सेयर दिन सकिन्छ- रमेशराज अर्याल

  २०७५ भदौ १४ गते १६:३१     विकासन्युज

रमेशराज अर्याल, प्रमुख कार्यकारी अधिकृत-एनसीसी बैंक लिमिटेड

नेपाल राष्ट्र बैंकका अनुसार २८ वटा वाणिज्य बैंकमध्ये नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंक लिमिटेडले चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्याउन सकिरहेको छैन । हाल बैंकको पुँजी ४ अर्ब ६७ करोड रुपैयाँ मात्र छ । पुँजी वृद्धि गर्न बैंकले ५० प्रतिशत हकप्रद सेयर निष्काशन गरेको छ । हकप्रद सेयर निष्काशनपछि पनि बैंकको पुँजी ७ अर्ब १ करोड रुपैयाँ हुन्छ । बैंकले कसरी पुँजी ८ अर्ब बनाउँदैछ ? यस बैंकका प्रमोटरहरु किन आफ्नै बैंक विरुद्ध मुद्दामामिला गरिरहेका छन् ? यस्तो झगडिया बैंकको सेयरमा लगानीकर्ताले किन पैसा हाल्ने ? यो बैंकको सेयर मूल्य किन निरन्तर घटिरहेको छ ? प्रस्तुत छ बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालसँग विकासन्युजका प्रधान सम्पादक रामकृष्ण पौडेलले यिनै विषयमा केन्द्रीत भएर गरिएको विकास वहस यस पटक ।

बैंकले हकप्रद सेयर निष्काशन खुला गरेको बेलामा लगानीकर्तालाई तपाई के अपिल गर्न चाहानुहुन्छ ?

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार चुक्ता पुँजी ८ अर्ब पुर्याउने क्रममा २ बराबर १ अनुपातमा हकप्रद निष्काशन गरेका छौं । एनसीसी बैंकको वित्तीय अवस्था राम्रो छ । ६३ अर्ब निक्षेप परिचालन गरेका छौं । करिव ५५ अर्ब कर्जा प्रवाह गरेका छौं । कर्जा नोक्सानीको लागि आवश्यक सबै प्रोभिजन गरेपछि पनि बैंकले गत वर्ष १ अर्ब ७ करोड नाफा गरेको छ । बैंकको खराव कर्जा ३ प्रतिशतमा झरेको छ ।

सेयर स्वाप रेसियोबाट ९९ करोड रुपैयाँ जगेडा कोषमा जम्मा भएको छ । त्यो हामीले बोनस सेयरको रुपमा वितरण गर्न सक्छौं । आर्थिक वर्ष २०७४/७५ को नाफाबाट पनि सेयरधनीलाई लाभांश दिने अवस्थामा छौं । आजको दिनमा एनसीसी बैंकको हकप्रद सेयरमा लगानी गर्दा राम्रो प्रतिफल पाइन्छ । खराव कर्जाको लागि पर्याप्त प्रोभिजन गरिएको छ । खराबकर्जा असुल हुँदै जाँदा त्यो रकम बैंकको नाफामा जान्छ । बैंकको पुँजी ८ अर्ब पुगेपछि राष्ट्र बैंकले तोकेका सबै मापदण्ड पुरा हुन्छन् । बैंकले निर्धक्क भई कुनै अवरोध विना आफ्नो व्यवसाय अगाडि बढाउन सक्छ । बैंकभित्र सुशासन राम्रो छ । कर्पोरेट गभर्नेन्स राम्रो छ । अब बैंक राम्रोसँग अगाडि बढ्छ । तपाईहरुको लगानी सुरक्षित हुन्छ । बैंकले प्रतिफल पनि राम्रो दिन्छ । तसर्थ सम्पूर्ण शेयरधनी महानुभावहरुलाई समयमै हकप्रद शेयरको आवेदन बुझाउन पनि अनुरोध गर्दछु ।

पुँजी वृद्धि गर्न किन ढिला भयो ?

२०७४ असार मसान्तसम्ममा बैंकहरुको चुक्ता पुँजी ८ अर्ब हुनुपर्छ भन्ने राष्ट्र बैंकको निर्देशन थियो शुरुमा । सोही अनुसार एनसीसी बैंकमा ४ वटा विकास बैंक मर्ज भएको हो । २०७३ पुस १७ गते उक्त मर्ज सम्पन्न भयो । मर्जपछि चुक्ता पुँजी २ अर्ब ३३ करोडबाट ४ अर्ब ६७ करोड रुपैयाँ भयो । अझै ३ अर्ब ३३ करोड पुँजी कम भयो । त्यसपछि हामीले ५० प्रतिशत हकप्रद सेयर निकाशन गरेर २ अर्ब ३३ करोड पुँजी थप्ने निर्णय गर्यौं । हकप्रद सेयर जारीपछि चुक्ता पुँजी ७ अर्ब १ करोड पुग्ने र मर्ज गर्दा स्वाप रेसियोको कारण जगेडा कोषमा जम्मा भएको रकमबाट बोनस सेयर वितरण गरेर पुँजी कृत गर्दा ८ अर्ब ७ करोड रुपैयाँ पुर्याउने योजना बनायौं ।

यी सबै काम २०७४ असार मसान्तभित्र गर्ने योजना थियो । हकप्रद सेयर निष्काशन गर्नको लागि २०७४ साल बैशाखमा नै विशेष साधारणसभा बोलायौ । साधारणसभा रोक्न विभिन्न निकायमा परेका उजुरी र सरकारी कार्यलयहरुबाट आएको निर्देशनले बैशाखमा बोलाईएको साधारणसभा रोक्नु पर्यो । हामीले २०७४ भदौं १६ गते १९ औं साधारणसभा गर्यौ । त्यस साधारणसभाले २ बराबर १ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पास गर्यो ।

२०७४ मंसिरमा सेयर निष्काशन गर्नको लागि नेपाल धितोपत्र बोर्डमा विवरणपत्र पेश गर्यौं । बोर्डबाट स्वीकृति पाउन लामो समय लाग्यो । बैंकका केही संस्थापक सेयरधनीहरुले अदालतमा मुद्दा हाले । बैंकले उक्त मुद्दाको प्रतिक्षा गर्यो र अदालतको फैसला बैंकको पक्षमा आयो । त्यसपछि पनि कहिले कम्पनीकाे रजिष्ट्रारको कार्यालयमा, कहिले धितोपत्र बोर्डमा उजुरी दिने काम भए । ती सबै विवादित विषयहरुलाई नियामक निकायहरुबाट सफाइ लिदै २०७५ असार २२ गते मात्र हामीले धितोपत्र बोर्डबाट हकप्रद सेयर निस्काशन गर्न अनुमति पायौं ।

त्यसपछि हामीले पहिलो चरणमा बैंकका आधारभूत सेयरधनीलाई हकप्रद सेयर निष्काशन गर्न अनुमति दियौं । साउन १५ गते सर्बसाधारण लगानीकर्तालाई हकप्रद सेयरमा लगानी गर्न आह्वान पत्र प्रकाशित गरेका छौं । २०७५ भदौं ४ देखि असोज ७ गतेसम्म हकप्रद सेयरका लागि आवेदन खुला गरेका छौं ।

सेयर निष्काशन गर्ने आह्वान पत्र निष्काशनपछि पनि त्यसविरुद्ध मुद्दा परेका छन्, होइन ?

केही मुद्दाहरु आए । त्यसमा पनि बैंकले प्रतिक्षा गर्यो र अन्तरिम आदेश जारी भएको छैन । पुँजी वृद्धिसँग र हकप्रद सेयरसँग जोडिएको मुद्दाले हकप्रद शेयर निष्काशनमा कुनै अवरोध छैन । नियामक निकायहरु राष्ट्र बैंक, धितोपत्र बोर्ड, कम्पनी रजिष्ट्रार कार्यालय सबैबाट सहमति लिएका छौं ।

एनसीसी बैंकमा बारम्बार यस्तो विवाद किन भईरहन्छ ? किन बैंकका प्रवद्र्धकहरु नै बैंक विरुद्ध मुद्दा मामिला, उजुरबाजुर गरिरहन्छन् ?

मैले प्रष्ट रुपमा भन्नु पर्दा धेरै पहिलादेखि यस बैंकमा प्रवद्र्धकबीच विभिन्न खालका ‘कन्फ्लिक्ट’ भइरहेका थिए । बैंक तथा वित्तीय संस्थामा सेयरधनीको लगानी भन्दा धेरै गुणा बढी सर्बसाधारणको पैसा बचत हुन्छ । बैंकको व्यवसायको कच्चा पदार्थ भनेको सर्वसाधारणको बचत हो । यो विषय यस बैंकका प्रवद्र्धकलाई ज्ञान नभएको भन्न सकिदैन । बुझेर हो वा नबुझेर, जानेर हो वा नजानेर उहाँहरुले बैंकलाई असहयोग गर्ने, अप्ठ्यारोमा पर्ने गतिविधि गर्दै आउनु भएको छ । यस्ता गतिविधि उहाँहरुको लागि पनि हानिकारक छ, अरु सबैका लागि पनि हानिकारक छ । उहाँहरुकै भूमिकाले २०७० माघ महिनामा राष्ट्र बैंकले यस बैंकको सञ्चालक समिति टेकओभर गर्नुपर्यो ।

‘उहाँहरु’ भनेका को हुन् ? पाठकले बुझ्ने गरी भन्न मिल्दैन ?

यो त सबैलाई थाहा भएकै कुरा हो । एनबी ग्रुपसँग सम्बन्धित कम्पनीहरु । मुद्दामामिला, उजुरीबाजुरी गर्दा उहाँहरु नै संलग्नु हुनुभएको छ ।

बारम्बार विवाद हुने यस्तो बैंकको सेयरमा लगानीकर्ताले किन थप लगानी गर्ने ?

मलाई विश्वास छ, अब विवाद हुँदैन । सेयरधनीहरुले पनि विवाद गर्दा आफ्नै लगानीमा नकरात्मक असर पर्छ भन्ने कुरा बझिसकेको हुनुपर्ने हो । पछिल्लो समयमा विवादको मुल विषय भनेको साविक एपेक्स डेभलपमेन्ट बैंकसँग सम्बन्धित खराब कर्जा हो । त्यसबाट आएको खरावकर्जा मध्ये ५० प्रतिशत असुल भएको छ । अब करिव रु. १६० करोड रुपैयाँ कर्जा असुल हुन बाँकी छ । त्यो पनि उठाउन हामीले सक्दो पहल गर्दै आएका छौं । रु १६० करोड मध्ये ५० प्रतिशत मात्र यस वर्ष असुली गर्दा पनि रु ८० करोड नाफा असुलीबाट मात्रै हुन्छ । बाँकी कर्जा असुलीमा जति प्रगति हुँदै जान्छ, त्यति नै यो विवादको अन्त्य हुँदै जान्छ ।

दोस्रो, यस बैंकको सेयर संरचनामा ठूलो परिवर्तन आएको छ । पहिला यस बैंकमा एनबी समूहको करिव ३० प्रतिशत सेयर थियो । मर्जपछि करिव १६ प्रतिशतमा झर्यो । हकप्रद सेयर निष्काशनमा उहाँहरुको सहभागिता नभएमा उहाँहरुको हिस्सा १० प्रतिशतभन्दा कम हुन्छ । राष्ट्र बैंकको पनि के निष्कर्ष छ भने प्रवद्र्धक सेयरधनीबीचको सेयर स्वामित्व विविधिकरणपछि यो बैंक राम्रोसँग चल्छ । द्वन्द्वको अन्त्य हुन्छ ।

आधारभूत सेयरधनी मध्येबाट ३८ लाख कित्ता सेयरको लागि लगानी भएन । कस-कसले हकप्रद सेयर लिएनन् ?

हाल सञ्चालक समितिमा हुने सबै जनाले सबै सेयर लिनुभयो । आधारभूत सेयरधनी मध्ये नेपाल इन्स्योरेन्स कम्पनीले सबै हकप्रद सेयर लिएको छ । नरेन्द्र भट्टराईसंग सम्बन्धित कम्पनीले सबै सेयर लिइसकेको छ । एनबी समूह र निर्मल प्रधान समूहसँग सम्बन्धित केही कम्पनीहरुले हकप्रद सेयर भरेनन् । तर सर्बसाधारणबाट हकप्रद सेयर आवेदन राम्रो छ । आवेदन खुला भएको पहिलो सातामा नै रु. ११ करोडको सेयर माग भएको छ ।

तत्कालिन एपेक्स डेभलपमेन्ट बैंकसँग सम्बन्धित विवादहरु के के छन् ?

एपेक्सको हिसाव अलगै राख्नु भन्ने अदालतको आदेशअनुसार हामीले खाता अलग राखेका छौं । मर्जपछि आवश्यकताअनुसार शाखाहरु समायोजन भए पनि निक्षेपकर्ता, ऋणी सबैको खाताको हिसाव अलगै छ । तर सेयर लागत अलग राख्न सम्भव भएन । सेयर कारोबारको सम्पूर्ण विवरण रेकर्ड राख्ने सिडिएसले पनि सेयर लागत अलग गर्न सकिदैन भनेर हामीलाई पत्र लेखेकोे छ । बोधार्थ अदालतलाई पनि पठाएका छन् । उक्त विकास बैंकसंग सम्बन्धित निष्क्रिय कर्जाको धेरै असुली भइसकेको छ । उक्त बैंक गाभिए पश्चात २०७३ पुस मसान्तमा निष्क्रिय कर्जा ६.४६ प्रतिशत थियो अहिले २०७५ आषाढ मसान्तमा २.९२ प्रतिशतमा झरेको छ ।

बैंकले प्रकाशन गरेको वित्तीय विवरणमा एपेक्सको छुट्टै हिसाव छैन नि ?

हामीले सम्मानित अदालतको सम्मान गर्दै हिसाब छुट्टै राखेका छौ । प्रकाशित गर्दा सबै एकिकृत गरेर प्रकाशित गरिएको हो । तर साधारणसभामा पेस हुने वार्षिक प्रतिवेदनमा एपेक्सको छुट्टै विवरण पेश हुनेछ ।

एनसीसी बैंकको दुई आर्थिक वर्षको साधारणसभा भएको छैन, कहिले हुन्छ ?

आगामी असोज मसान्तसम्म हकप्रद सेयर बाँडफाँड हुन्छ । आवेदन नपरेको सेयर कात्तिकसम्म लिलाम प्रक्रियाबाट बिक्री गर्छौ । आर्थिक वर्ष २०७३/७४ को आयव्यय लेखापरिक्षण सम्पन्न गरी राष्ट्र बैंकमा पेस गरेका छौं । आर्थिक वर्ष २०७४/७५ को पनि छिट्टै लेखापरिक्षण हुनेछ । पुस मसान्तभित्र दुबै आर्थिक वर्षको साधारणसभा एकै पटक गर्छौ ।

उक्त साधारणसभामा बैंकले सेयरधनीलाई कति लाभांश दिने प्रस्ताव लैजान्छ ?

हकप्रद सेयर निकाशनपछि बैंकको सेयरपुँजी ७ अर्ब १ करोड हुन्छ । पुँजी ८ अर्ब नपुगेको कारणले हामीले बोनस सेयर मात्र वितरण गर्न सक्छौं । स्वाप रेसियोबाट आएको ९९ करोड रुपैयाँ जगेडा कोषमा छ । त्यो रकम र बैंकले आर्जन गरेको नाफाबाट कम्तिमा २० प्रतिशत बोनस सेयर जारी गर्न सकिने देखिन्छ ।

त्यसपछिको आर्थिक वर्षमा दिने प्रतिफल कस्तो हुन्छ ?

अरु बैंकहरुले दिने औषत लाभांश भन्दा एनसीसी बैंकले दिने लाभांश कम हुने छैन । त्यो भनेको न्यूनतम १०/१५ प्रतिशत हुन्छ ।

अझै पनि लगानीकर्तामा धेरै दुविधा रहेको पाइन्छ । एनसीसी बैंकमा कति खेर के विषयमा झगडा हुन्छ ? कतिबेला कसले कहाँ के मुद्दा हाल्छ ? अनुमान गर्न पनि कठिन छ । बैंकको हकप्रद सेयर कहिले बाँडफाँड हुने हो, कहिले सूचिकृत हुने हो ? कहिले साधारणसभा हुने हो, कहिले बोनस पाउने हो ? लगानीकर्तामा रहेको यस्तो आशंका र दुविधालाई तपाई कसरी हटाउन सक्नुहुन्छ ?


हामीले असन्तुष्ट शेयरधनीहरुलाई अनुरोध गर्ने हो । बैंक ठिक बाटोमा अगाडि बढेको छ । वित्तीय अवस्था बलियो छ । बैंक राम्रो भएपछि सबैको धारणा पनि राम्रो बन्दै जान्छ । हकप्रद सेयरबारे उठेका सबै विवाद अदालतबाट हाललाई निराकरण भएको छ । हकप्रद सेयर बाडफाँड, सूचिकरण सबै ठिक समयमा हुन्छ । साधारणसभा पनि अब पहिला जस्तो ढिला हुँदैन । मर्ज भइसकेपछिका कन्सोलिडेट गर्ने कार्यहरु सबै सम्पन्न भइसकेका छन् । बैंकको चुक्ता पूजी रु ८ अर्ब पुगेपछि व्यवसाय वृद्धिले पनि अझ गति लिने छ । बैंकको वित्तीय अवस्था सुदृढीकरण हुन्छ र लगानीकर्तालाई पनि आफ्नो लगानीको प्रतिफल आउने सुनिश्चितता बढ्छ ।

बैंकको भविष्यको योजना कस्तो छ ?

नेपाल क्रेडिट एण्ड कमर्श बैंक २२ वर्ष पुरानो बैंक हो । ११५ वटा शाखाहरु छन् । ४७ जिल्लामा बैंकको उपस्थिति छ । राष्ट्र बैंकले १७ वटा स्थानीय तहमा शाखा विस्तार गर्न निर्देशन दिएकोमा १४ ठाउँमा शाखा विस्तार गरिसकेका छौं । ११०० भन्दा बढी कर्मचारी छन् । मर्जपछि शाखाहरु उचित स्थानमा समायोजन भईसकेका छन् । जनशक्ति पनि राम्रोसँग व्यवस्थापन भईसकेको छ । एनसीसी ठूलो र बलियो बैंक भइसकेको छ । चुक्ता पुँजी बाहेक राष्ट्र बैंकले तोकेका सबै सूचाङ्क ठिक छन् । बैंकको सबै पक्ष राम्रो भएकोले अब बैंकको सेवास्तर पनि धेरै राम्रो हुन्छ । व्यवसाय वृद्धि पनि राम्रो हुन्छ । वार्षिक कम्तिमा ३५ प्रतिशतको व्यवसाय वृद्धिको लक्ष्य लिएका छौं ।

सबै किसिमबाट बैंक राम्रो छ भन्नुहुन्छ । वार्षिक ३५ प्रतिशतले व्यवसाय वृद्धि गर्छु भन्नुहुन्छ । ५/६ महिनाभित्रै २० प्रतिशत बोनस सेयर दिन्छु भन्नुहुन्छ । तर बैंकको सेयर मूल्य किन १७० रुपैयाँ भन्दा पनि कम ?

यतिबेला सेयर बजार समग्रमा नै घटिरहेको छ । राम्रा बैंक तथा कम्पनीहरुको सेयर पनि अहिले निकै कम छ । सेयर मूल्य कम्पनीको वित्तीय सूचकले मात्र निर्धारण गर्दैन, माग र आपूर्तिले निर्णयक भूमिका निर्वाह गर्छ । अहिले सेयर बजारमा आपूर्ति बढी छ, माग कम छ, त्यसैले मूल्य कम भएको हो । एनसीसी बैंकले सुधार गर्नुपर्ने तीन वटा पक्ष छन् । पहिलो पुँजी वृद्धि कार्य सम्पन्न हुनुपर्यो । दोस्रो एनपीए २ प्रतिशतभन्दा कम गर्नु पर्यो । तेस्रो, नाफा वृद्धि गर्ने । यी तीनै वटा कार्य सम्पन्न गर्न एनसीसी बैंकको व्यवस्थापन प्रतिवद्ध भएर अगाडि बढिरहेको छ ।

अन्त्यमा, सम्पूर्ण शेयरधनी महानुभावहरुलाई समयमै हकप्रद शेयरको आवेदन बुझाई आफ्नो हक सुरक्षित गर्नुहुन म पुन: अनुरोध गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.