सानिमा लाइफमा एनआरएनहरुले २५ लाख रुपैयाँको बीमा गर्न सक्छन्- केशवराज केसी

  २०७५ भदौ ७ गते १२:५६     विकासन्युज

केशब राज केसी, नायब महाप्रबन्धक-सानिमा लाइफ इन्स्योरेन्स

सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको असार मसान्तसम्मको प्रगति कस्तो रह्यो ?

हामीले २०७४ साल मंसिर २२ गते कम्पनीको उद्घाटन गरेका थियौं । असार मसान्तसम्ममा ९ करोड ४४ लाख प्रिमियम संकलन गरियो । यति प्रिमियम संकलन गर्दा नयाँ कम्पनीमध्ये हामी पुछारबाट दोश्रो भएका छौं । हामीले १० करोडको प्रिमियम संकलन गर्ने योजना बनाएका थियौं । सानिमा लाइफले करिब आफ्नो उदेश्य अनुसार उपलब्धि हासिल गर्न सफल भएको छ । हामीले २२ वटा शाखा स्थापना गरिसकेका छौं । सातवटै प्रदेशमा शाखा खोली सकेका छौं ।

कतिवटा प्रडक्ट बजारमा पुगेका छन् र अन्य कम्पनीका प्रडक्ट भन्दा कति फरक छन् ?

हामी अहिले पाँचवटा प्रडक्ट बेचिरहेका छौं । तीमध्ये बालबालिका केन्द्रित सानिमा बाल सौगात भन्ने पोलिसी अरुभन्दा भिन्न छ । अहिलेसम्म कसैले पनि सुरुमै बोनस दिएका छैनन् । हामीले यो पोलिसीमा ६५ बोनस घोषणा गरेका छौं । यो पोलिसीले बालबालिकाको उच्च शिक्षाका लागि पनि सहयोग गरोस् भन्ने सोच बनाएका छौं । १६ बर्षमा एसईई पास गर्नेहरुले १७ औं देखि २० औं जन्मोत्सबसम्म जति रकमको बीमा गरेको हो त्यसको २० प्रतिशतका दरले पैसा दिन्छौं । २१औं जन्मोत्सवमा चाँही बाँकी बोनससहितको रकम दिन्छौं ।

चार बर्षमा ८० प्रतिशत रकम फिर्ता गर्छाैँ । बाँकी २० प्रतिशत र पुरै बोनस २१औँ जन्मोत्सवमा फिर्ता गर्ने व्यवस्था छ । ३ महिनाको शिशुको पनि बीमा गर्न सकिन्छ । न्युनतम १० बर्षको समय सिमा चाँही आवश्यक पर्छ । २१ बर्षसम्ममा बीमाको लाभ लिईसकेको भएपनि अर्काे थप पाँच बर्ष चाँही अतिरिक्त जोखिम व्यहोरिदिन्छौं । त्यसका लागि थप प्रिमियम लिँदैनौं । साधारणतयः २१ बर्षको उमेर भनेको विदेश अध्ययन गर्न जाने लहरको हो । त्यसैले केहि सहयोग पुगोस भनेर ५ बर्ष अतिरिक्त जोखिम बहन गरिदिएका हौं ।

नयाँ प्रडक्ट के के ल्याउँदै हुनुहुन्छ ?

केहि प्रडक्ट डिजाइन भैरहेको छ । एक्चुरीसँग छलफल भैरहेको छ । करिब ४ वटा प्रडक्टबारे तयारी गरिरहेका छौं । केहि समयभित्रै बजारमा ल्याउँछौं । के के फिचर छन् भन्नेबारे चाँही अहिले नै नबोलौं । तर बजारका अन्य प्रडक्ट भन्दा भिन्न र आकर्षक चाँही पक्कै पनि हुनेछन् ।

नेटवर्क विस्तारको योजना के छ ?

अहिले २२ वटा शाखा सञ्चालनमा छन् । आर्थिक बर्ष २०७५।७६ मा थप ४५ वटा शाखा खोल्ने योजना छ । बीमा समितिबाट स्वीकृति पनि पाईसकेका छौं ।

जनशक्ति व्यवस्थापन कसरी गरिरहनु भएको छ ?

इन्स्योरेन्स सम्बन्धी दक्ष जनशक्तिको अभाव छ भन्ने कुरा सबैले स्वीकार गरेका छन् । अलि पहिले सेवा आरम्भ गरेका नयाँ कम्पनीले पुराना कम्पनीका राम्रा मान्छे लगिसकेका थिए । हामी अलिपछि सेवा आरम्भ गर्ने कम्पनीमा पर्यौं । त्यसकारण हामीले खासै मानिस पुराना कम्पनीबाट ल्याउन पाएनौं । फरक फरक कम्पनीबाट मानिस ल्याउँदा फरक फरक कार्य शैलीका कारण समस्या आउने सम्भावना पनि देखियो । त्यसकारण हामीले नयाँ मानिस लिएर काम गराईरहेका छौं । यसरी आफ्नै योजना र कार्यशैली अनुसार जनशक्ति उत्पादन गरेर अघि बढ्ने योजना छ ।

नेपालमा सानिमाको छुट्टै ब्राण्ड इमेज छ, लाइफ इन्स्योरेन्स कम्पनी कसरी अघि बढ्छ ?

पक्कै पनि नेपालका सन्दर्भमा सानिमाको छुट्टै ब्राण्ड इमेज छ । सानिमाको इमेजलाई हामीले अझै बढाउँछौं । उर्जा कम्पनीदेखि बैंक हुँदै नन लाइफ र लाइफ इन्स्योरेन्ससम्म आईपुगेको छ यो नाम । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले पनि अरुले जसरी नै ब्राण्ड इमेज बनाउँदै जानेछ । लाभदायी पोलिसी र राम्रो सर्भिस मार्फत ब्राण्ड इमेजलाई बढाउँदै लैजान्छौं ।

सानिमा बैंक, सानिमा जनरल इन्स्योरेन्स र सानिमा लाईफबीचको संस्थागत सम्बन्ध के हो ?

यी सबै स्वायत्त संस्था हुन् । सानिमा लाइफ र जनरलमा सानिमा बैंकको संस्थागत लगानी छ । तर कार्य सम्पादनमा एकले अर्काेलाई हस्तक्षेप गर्दैनन् । लाइफमा ३८ जना जति प्रमोटर छन्, जनरलमा १९ जना प्रमोटर छन् ।

कम्पनीमा प्रबिधीको प्रयोग कसरी गरिरहनु भएको छ ?

सानिमा लाइफले प्रबिधीको धेरै उपयोग गर्ने प्रयास गरिरहेको छ । हामीले देशभरका शाखाहरुको सूचना एकै पटक प्राप्त गर्न सकिने व्यवस्था गरिरहेका छौं । कुनै शाखाले एउटा प्रपोजल इन्ट्री गराउने वित्तिकै केन्द्रमा जानकारी प्राप्त हुन्छ । हामी तीन देखि चार महिनाभित्र सानिमा लाइफलाई पेपरलेश बनाउने प्रयासमा छौं ।

सानिमा लाइफको आईपीओ कहिले आउँछ ?

पहिला असार मसान्तसम्मको वित्तिय विवरण तयार गर्नुपर्नेछ । वित्तिय विवरणलाई बीमा समितिबाट पास गराएर बार्षिक साधारण सभामा लैजान्छौं । साधारणबाट आईपीओको प्रस्ताव पारित गराउँछौं । फटाफट काम भयो भने यहि आर्थिक बर्षमा पनि आइपीओ आउन सक्छ ।

कम्पनी सञ्चालनमा आएको लामो समयसम्म प्रमुख कार्यकारी अधिकृतको नियुक्तीमा किन ढिलाई भयो ?

हामीले अनुभवी सिर्इअाे खोजीरहेका छौं । त्यसका लागि प्रयास पनि भैरहेको छ । विज्ञापन पनि गरेका थियौं तर हामीले सोचेको जस्तो व्यक्तिबाट आवेदन नै आएन् । इन्स्योरेन्स क्षेत्रमा अनुभव नभएका व्यक्तिहरु त आएका थिए तर हामीले चाहेका जस्तो व्यक्तिहरु आएनन् । हामीले अहिलेसम्म सोचे जस्तो व्यक्ति फेला पारेका छैनौं । पाउने वित्तिकै नयाँ सिर्इअाे नियुक्त हुन्छ । अहिले पनि हामी खोजी गरिरहेका छौं । मेरो कुरा गर्नुहुन्छ भने म सिर्इअाे बन्न यहाँ आएको होइन । मैले सिर्इअाे मलाई चाँहिदैन, दोश्रो पदभन्दा तल पनि बस्दिन भनेरै कम्पनीमा आएका हुँ ।

अभिकर्ताहरुको संख्या र सामर्थ्य कस्तो छ ?

सानिमा लाइफले ११ सय जना अभिकर्ता तयार पारिसकेको छ । यी सबै हामीले आफ्नै प्रयासबाट उत्पादन गरेका हौं । हामीले एक जना अभिकर्ता पनि अरु कम्पनीबाट लिएका छैनौं । उनीहरुको सामर्थ्य कस्तो छ भन्ने बुझ्न चाँही केहि समय अझै कुर्नुपर्छ । थप पाँच सात महिनाको काम हेरेपछि उनीहरुको सामर्थ्य थाहा हुन्छ ।

जनशक्ति तानातानको प्रतिष्पर्धा कस्तो छ ?

अहिले बीमा बजारमा जनशक्ति तानातानदेखि हरेक क्षेत्रमा प्रतिष्पर्धा छ । हामीले पनि अरु कम्पनीका कर्मचारी तानेका छौं । हाम्रो कम्पनीका मानिस पनि अरु कम्पनीले लगेका छन् । हामीले ५० हजारमा ल्याएका कर्मचारीलाई अरुले ६० हजार दिएर लगेका छन् । कर्मचारी तानातानमा केहि कडाई गर्नुपर्ने कुरा पनि उठेको छ । तर हामीलाई मान्छे चाहिएको छ, काम चाहिएको छ । बजारमा जनशक्तिको अभाव छ । त्यसकारण १० हजार बढी तिरेर भएपनि कर्मचारी तानौं न भन्ने हुने रहेछ ।

हामीले अभिकर्ता चाँही शतप्रतिशत नै नयाँ तयार गरेका हौं । कर्मचारी चाँही केहि अरु कम्पनीबाट पनि ल्याएका छौं । म आफैं पनि अर्कै कम्पनीबाट आएको हुँ नी ।

बीमा बजारको प्रतिष्पर्धा चाँही कस्तो रहेछ ?

गत बर्षको बजारलाई हेर्ने हो भने २४।२५ प्रतिशत बजार बढिरहेको देखिन्छ । म बीमा क्षेत्रमा आउँदा राजा महेन्द्रको भाई बुहारी हेलेन शाहको ३ लाख रुपैंयाँको बीमा गराउँदा सबै अचम्मित भएका थिए । म बीमा संस्थानमा थिएँ, सबैले वाफ रे वाफ ३ लाख रुपैंयाँको बीमा गरेको भन्थे । त्यो जमानाको अनुभव पनि बटुलेको छु ।

त्यतिबेला बीमा संस्थानले स्वास्थ्य परिक्षण नगरि कुनै पनि प्रपोजल स्वीकार गर्दैनथ्यो । हामीले एक जना साथीलाई भनेर २ हजारको म्यादी बीमाको फारम भर्न लगायौं । स्वास्थ्य परिक्षण शुल्क नै ३० रुपैंयाँ लाग्यो । उसले प्रिमियम २२ रुपैंया तिर्यो । कम्पनीलाई उल्टै ८ रुपैंयाँ घाटा लाग्यो । त्यसपछि स्वास्थ्य परिक्षण नगरी प्रपोजल लिने चलन बसेको हो ।

अहिले बजार यति माथी पुगी सक्यो की मेरो कम्पनीमै एक करोड ४० लाखका २ वटा बीमा पोलिसी बिकेको छ । उनीहरुले बार्षिक १० देखि १२ लाखसम्म प्रिमियम तिर्छन् । एक डेढ लाखका प्रपोजल त आउनै छाडिसक्यो । पाँच सात लाख भन्दा साना प्रपोजलको माग नै कम आउँछ । प्रतिष्पर्धा त बजारमा स्वभाविक नै हो । पुराना कम्पनी थिए, हामी नयाँ कम्पनी आयौं । अहिले बीमा सहभागीता ११ प्रतिशत पुगेको छ अर्थात ८९ प्रतिशत नागरिक अझै बीमाको पहुँच भन्दा बाहिर छन् । अहिले बीमा बजारमा प्रतिष्पर्धासँगै अवसर पनि ठूलै छ ।

सानिमा लाइफको लक्षित वर्ग चाँही कुन हो ?

हामीले बिशेष लक्षित वर्ग बनाएका छैनौं । बढी भन्दा बढी नेपालीलाई बीमाको दायरामा ल्याउनुपर्छ भनेर प्रडक्ट बनाईरहेका छौं । औषतमा सबै नेपालीले सानिमा लाइफबाट बीमा गराउन सक्छन् । हरेक खालको आय भएका नेपालीलाई बीमा पोलिसी उपलब्ध गराउँछौं ।

एउटा नागरिकले बीमा कम्पनीमा आएर मेरो बीमा गराउनु पर्यो, के के छन् पोलिसी भन्ने दिन कहिले आउँला ?

हाम्रो जस्तो बचतमा आधारित प्रडक्ट बढी बिक्ने देशमा नागरिकले बीमा कम्पनी खोज्दै हिड्ने दिन आउन समय लाग्छ नै । विदेशमा भने टर्म लाइफको योजना खोज्दै नागरिक बीमा कम्पनीसम्म पुगिरहेका हुन्छन् । हामीले बचतमुखी योजना बेच्नुपर्ने अवस्था छ ।

नेपालमा भने कमाई भएका बेलामा बीमा मार्फत बचत गरेका हुन्छन् । जागिरको अवधी सकिएपछि सरकारले नहेर्ने परिपाटी भएकाले कमाई भएका बेलामा बचत गर्ने नाममा बीमा गर्ने चलन हामी कहाँ छ । वास्तवमा बीमा भनेको जोखिम हस्तान्तरण हो । तर हामीले बचत वा लगानी दुबै समेत भन्ने गरेका छौं । यतिबेला चाँही बीमा भनेको जोखिम हस्तान्तरण र लगानी दुबै हो ।

एनआरएनहरुको बीमा गर्ने प्रक्रिया कहाँ पुग्यो ? कसरी हुन्छ ?

सानिमा लाईफमा एनआरएनहरुको लगानी छ । उनीहरुको जीवन बीमा गर्नका लागि हामीले केहि पहल गरेका थियौं । एनआरएनहरुले पनि जीवन बीमा गर्न पाउनु पर्छ भनेका थिए । हामीले बीमा समितिसँग पनि छलफल गर्यौं ।

नन मेडिकल तर्फको २५ लाखसम्मको एनआरएनको बीमा गर्न सकिने निष्कर्ष आयो । अब एनआरएनहरुले नेपाली बैंकमा रहेको खाता मार्फत नेपाली रुपैंयाँमै प्रिमियम तिरेर बीमा गर्न सक्छन् । हामीले भुक्तानी गर्दा पनि नेपालमै रहेको बैंक खाता मार्फत नेपाली रुपैंयाँमा नै भुक्तानी गर्नेछौं । एनआरएनहरुको बीमा गर्छाै तर प्रिमियम पनि यहिँ लिन्छौं र भुक्तानी पनि यहिँ दिन्छौं । नेपाली कम्पनी, नेपालीमै कारोबार अनि नेपालीमै भुक्तानी दिन्छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.