मेगा बैंकले काठमाडौंको थप तीन स्थानमा खोल्यो शाखारहित बैंकिङ सेवा

  २०७५ साउन ३१ गते १८:४१     विकासन्युज

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले काठमाडौंको थप तीन स्थानमा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले काठमाडौंको कीर्तिपुर, टोखा र रामकोटमा उक्त सेवाको विस्तार गरी सञ्चालनमा ल्याइसकेको छ ।

कीर्तिपुर नगरपालिकाको चम्पादेवी, टोखा नगरपािलकाको झोर र नागार्जुन नगरपालिकाको रामकोटमा मेगा बैंकले शाखारहित बैंकिङ सेवा सुरु गरेको हो । कीर्तिपुर नगरपालिका वडा नम्बर ४ स्थित चम्पादेवीमा कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जन र मेगा बैंक नेपालका शाखारहित बैकिङ्ग सेवाका ईन्चार्ज डम्बरबहादुर श्रेष्ठले संयुक्त रुपमा उक्त कारोबारको उद्घाटन गरेका हुन् ।

यसैगरी, रामकोटमा शाखारहित बैंकिङ सेवाको सुरुवात गर्दै नागार्जन नगरपालिकाका मेयर मोहनकुमार बस्नेतले शाखारहित बैंकिङ सेवाको सुरुवातले रामकोट क्षेत्रमा विकासको ढोका खोल्ने बताएका छन् । साथै, यस बैंकको सरल कर्जाबाट ग्रामीण भेगका धेरै साना तथा मझौला व्यवसायीहरु लाभान्वित हुने उनले बताए ।

यसैगरी, टोखाको झोरमा शाखारहित बैंकिङ सेवाको सुरु गर्दै टोखा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष श्रीकृष्ण अधिकारीले घरदैलोमै शाखारहित बैंकिङ सुविधा पाउनु यस क्षेत्रका बासिन्दाका लागि अवसर भएको बताएका छन् ।

मेगा बैंकका शाखारहित बैंकिङ्ग सेवाका ईन्चार्ज डम्बरबहादुर श्रेष्ठले ग्रामीण क्षेत्रको आर्थिक अवस्थालाई उकास्न गाउँको खेतीयोग्य जग्गाहरु समेत धितो राखेर सहज तरिकाले १० लाख रुपैँयासम्मको कर्जा दिन मेगा सरल कर्जाको व्यवस्था गरिएको बताए । साथै, उनले घर नजिकैको शाखारहित बैंकिङ सेवाबाट जुनसुकै बेला पनि रकम जम्मा गर्न र आवश्यक परेको खण्डमा झिक्न सकिने व्यवस्था मिलाइएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.