तपाईसँग पुँजी छैन भने आयोजना ल्याउनुस्, हामी लगानी गरिदिन्छौँ- डा. विनोद आत्रेय

  २०७५ साउन ३० गते १८:११     विकासन्युज

नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकास पाएका डा. विनोद आत्रेयले २ वर्षदेखि इमर्जिङ नेपाल लिमिटेड सञ्चालन गरिरहेका छन् । पुर्वाधार र उद्योगमा स्वपूँजी (इक्विटी) लगानी गर्ने उद्धेश्यका साथ स्थापना भएको इमर्जिङले होटल, बैंक र रेटिङमा लगानी गरिसकेको छ । यस्तै, बैंक तथा वित्तीय संस्थाका लागि तालिम केन्द्र स्थापना गर्न लागेको छ । कृषि, शिक्षा, स्वास्थ्य र पर्यटन क्षेत्रमा लगानी केन्द्रीत गरेको इमर्जिङकाे भावि योजनाका विषयमा सीईओ आत्रेयसँग विकास न्युजले गरेको विकास वहसः

डा. विनोद आत्रेय, सीईओ, इमर्जिङ नेपाल लिमिटेड

इमर्जिङ नेपाल सञ्चालनमा आएको २ वर्ष भइसकेको छ । अहिले संस्थाले के गरिरहेको छ ?

इमर्जिङ नेपाल सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडल अन्तर्गत स्थापना भएको कम्पनी हो । यसमा सरकारको पनि सेयर लगानी छ । यसको मुख्य उद्देश्य भनेको पुर्वाधारमा स्वपुँजी (इक्विटी) लगानी गर्ने हो । तर इमर्जिङ बैंक जस्तो कर्जा लगानी गर्ने संस्था भने हैन । इक्विटीमा लगानी गर्ने भएकाले हाम्रो र बैंकको कार्यक्षेत्र फरक छ । इमर्जिङले हुम्लामा रहेको होटल एलाइस दी वण्डर इनमा सुरुवाती लगानी गरेको छ । होटलमा ८ करोड रुपैयाँ लगानी भएको छ । होटल निर्माण भई आंशिक रुपमा सञ्चालनमा आईसकेको छ ।

स्थानीय साझेदारीमा इक्विटी लगानी गरेको हो । दोस्रो आयोजनाअन्र्तगत भारतको केयर इण्डिया लिमिटेडसँगको साझेदारीमा सञ्चालनमा आएको केयर रेटिङ एजेन्सीमा इमर्जिङले १० प्रतिशत इक्विटी लगानी गरेको छ । इमर्जिङको तेस्रो परियोजना भनेको नेपाल पुर्वाधार बैंक हो । यसमा २५ करोड इक्विटी लगानी भइसकेको छ । चौथो परियोजना अन्र्तगत बैंक तथा वित्तीय संस्थालाई तालिम दिनका लागि ट्रेनिङ इन्टिच्युट ल्याउने तयारी गरिरहेका छौँ । इन्ष्टिच्युट दर्ताको क्रममा छौँ । दुई वर्षका बीचमा इमर्जिङले गरेका लगानी यी नै हुन् ।

यदि कसैसँग आर्थिक रुपमा आकर्षक आयोजना छ । तर, थप पुँजीको अभाव छ भने आउनुस् हामी लगानी गर्छौ भनेर सार्वजनिक रुपमा आब्हान गरेका छौं । पहिला हामी परियोजनाको संभाव्यता हेर्छौ, यदि राम्रो देखियो भने इक्विटीको रुपमा साझेदारी बन्ने छौँ । आयोजना तपाइले लिएर आउने हो । त्यो तपाईहरुकै आयोजना हो । त्यो आयोजना सञ्चालन गर्ने जिम्मेबारी तपाईहरुको हुने छ ।

इमर्जिङले पहिलो आयोजनाका रुपमा हुम्लाको होटल रोज्नुभयो, के देखेर जानुभयो त्यहाँ ?

यो हाम्रो पहिलो आयोजना हो । मानसरोवरमा जाने तिर्थालुलाई लक्षित गरेर होटलमा लगानी गरिएको हो । अर्कोकुरा सुदुरपश्चिम विकासको दृष्टिकोणले पछि परेकाले त्यहाँ हामीले प्राथमिकता दिनुपर्छ भन्ने सोचअनुसार हुम्लामा होटल स्थापना गर्नका लागि ८ करोड रुपैयाँ इक्विटी लगानी गरेको हो । १/२ वर्षमा हुम्ला सडक सञ्जालमा जोडिने अवस्था छ । यदी सडक सञ्चालनमा जोडिएपछि आन्तरिक पर्यटक पनि त्यहाँ पुग्ने छन् । हामी धर्ममा विश्वास गर्ने भएकाले मानसरोबरमा जाने स्वदेशी पर्यटक धेरै हुने अनुमान गरेर त्यहाँ होटलमा लगानी गरेका हौं ।

योजना भएका तर पैसा नभएका उद्यमीहरुलाई ८० प्रतिशतसम्म इक्वीटीमा लगानी गरिदिने भन्ने थियो, कति लगानी गर्नुभयो ?

औपचारिक रुपमा प्रस्ताव आएको छैन । फोन सम्पर्कबाट बुझ्ने काम भइरहेका छन् । हामीले परियोजना पेश गर्नुस आर्कषक देखिए लगानी गर्छौं भनेर आश्वस्त पार्ने काम गरिरहेका छौ । नयाँ संस्था स्थापना गरेर सञ्चालनमा ल्याउन समय लाग्दो रहेछ । यसको प्रक्रिया पुर्याउने, सञ्चालन पुर्वाधार तयार, लगानी र त्यसको प्रतिफल प्राप्त गर्न सहज छैन । हामीले २ वर्षमा ४ वटा परियोजनामा लगानी गरेका छौं । यसमध्ये २ वटा सञ्चालनमा ल्याइसकेका छौं । हामी तालिम केन्द्रको स्थापना गर्दैँ छौं । राम्रो आयोजना छ, लगानी गर्नु पर्यो भन्ने प्रस्ताव आएमा हामी जुनबेला पनि तयार छौं ।

यहाँले लगानी गर्छु भन्नु भयो, कसरी जुटाउनु हुन्छ ?

इमर्जिङको आफ्नो पुँजी भनेको ५० करोड रुपैयाँ मात्र हो । हामीले होटल, पुर्वाधार बैंक, केयर रेटिङमा लगानी गरिसकेका छौँ । अब तालिम केन्द्रमा लगानी गर्दै छौं । हामीसँग इक्विटीको केही रकम पनि छ । इमर्जिङले लगानी जुटाउन ऋणपत्र र डिवेन्चर जस्ता वित्तीय औजार जारी गर्न सक्छ । यदी राम्रो आयोजना छ भने जनताबाट पैसा उठाएर लगानी गर्न सक्छौ । इमर्जिङमा ९० प्रतिशत संस्थापक र १० प्रतिशत मात्र सर्वसाधारणको लगानी छ । थप पुँजी जुटाउनका लागि सर्वसाधारणलाई १० प्रतिशत सेयर (आईपीओ) निष्कासन गर्नका लागि धितोपत्र बोर्डमा निवेदन दिएका छौँ । ठुलो परियोजनामा लगानी गर्ने अवस्था आयो भने जनताबाट पैसा उठाउने छौँ ।

इमर्जिङको आईपीओ कहिले आउछ ?

बोर्डले स्वीकृति दिएपछि तुरुन्त आईपीओ ल्याउने काम हुनेछ । साढे ४ करोडको आईपीओ निष्कासन गर्ने छौ । यसका लागि हामी तयार छौँ ।

इमर्जिङले धेरै क्षेत्रमा लगानीको योजना सार्वजनिक गरेको छ । लगानीको विविधिकरण कसरी गर्दै हुनुहुन्छ ?

हाम्रो लगानी विविधिकरण गर्ने सोच हो । वित्तीय र पर्यटनमा हामी गइसकेका छौ । यस्तै क्षमता अभिवृद्धिमा जाने तयारीमा छौं । अब हाम्रो प्राथमिकता भनेको कृषि, शिक्षा र स्वास्थ्य क्षेत्र हो । राम्रो परियोजना पाए अन्य क्षेत्रमा लगानी गर्छौ । हामीले ४ क्षेत्रमा लगानी गर्नका लागि परियोजना खोजी गरिहेका छौं । परियोजना ल्याउनेले केही रकम लगानी गरेमा हामी थप्ने काम गर्छौंै । यस्तै आयोजना सञ्चालन गर्न क्षमता पनि हुनुपर्यो । आयोजना आर्कषक पनि हुनुपर्छ । नोक्सान हुने परियोजनामा इक्विटी लगानी गर्दैनौ । व्यक्तिगत रुपमा भेटेर पनि पुँजीको अभाव छ भने हामीले लगानी गर्ने भनेका छौँ ।

आउँदो ५ वर्षमा इमर्जिङ कुन अवस्थामा पुग्ने छ ?

हरेक वर्ष २ वटा नयाँ परियोजनामा इक्विटी लगानी गर्ने मेरो लक्ष्य छ । वर्षमा २ वटा नयाँ कम्पनी स्थापना गर्दै लैजाने लक्ष्य हो । तालिम केन्द्र स्थापना गर्दै छौँ । त्यसपछि अर्को परियोजनामा लगानी गर्नेछौँ । हामीले नयाँ अवधारणा खोजिरहेका छौं । आउँदो ५ वर्षमा १० वटा कम्पनी खडा गर्न सकियो भने ठुलो उपलब्धी हुनेछ ।

इमर्जिङले रेटिङ एजेन्सीमा पनि लगानी गरेको छ । नेपालमा रेटिङको अवस्था के छ ?

सरकारले चालु आर्थिक वर्षको बजेटमा १ अर्ब रुपैयाँ पुँजी भएका कम्पनी सर्वसाधारणमा जानुपर्ने भनेको छ । लिमिटेड कम्पनी हुने बित्तिकै आईपीओ निष्कासन गर्नुपर्छ । आईपीओ निष्कासन गर्नका लागि रेटिङ गर्नुपर्ने हुन्छ । यता मौद्रिक नीतिमा नेपाल राष्ट्र बैंकले ५० करोड रुपैयाँ बढी कर्जा लिने ऋणीको क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्था गरेको छ ।

यस्तै २८ वटै वाणिज्य बैंकको पनि नयाँ रेटिङ गर्नुपर्ने मौद्रिक नीतिमा भनिएको छ । नयाँ कर्जा लिँदा, कर्जा नविकरण गर्दा ऋणीको पनि रेटिङ गर्नुपर्ने व्यवस्था गरिएको छ । यसले गर्दा अब रेटिङको बजार ठुलो देखियो । यस्तै अर्को मौद्रिक नीतिमा विकास बैंक र वित्त कम्पनीको रेटिङ गर्नुपर्ने व्यवस्था आउन सक्ला । संस्थागत रेटिङको कुरा आएको छ । आज बैंकको भयो, भोली बीमा कम्पनीको होला । त्यसैले नेपालमा रेटिङ व्यवसायको सम्भावना झनै बढेको छ ।

सरकार र राष्ट्र बैंकलाई रेटिङ् गराउन सुझाव तपाइले दिनु भएको हो ?

हामीले बेलाबेलामा भन्दै आएका थियौँ । ३ वर्षअघिको मौद्रिक नीतिमा ऋणीको रेटिङको कुरा आएको थियो । पहिला इक्रा मात्र थियो । अहिले केयरसहित दुइवटा भइसकेको छ । यस्तै अर्को आउने तयारीमा छ । सरकारले पनि रेटिङ् गर्ने भन्ने कुरा उठाएको छ । मुलकको रेटिङ नेपाली कम्पनीले गर्न नसके पनि अन्तर्राष्ट्रिय लगानी ल्याउन भुमिका निर्वाह गर्न सक्छन् । नेपालको रेटिङ भएपनि अन्तर्राष्ट्रिय लगानीकर्तालाई लगानी गर्न बाटो पनि खुल्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.