लाेडसेडिङ हटाउन भारतबाट १९ अर्ब २७ करोडको बिजुली आयात, माथिल्लो तामाकोसी सञ्चालनमा आएपछि घट्ने

  २०७५ साउन ३० गते १०:३६     विकासन्युज

काठमाडौ । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ हटाउन गत आर्थिक वर्ष ०७४/ ०७५ मा भारतबाट १९ अर्ब २७ करोड रुपैयाँको बिजुली आयात गरेको छ । प्राधिकरणले औसत प्रतियुनिट ७ रुपैयाँ ४७ पैसामा २ अर्ब ५८ करोड रुपैयाँको बिजुली आयात गरेको हो ।

प्राधिकरणले माग र आपूर्तिबीच सन्तुलन मिलाउन अघिल्लो आर्थिक वर्ष ०७३/०७४ मा भारतबाट १६ अर्ब रुपैयाँभन्दा बढीको २ अर्ब १७ करोड युनिट बिजुली किनेको थियो । अघिल्लो वर्षको तुलनमा गत वर्ष ४१ करोड युनिट बिजुली बढी आयात भएको प्राधिकरणले जनाएको छ ।

हिउँदको समयमा आन्तरिक उत्पादनमा कमी आउने र सोही बेला बिजुलीको माग बढेपछि प्राधिकरणले भारतबाट ५०० मेगावाटसम्म विद्युत आयात गरेको छ । प्राधिकरणले भारतको नर्थन पावर कम्पनी, एनभीभीएन विद्युत व्यापार कम्पनी, उत्तर प्रदेश र उत्तराखण्डबाट विद्युत आयात गरेको छ ।

भारतबाट विद्युत आयातमा लिइएको विवेकपूर्ण रणनीतिक नीतिका कारण ढल्केवरबाट खरिद गरिएको विद्युतको महशुल केही बृद्धि भएता पनि आयातित विद्युतको औसत खरिद दर भने नबढेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । आव ०७४/०७५को विद्युत औसत आयात दर ७ रुपैयाँ ४७ पैसा रहेको छ । प्राधिकरणको उपभोक्ता औसत महसुल दर प्रतियुनिट १० रुपैयाँ ४ पैसा छ ।

‘भारतबाट आयात हुनेमध्ये करिब ७० प्रतिशत हिउँदको विद्युत माग व्यवस्थापनका लागि आपूर्ति हुन्छ, जसको खरिद दर हामीले नेपालका निजी ऊर्जा उत्पादकलाई हिउँदका लागि दिंदै आएको प्रति युनिट ८ रुपैयाँ ४० पैसाभन्दा कम छ’, घिसिङले भने ।
‘आन्तरिक उत्पादनमा आत्मनिर्भर नभएसम्मका लागि हाम्रो विद्युत माग र आपूर्तिको व्यवस्थापन गर्न तत्काल यो बाहेक अरु विकल्प नै छैन ।’

४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजना सञ्चालनमा आएपछि वर्षादमा भारतबाट बिजुली आयात बन्द हुने र सुख्खामा मात्र किन्नु पर्ने अवस्था आउने छ । यसका लागि विद्युत प्राधिकरणले वर्षादमा बढी भएको बिजुली भारतमा बेच्ने र सुख्खायाममा किन्ने गरी ऊर्जा बैंकिङ योजना कार्यन्वयनमा ल्याउने तयारी गरेको छ । यसमा भारत सकरात्मक देखिएको छ । ऊर्जा बैंकिङ प्रणाली लागु भएमा बिजुली आयातमा गिरावट आउने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.