व्यापार घाटा कम गर्न हवाई जहाज/कम्प्युटर बनाएर बेच्ने हो-पाण्डे

  २०७५ साउन २९ गते १५:३०     विकासन्युज

सुरेन्द्र पाण्डे, पूर्व अर्थमन्त्री तथा स्थायी कमिटी सदस्य, नेकपा

काठमाडौं । तीन/चार वटा नीतिगत बिषय आजका आवश्यकता हुन् । पश्चिम सेति नेपाल सरकारले बनाउने भनेर बजेटमा आयो तर लगानी बोर्डले चीनलाई अध्ययन गराईरहेका छौं भन्यो । आखिर गर्छ कसले ? नेपाल सरकार की चीनले ? जबसम्म यो अन्योलता टुट्दैन, तबसम्म कुनै पनि काम हुन्न । चाहे त्यो फास्ट ट्रयाक होस वा निजगढ विमानस्थल नै किन नहोस । यो बिषयमा अर्थमन्त्रालयले नेतृत्व लिएर कसले गर्ने भन्ने कुरा स्पष्ट बनाउनु पर्छ ।

नत्र चार बर्ष एउटाले अध्ययन गर्छ, त्यसपछि अर्काे आएर फेरी अध्ययन नै गर्न थाल्छ । अर्काले गरेको अध्ययनमा मैले काम गर्दिन भन्छ ।
फास्ट ट्रयाक कसले बनाउँछ ? निजगढ विमानस्थल कसले बनाउँछ ? पश्चिम सेति कसले बनाउँछ ? भन्ने कुरा स्पष्ट हुनुपर्छ । श्रोत जुटाउने जिम्मेवारी बोकेको मन्त्रालय भएकाले अर्थले यसबारे ठोस कुरा गर्नु पर्छ ।

दोश्रो कुरा पुँजीगत खर्चको सन्दर्भ छ । पुँजीगत खर्चमा प्रगति भैरहेको छ भनियो तर परिणाम आईरहेको छैन् । सबै टुक्रे योजनामा पैसा गैरहेको छ जसले परिणाम ल्याईरहेको छैन् । अर्थमन्त्रालयलाई पुँजीगत खर्च बढेको छ भनेर देखाउनै पर्ने बाध्यता छ त्यसका लागि टुक्रे योजनामा पैसा हालेको छ । तर त्यसले न्युन परिणाम ल्याईरहेको छ ।

प्रदेश र स्थानीय तहका बजेट हेरियो भने विल्कुलै टुक्रे योजनामा पैसा बाढ्ने लहड सुरु भएको छ । मन्त्री र सांसदका क्षेत्रमा बजेट भाग लगाउने चलन पनि रोकिएको छैन् । यस्तो प्रवृत्तिले ठुलो श्रोत साधन गैरहेको हुन्छ तर उपलब्धि केहि आउँदैन् । अब अर्थमन्त्रीको संयोजकत्वमा मुख्य मन्त्री र स्थानीय तहका प्रतिनिधी राखेर समन्वय गर्ने संयन्त्र बनाउनु पर्छ । पाँच बर्षे सरकारले एउटा बजेट ल्यायो ।

अब अर्काे बजेटको तयारी गर्ने समय भैसक्यो । पाँच बर्षको सरकारले २ वटा बजेट ल्याउनु भनेको ४० प्रतिशत समय बिताउनु हो तर ४० प्रतिशत नतिजा आयो त भन्दा पक्कै पनि आएको छैन र आउँदैन पनि । यसले जनताको असन्तुष्ठि बढाउँछ । यसका लागि नीतिगत काम गर्नु अत्यावश्यक भैसक्यो ।

अर्काे कुरा व्यापार घाटाको हो, जुन भयावह भैसकेको छ । ८०।८५ अर्ब निर्यात गरेर १२ सय अर्ब भन्दा बढिको आयात भैरहेको अवस्था छ ।
अबको ५ वा १० बर्षमा कुन प्रडक्ट बेचेर व्यापार घाटा कम गर्ने हो ? के छ हाम्रो योजना ? आलु उत्पादन बढाउँछौं की धान उत्पादन बढाउने हो ? हरिया तरकारी हुन की जडिबुटी हो की ? पर्यटन हो की पानीका उद्योेग हुन ? उर्जा पो हो की ? के लक्ष्य हो हाम्रो ?  कि हवाई जहाज बनाउने हो ? कि कम्प्युटर उद्योग बनाउँछौं हामी, त्यो त होइन होला । नेपालको अहिलेको वस्तुस्थितिका आधारमा हामी केमा केन्द्रित हुन्छौं ? तोकिएको समयमा के नतिजा आउँछ ? कि हिड्दै जाऔं जे जे पर्ला पर्ला भन्ने हो भने अर्कै कुरा ।

होइन भने यो व्यापार घाटा घट्ने आधार मैले देखिरहेको छैन् । पाँच बर्षमा यो उत्पादन अन्तराष्ट्रिय बजारमा जान्छ, हाम्रो यति आम्दानी हुन्छ र निर्यात गरेर यति व्यापार घाटा कम गर्छाै भन्ने योजना मैले चैँ देखिरहेको छैन् ।

हामीले गर्न सक्ने भनेको पानीबाट विजुली उत्पादन गर्ने हो वा पानी बेच्ने भन्ने होला । पर्यटन होला, कृषि उत्पादन, हर्बल उत्पादन, पुर्वाधार पनि हुन सक्छ । यी कुराहरुमा हामी कति लगानी गर्छाै ? कस्तो योजना बनाईरहेका छौं भन्ने कुराले महत्व राख्छ । पाँच बर्षमा डिजेल पेट्रोल उत्खनन हुने वाला छ त ? त्यो त छैन होला, इन्धन आयातको घाटा घट्छ त भन्दा घट्दैन ?

पाँच बर्षमा हामी के केको आयात घटाउन सक्छौं । त्यो घटाउन तिर लाग्नु पर्छ । सामान्य कुरा गरेर अब हुन्न । कि कर बढाएर बाहिरबाट केहि पनि नल्याउने गरि नीति बनाउँछौं ? यी बिषयहरुमा हामीले स्पष्टता ल्याउनु आवश्यक छ ।

चौथो कुरा भनेको लगानी बोर्डको सक्रियता हो । कार्य क्षेत्रको साँघुरो भएर हो वा अरु पनि कारण छन् तर बोर्डको काम चुस्त दुरुस्त र प्रभावकारी देखिएको छैन । ८/१० वटा परियोजनाको अध्ययनमा बोर्ड लागेको देखियो । ठेक्का लागेको वा लाग्ने अवस्थामा रहेका परियोजना पनि कम देखिए । कति वटा योजना बोर्डको कार्यक्षेत्रमा पर्न सक्छन् । १० अर्ब भन्दा बढि लगानी र ५ सय मेगावाट भन्दा ठुला आयोजना कति हुन सक्छन् । त्यसको विस्तृत आयोजना बनाउनु आवश्यक छ । त्यस्तो परियोजना बैंक बनाएर काम गर्दा मात्रै उपलब्धि दिन सकिन्छ ।

वित्त आयोगले केहि सुत्रहरु बनाएर काम गरिरहेको देखियो । सरकारलाई सिफारिस गरेको देखियो अब त्यसको प्रभाव मूल्यांकन आवश्यक छ । अहिले बनाइएको सुत्रका आधारमा भएको बाडफाँटले के नतिजा दियो भनेर हुर्नु पर्छ । विदेशका मुलुकहरुले गरेका अभ्यासहरुको अध्ययन पनि गर्नु पर्छ । भारतको कस्मिर र अन्य राज्यमा फरक फरक व्यवस्था छ । हामी कहाँ पनि भोली श्रोत साधन बाडफाँटको मुद्धा सबै भन्दा बढि विवादित हुनेवाला छ । अहिले पनि अधिकांश मुख्य मन्त्रीहरुले आसन दियो शासन दिएन भन्ने आरोप लगाईरहेका छन् । त्यो शासन भनेको के हो ? के भएपछि त्यो शासन हुन्छ ? वित्त आयोगले उनीहरुलाई यति दिएपछि शासन हुन्छ भनेर बुझाउन सक्नु पर्छ । वित्त आयोगले चाँडै पुर्णता पाउनु पर्छ । त्यता तर्फ पनि म सरकारको ध्यान आकर्षण गराउन चाहान्छु ।( पूर्वअर्थमन्त्री पाण्डेले संसदको अर्थ समितिमा व्यक्त गरेको विचार)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.