काठमाडौं–केरुङ रेलमार्ग अध्ययन प्रतिवेदनमाथि अर्को हप्ता छलफल, २८० अर्ब लाग्ने

  २०७५ साउन २९ गते १०:४४     विकासन्युज

काठमाडौं । दुई देशलाई रेलमार्गले जोड्न नेपाल र चीन सरकार सहमत भए लगत्तै पूर्वसम्भाव्यता अध्ययन शुरु गरिएको थियो
आगामी साता नेपाल र चीनका सरकारी प्रतिनिधिबीच हुने छलफलले चीनसँग जोड्ने केरुङ–काठमाडौं रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदनबारे अन्तिम रुप दिइने बताइएको छ।

चिनियाँ कम्पनीले तयार पारेको प्रतिवेदनमा कठिन भूगोल भएपनि रेलमार्ग निर्माण सम्भव रहेको तर उच्चस्तरको प्रविधि प्रयोग गर्नु पर्ने उल्लेख गरिएको जनाइएको छ।

उक्त प्रतिवेदनलाई अन्तिम रुप दिए लगतै निर्माण कार्यका लागि आवश्यक पर्ने विस्तृत परियोजना प्रतिवेदन बनाउने काम अघि बढाइने सरकारी भनाइ छ।देशलाई रेलमार्गले जोड्न नेपाल र चीन सरकार सहमत भए लगत्तै पूर्वसम्भाव्यता अध्ययन शुरु गरिएको थियो।

अध्ययनको जिम्मा दिइएको चिनिया कम्पनीको टोलीले जेठको पहिलो साता नेपाल आएर सम्वन्धित भूभागमा गएर अध्ययन गरेको थियो।उक्त अध्ययनको प्रतिवेदन तयार भएको जानकारी कम्पनीले नेपाल सरकारलाई गराएको बताइएको छ।

अब नेपाली टोली चीन गएर त्यसलाई अन्तिम रुप दिने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारीले बताए।उनले भने उनीहरुले प्रतिवेदन तयार पारेका छन्। नेपाल र चीनका सरकारी प्रतिनिधिहरु बसेर उनीहरुको प्रतिवेदन हेर्छौ। हाम्रो सरकारकातर्फबाट भए गरेका अध्ययनहरु पनि त्यहाँ राख्छौं र प्राविधिक टोलीसँग छलफल गरेर अन्तिम रुप दिन्छौं

उक्त बैठकमा सहभागी हुन सचिव अधिकारीकै नेतृत्वको टोली आगामी शनिबार चीन जाने बताइएको छ। करिब १०० किलोमिटर लामो हुने अनुमान गरिएको उक्त रेलमार्गले हिमाली भूभाग पार गर्नुपर्ने र उक्त क्षेत्र मुनि भारतीय प्लेट तिब्बती प्लेट भित्र घुस्ने क्रम जारी रहेकाले रेलमार्ग निर्माण गर्न निकै चुनौतीपूर्ण हुने ठानिएको थियो।

पूर्व सम्भाव्यता अध्ययनले सम्भावना रहेको तर उच्च प्रविधिको प्रयोगको आवश्यकता ‌औंल्याएको सचिव अधिकारीले बताए। उनले भने, सम्भाव्यता अध्ययनमा यो किसिमको भौगोलिक जटिलतालाई चिर्दै कस्तो संरचना बनाउनु पर्छ, त्यसमा के कस्ता अनुसन्धान गर्नुपर्छ भन्ने देखाइएको छ। उच्च प्रविधिको प्रयोग गर्नु पर्छ भन्ने कुरा उल्लेख छ।

पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदनलाई अन्तिम रुप दिए लगतै निर्माणको काम गर्न आवश्यक पर्ने विस्तृत परियोजना प्रतिवेदन तयार पार्ने काम शुरु गरिने बताइएको छ। उक्त रेलमार्ग निर्माणको लागतका बारेमा भने अहिलेसम्म टुङगो लागिसकेको छैन।

चीन सरकारले अनुदानमा निर्माण गरिदिने आशा नेपाली पक्षको देखिन्छ। चिनियाँपक्षले भने त्यसबारेमा प्रस्ट जवाफ दिएको देखिदैन।चिनियाँ रेलवे विभागको उच्चस्तरीय टोलीले गरेको प्रारम्भिक अनुमानमा केरुङ–काठमान्डू रेलमार्ग निर्माणका लागि २ सय ८० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको थियो। स्रोतः बीबीसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.