हामी कुराको आधारमै विकास भइहाल्छ भन्ने भ्रममा छौ : भीम उपाध्याय

२०७५ साउन २७ गते २१:२९ विकासन्युज

भिम प्रसाद उपाध्याय

सडक विकासको एउटा कथा यस्तो छ । ‘कुनै जमानामा एउटा बाच्छो थियो । एक साझ चरेर घना वन हुदै उ घर फर्कियो । चरनबाट घर सम्मको दुरी केवल एक कोश मात्र थियो, तर उ तीन कोश घुमेर आएको थियो । जस्तो सबै बाच्छाहरुले गर्ने गर्छन, उ पनि यताउता, दायावायाँ, माथि तल गर्दै बरालिदै आएकोले यस्तो भएको थियो । अर्को विहान, एउटा गोठाले कुकुर त्यही बाटो हिड्दै जादा बाच्छाको पदछाप देख्यो र उसले पनि बनभित्र बनेको पदचिन्हको त्यही बाटोलाई पछ्याउदै हिड्यो । केही बेरपछि, भेडाको एक हुलमध्येको अगाडिकोे एउटा भेडा गोठाले कुकुरले हिडेको बाटो पछ्याउदै गयोे । अघिअघि हिडेको भेडाको पछिपछि भेडाको अरु बथान पनि लाग्दै गए । बनभित्र यसरी एउटा पैदलबाटो बन्यो ।

मान्छेहरुले पनि त्यही बाच्छो, कुकुर, भेडा हिडेर बनेको थुप्रै घुम्ती र बांगाटिंगाहरु भएको बाटोेलाई सराप्तै उपयोग गर्न थाले, तर यसलाई सुधार्न तिनले केही भने गरेनन् । त्यही हिड्ने बाटो विस्तारै अलि चौडा पैदलयात्री हिड्ने मूल बाटोमा बदलिदै गयो । मूलबाटो विस्तारै सांघुरो सडक बन्यो र घोडा एवं बैलगाडाहरु पनि बाच्छो अल्लारिदै हिड्दैगर्दा बनेको त्यही सडकको अनुसरण गर्दै यात्रा गर्न थाले । एक दशकपछि, त्यही सडकको दायाँवायाँ बस्ती विकास भएर नगर निर्माण भयो र त्यो सडक नगरीय सडकमा परिणत भयो । त्यसपछि, त्यो नगर अझै विकसित भएर त्यही बन मार्गको दायाबाया हजारौ मानिसहरु बस्ने घना शहर विकसित हुदै गयो । घुमाउरो पैदल बाटो अब शहरी मूल सडक बन्न पुग्यो । तीन दशक बित्दा नबित्दै त्यो बाटो ठूलो महानगरीय मूख्य सडक बन्न पुग्यो । बाच्छो हिडेको बांगोटिंगो डोब पच्छ्याउदै बनेको शहरी मूलबाटोमा बस, ट्रक, कार कुद्न थाले । लामो, जिगज्याग, यात्रा गर्न बहुमूल्य समय एवं पैसा खेर जाने त्यस्तो सडक बनाएकोमा मान्छेहरु पूर्वअधिकारीहरुलाई सत्तोसराप गर्ने गर्थे । तर, ती सबैले त्यही बाच्छो हिडेको बाटो उपयोग गर्दै भने रहे ।’

बाच्छो बरालिदै हिडेको पदचिन्ह पछ्याउदै विकसित भएकोे महानगरीय मूल सडकको आजको अवस्थाका लागि को दोषी हो तरु यसका दोषी तिनै अकर्मण्य जनता हुन्, जो आफ्नो दिमागमा कुनै जोड नपरोस् भन्नमा मात्र तल्लिन रहन चाहन्छन् । त्यो सडक झै‌ नेपालको बर्तमान दुर्दशामा हामी नेपालीहरुको चिन्तनहीनता नै मुख्य दोषी मान्नु पर्छ । लहडमै कसैले हिडेको पदचिन्हलाई आदर्श राजमार्ग हो भन्दै हामी आएका हौ । बिग्रेको नेपाललाई कस्तो नव नेपाल बनाउने भन्ने चिन्तन अहिलेसम्म पनि सुरु भएको नदेखिनु दुःखदायी परिस्थिति हो ।

नेपालीहरु सुदूर विगतमा निकै कर्मप्रिय थिए भनिन्छ । कथित शिक्षित हुदै गएपछि तर्कप्रिय मात्र बन्दै गयौ । कुरो र कुलो जता लगे पनि हुन्छ । हामीले कुराको आधारमै विकास भइहाल्छ भन्ने भ्रममा शताव्दीऔ समय खेर फाल्यौ‌, मौका गुमायौ‌ चुक्यौं।

सत्रौ शताव्दीतिर पश्चिमा महाद्धिपमा ज्ञान, विज्ञान र प्रविधिको तीव्र विकास सुरुभई औद्योगिकीकरण हुदै गर्दा हामी यहा पेटपाल्न पाए पुग्छ भन्ने मानसिकतामा बाच्दै थियौ । विश्वभरि राजतन्त्रात्मक शासन भएको बेला राजा पृथ्वीनारायण शाहले सयकडौ राजा रजौटाहरुमा विभाजित तात्कालिन नेपाली भूगोललाई एकिकरण गरेर बर्तमान बृहत् नेपाल बनाए । तर, सत्ताधारीहरुका निमित्त एकिकृत नेपाल सत्ताको साधन हुनुबाहेक जनताले यसबाट फाइदा लिनसक्ने परिस्थिति त्यसपछि कसैले सृजना गरेनन् । १०४ वर्षको राणाशासनले नेपाललाई अझै अध्यारोमा पार्दै लग्यो । भारतको स्वतन्त्रता आन्दोलन दबाउने कार्यमा नेपालका राणा शासकहरुले नेपाल राष्ट्रको स्रोतको दुरुपयोग गर्दै अंग्रेजको सेवा गर्दै आफ्नो सत्ता टिकाए ।त्यसकारणले नै त भारतमा अंग्रेजको शासन ढल्नासाथ नेपालमा अंग्रेजका अन्धसमर्थक राणाशासन ढलेको हो ।

त्यसपछिको करिब सबै दशकहरु विकासको नारामा नै सीमित रह्यो । नेपालमा प्रजातन्त्र आउदासंगसंगै स्वतन्त्र भएका भारत, पाकिस्तान, श्रीलंकाले औद्योगिकरण, प्रविधिकरणका लागि बैज्ञानिक, प्राविधिज्ञ र इन्जिनियरहरुलाई त्यहाको नेतृत्वले भरपूर प्रयोग गर्यो । विश्वमा अहिले भारत सार्वजनिक क्षेत्रमा बृहत् बैज्ञानिक अनुसंधान संस्थाहरुको सबैभन्दा ठूलो पूर्वाधार संजाल भएको शक्तिशाली मुलुक हुन पुगेको छ । अन्तरिक्ष विज्ञानमा भारत अग्रणी राष्ट्र बनिसकेको छ । दर्जनौ जति दुरसंचार, सूचना, हावापानी, शिक्षा क्षेत्रका भूउपग्रहहरु दिनहु पृथ्वीमाताको चक्कर काट्ने गर्छन् । रविन्द्रनाथ टैगोर, सीभी रमन, हरगोविन्द खुराना, सुब्रमन्यम चन्द्रसेखर, अर्मत्य सेन, भीएस नाइपाल, मदर टेरेसा कैलाश सत्यार्थी जस्ता भारतीयहरुले नोबेल पुरस्कार हात पारिसकेका छन् । ३७ वर्ष मात्रै अघि जन्मेको बंगलादेशमा नै अर्थशास्त्री युनुस महम्मदले लघुकर्जाको सुविधाबाट गरिबतम् जनताको आर्थिक समृद्धि कसरी संभव हुदो रहेछ भन्ने ३० सौ वर्षको सफल व्यवस्थापनको नवप्रवर्नतका निम्ति शान्ति नोबेल पुरस्कार पाएका छन् । युनुुस भन्छन्, ‘गरिबहरु विश्वासयोग्य हुन्छन्, तिनीहरुप्रति भरोसा गर्नु नै तिनको जमानी हो ।’ ठूलाऋृणी कतिका विश्वासीला हुदा रहेछन्, नेपालका ठूला ठालु ऋणीहरुले नेपालका बैक र वित्तीय संस्थाहरु डुवाउने गरेको घटनाले पनि पुष्टि गर्दै आएको छ ।

नयाँ नेपाल बनाउने कुरा सुन्दा जति ढाडस लिन खोजिए पनि बैज्ञानिक, प्राविधिक एवं संयन्त्रगत पूर्वाधार, भरपर्दा, प्रभावकारी एवं दक्ष जनशक्तिको नितान्त अभाव रहेको वर्तमान भ्रष्टतन्त्र व्याप्त नेपालमा त्यो कसरी कहिलेसम्म संभव हुने हो, चिन्तन गर्दा मन सिरिंग र समस्या देख्दा आंग जिरिंग हुन थाल्छ । प्रतिभावान, दक्ष, राष्ट्रप्रेमी नागरिकविना मुलुक बन्दैन । यस्ता सुयोग्य नागरिक तयार गर्न दशकौ लाग्छ, भएकाहरु सबैजसो मुग्लान पसिसकेका देखिन्छन् । तिनलाई देशभित्रै टिकाउन वा स्वदेश फिर्ता बोलाउन दह्रो नीति र स्वतन्त्र, स्वाभीमानी कार्यवातावरण सहितको संयन्त्र चाहिन्छ । यसका लागि राजनीतिमा मात्र हैन, प्रत्येक क्षेत्रमा नेताहरु जन्मनु पर्छ, जन्मेको र नेतृत्व लिन थालेको हुनपर्छ ।

निकै बिग्रेको उच्च रक्तचापसहितका मधुमेहको रोगीजस्तो भएको छ अहिलको नेपाल । शरिर जीर्ण एवं बूढो छ, दम पनि छ । रक्तचाप र चिनीको परिमाणले सीमा नाघेको बेला व्यक्तिलाई कुनै आकस्मिक शल्यक्रिया गर्नुपर्दाको अवस्थाजस्तो छ । चिनी र रक्तचाप स्थीर नभई शल्यक्रिया गर्न हुदैन । जुन पायो त्यही औषधी खान, दिन हुदैन । नेपाली कहिले पराधिन भएनौ तर स्वाधीन भएर बाच्न पनि सिकेनौ । प्रत्येक क्षेत्रमा विदेशी पैसा, विचार, संस्कार, चिन्तन, हैकम हावी छ । रोग प्रतिकार गर्न सक्ने राज्यको क्षमता नितान्त कमजोर छ । चतुर नेपालीहरु नेपालमा तिर्थाटनका लागिमात्र बसेजस्तो देखिन्छ । तिनले आफ्ना सन्तान र सम्पत्ति जति सबै सुरक्षित ढंगमा विदेशमा भण्डारण गरिसकेका छन् । शासन भन्ने कुनै कुरा रहलपहल छैन, भगवान भरोसामा छौ । तर, शान्तजस्ता पनि देखिन्छौ । त्यो किनभने, नेपालीले आफ्नो भविष्य यस भन्दा खराब हुने सोच्नै सक्दैन । भूईंमा लडेकाहरुलाई अरु लड्ने ठाउ नै कहा बाकी हुन्छ र ।

विगतको भताभुंगको जिम्मा कसैले लिदैन । पुरानै असफल कबाडी नेताहरुलाई अझै मानिदिनु पर्ने बाहेक कुनै विकल्प देखिएको छैन । आफैले बिगारेर यो अवस्थामा पुर्याउने अनि, त्यही बिग्रेको कुरालाई यथास्थानमा ल्याइयो भनेर महान उपलव्धीपूर्ण काम गरियो भन्ने ढ्वांग फुकिदै एवं स्वांग गरिदै छ । यसले जनतामा आशा जगाएको छैन ।

बाच्छो हिडेको बाटो राजमार्ग हुने अपेक्षा गर्नु मूर्खता हो । त्यस्तो राजमार्गलाई सत्तोसराप गरेर समय खेर फालेर फाइदा छैन । नेपालको समृद्धिको राजमार्ग सिधा, छिटो, सस्तो, सजिलो, सहज कसरी बनाउने यसमा बहस केन्द्रित गर्न पट्टि लाग्न अब ढिला गर्न हुन्न । समय अनन्त र निरन्तर त हुन्छ, तर मानव र राष्ट्रको लागि सीमित पनि छ । समय सबै वस्तुहरु भन्दा तीब्र नासवान बस्तु हो, प्रयोग गरेन कि नास भईहाल्छ । इतिहासमा नेपालको अमूल्य समय खेरमात्र फालिएको छ, फालिदै छ। अब खेर फाल्ने छुट पाइदैन ।

राष्ट्रको मेरुदण्ड भनेको विज्ञान, प्रविधि, इन्जिनियरिंग क्षमता हो । जलश्रोत, युवाशक्ति, पर्यटन र जैविक विविधता नेपालको बहुमूल्य एवं गुदीस्रोत हुन् । जे गुदीस्रोत हामीसंग छ, त्यसमा नेतृत्व लिन सक्नुपर्छ । बेरोजगार जन्माउने वर्तमान उदार प्रकृतिको बेकामे शिक्षा प्रणालीलाई जिल्लाजिल्लामा स्थान सुहाउदो प्राविधिक, बैज्ञानिक, इन्जिनियरिंग शिक्षाको विकासले तीब्र एवं व्यापक तवरमा प्रतिस्थापित गरिहाल्नु पर्छ । यसका लागि बैज्ञानिक एवं प्राविधिक शिक्षाको बृहत् संजाल विस्तार गर्न योग्य प्रतिभावान जनशक्तिलाई राज्यले सम्मानपूर्वक आह्वान गरी नेतृत्व लिन उत्साहित पारिहाल्नु पर्छ ।

नेपालका निम्ति समस्या भयावह छ, चुनौती पनि त्यस्तै छन् । राष्ट्रको औचित्य प्रमाणित गर्न धौधौ पर्दै गएको छ । आत्मनिर्भर बन्न सकेमा मात्र आत्मसम्मान पाइन्छ । आत्मसम्मानले मात्र नेपालीले शीर ठाडो पार्न सक्छ । गुमेको आत्मसम्मान र आशा पुर्नस्थापन गर्नु आजको टड्कारो खाँचो हो । समृद्धिको कठीन मार्गमा सबैलाई हिड्ने प्रेरणा आशावादीताले नै सृजना गर्नेछ । तर्कप्रेमी नेपालीलाई कर्मकर्तव्यप्रेमी बनाउने बुटी खुवाउने जिम्मेवारी आजको राजनीतिको होे । राजनीतिको नाकमा नत्थि लगाउने काम विद्वान र निस्वार्थ स्वतन्त्रताप्रेमी बस्तुवादी बुद्धिजिवी एवं प्राज्ञहरुको हो ।

X