संविधान कार्यान्वयन हुन भारतमा त १५ वर्ष लाग्यो, हाम्रो पनि समय लाग्छ : मन्त्री खनाल

  २०७५ साउन २५ गते १७:५५     विकासन्युज

काठमाडौं। कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ ले जथाभावी कर बढायो भनेर सरकारविरुद्ध अफवाह फैलाईएको बताएका छन् ।

उनले भने,‘वर्तमान सरकारले कर बढायो र जनतालाई ठूलो मारमा पार्यो भनेर अफवाह फैलाईयो । तर, बाहिर अफवाह फैलाईएकोजस्तो कर बढाईएको छैन । स्थानीय, प्रदेश र केन्द्र सरकारले छुट्टाछुट्टै कर लगाउन आँट्यो भनिएको छ, यो अफवाह मात्रै हो । यो त सरकारका बारेमा आलोचना गर्ने बहाना मात्रै हो।’

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री खनालले जग्गाको हदबन्दी लगाउन खोज्यो भनेर तराईका मालपोत कार्यालयहरुमा जग्गा बेच्नेको भीड बढेको सुनाउँदै भने,‘सरकारले जग्गाको हदबन्दी लगाउन थाल्यो भनेर पनि जथाभावी हल्ला फैलाईएछ । ४ विघाभन्दा बढि जग्गा राख्न नपाईने भनेर हल्ला फैलाईएछ । जबकी यो विषयमा सरकारले कहीँ कतैपनि बोलेको छैन ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले सरकारले केही महिनाभित्रै जनतालाई राहतको महशुस हुनेगरि राम्रो कामहरु गर्ने सुनाए । उनले भने,‘हो, अहिले जनताको अपेक्षा अनुसार सरकारले काम गर्न सकेको छैन । तर केही राम्रा कामको सुरुवात सबै मन्त्रालयहरुले गरेका छन् ।’ सरकारले अन्तर्राष्ट्रिय सम्बन्ध सुमधुर बनाएको उनको दाबी छ । खनालले भने,‘दुवै छिमेकी राष्ट्रसँग अहिले सुमधुर सम्बन्ध भएको छ ।’

मन्त्री खनालले बाहिरबाट ल्याईने वस्तुहरुमा समेत नियमन गर्न जरुरी रहेको सुनाए । उनले भने,‘हामीले आँत्तिएर भन्दापनि नआँत्तिकन राम्रा कामहरु गर्न जरुरी छ । उनले भने्,‘कृषि, पर्यटन, उर्जा सबै क्षेत्रमा दिगो रुपमा विकास गर्नुपर्छ। आगामी ५ वर्षसम्म हामी दिगो विकासको जग हाल्छौं ।’

त्यस्तै फरक प्रसँगमा उनले कालीमाटी फलफुल तथा तरकारी बजारमा देखिएको सिण्डिकेट अन्त्यको लागि आफूले ठोस कदम चालिसकेको पनि जनाए । उनले थपे, ‘कृषकहरुले आफूले उत्पादन गरेका वस्तुहरु निर्वाध रुपमा ढुवानी गर्न पाउनुपर्छ ।’ भदौ मसान्तसम्म बजारको सुधार हुनुपर्नेगरि आफूले निर्देशन दिएको सुनाउँदै आफू भदौ २८ गते कालीमाटी बजारको स्थलगत् अवलोकनमा जाने पनि उनले सुनाए । कालीमाटीका स्टलहरु हेर्न लायकमात्रै नभएर त्यहाँ राखिएका तरकारी तथा फलफुल खानलायकको पनि हुनुपर्ने उनको भनाई छ ।

मुलुकको कुल ग्राहस्थमा कृषिको योगदानमा यसपटक वृद्धि हुने मन्त्री खनालले विश्वास दिलाए । खाद्य गुणस्तरको स्तरीयता कायम गर्न आफूले खाद्य सुरक्षा अभियान नै चलाईरहेको उनको भनाई छ । उनले भने, ‘विभिन्न २२ वटा पानीका फ्याक्ट्रीहरुमा अहिले ताला लगाईएको छ । गलत गर्नेलाई हामी छोड्दैनौं । हामी मुद्दा चलाउँछौं ।’

मासुमा नेपाललाई आत्मनिर्भर बनाउने लक्ष्य आफूले लिएको मन्त्री खनालको भनाई छ । उनले थपे,‘मासुमा हाम्रो देशलाई आत्मनिर्भर बनाउनुपर्छ । र, हुन सक्छ पनि । अहिले विदेशबाट आयातित मासुको पनि राम्रोसँग नियमन भएको छैन । मासुमा आत्मनिर्भर बनाउनको लागि कार्यक्रम चाहिएको छ । म त्यतातिर लागेको छु।’

नेपालमा संघीयता असफल हुन लागेको हो र ? भनेर पत्रकारले सोधेको एक प्रश्नमा उनले भने,‘संघीयताको कार्यान्वयन हुँदैछ । भारतमा त संघीयता पूर्ण रुपमा कार्यान्वयन हुन १५ वर्ष लाग्यो । केही वर्ष पहिलेसम्म त्यहाँ प्रदेशको राजधानी र केन्द्र राख्नेबारे विवाद थियो ।’ संविधानमा उल्लेख भएबमोजिम केन्द्रले प्रदेशलाई अधिकार दिने उनको भनाई छ । उनले भने,‘मैले त धेरै अधिकारहरु तल प्रदेशमा पठाएको छु । पशु सेवा निर्देशनालय तल पठाएको छु । अब सुपर जोन र जोनपनि तल पठाउनेबारे सोचिरहेको छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.