७० प्रतिशत बजार विदेशी काठले खाईरहेको छ- राजेश अग्रवाल

  २०७५ साउन २५ गते १५:४५     विकासन्युज

राजेश अग्रवाल, अध्यक्ष, फर्निचर एसोसियसन

नेपालीहरु फर्निचर व्यवसायीहरु कति छन् ?

अहिले हाम्रो ३ वटा जिल्ला भईसक्यो । पहिला हाम्रो सबै जिल्लाको फर्निचर हाम्रो एउटै संगठन थियो। तर अहिले आएर भक्तपुरले आफ्नै छुट्टै दर्ता गराएको छ र ललितपुर पनि आफ्नै दर्ता गराउने प्रकृयामा छ । भक्तपुर, ललितपुर र काठमाडौं सबै गरेर दर्ता भएका फर्निचर पसलहरु कम्तीमा पनि ४००–४५० का हाराहारी छन् । तर धेरै फर्निचरहरु अझै पनि दर्ता भएका छैनन् । अझै पनि कति फर्निचर पसलहरु घरघर मै रहेका छन् ।

नेपाली काठको अवस्था कस्तो रहेको छ ? पाउन कतिको सजिलो हुन्छ ?

सबैभन्दा समस्या नै यहाँको काठकै छ । यदि नेपाल सरकारले राम्रोसँग काठ उपलब्ध गराउने हो भने हामी ८० प्रतिशत उत्पादन नेपालमा हुने हो भने हामीले आयत दरलाई २० प्रतिशतमा झार्न सक्छौ । तर काठको यति लामो प्रक्रिया छ भने त्यसमा पनि हाम्रा फर्निचर व्यवसायीहरुले काठ सिधै वनविभागबाट पाउँदैन् । काठ नभएर बाहिरबाट आयत गर्नुपर्ने स्थिति छ ।

काठ कति आयत हुन्छ ?

हामीसँग यकिन डाटा छैन तर बुझेसम्म ३० अर्ब जतिको आयत हुन्छ ।

नेपाली काठ भन्दा पनि सस्तो पर्छ हो विदेशी काठ?

सस्तोभन्दा पनि बिदेश काठ हरु सजिलोसँग पाईन्छन् । नेपाली काठ त पैसा तिरेर पनि पाइने अवस्था छैन । उद्योग चलाउनलाई महँगो न सस्तो भन्दा पनि सामान छ कि छैन भन्ने पहिलो मान्यता हो । हाम्रो मान्यता त बाहिरबाट काठ आयत नगरु भन्ने हो तर यस्तै छ स्थिती । मलेसियन र ईन्डियाबाट फर्निचर बन्ने काठ आउँछन् । चाईनाबाट चाँही प्लाईहरु बढी आउँछन् ।

नेपाली अग्राख काठ सबैभन्दा राम्रो मान्छन् ?

बाहिरको काठहरु हामीहरुले बाध्यताले मात्र झिकाएको हो नत्र नेपाली काठ जस्तो तिनीहरु टिकाऊ हुँदैनन् । सामान नपाएर मात्रा यिनीहरु झिकाएको हो । यी काठहरुको आयत हुन थालेको ४–५ वर्ष मात्र हुन लागेको छ । वाणिज्य आपुर्ती मन्त्रीलाई हामीले मेलाको उद्घाटनमा बोलाँउदा उहाँले भन्नुभयो, “की यती काठ हामीहरुसँग फालाफाल छ, ३ महिला पर्खनुस् र तपाईहरुलाई हामी यही काठ उपलब्ध गराउँछौँ । तर सरकार यहाँ महिना महिनामा फेरिन्छ झन् मन्त्री त कुरै नगरौँ ।”

फर्निचरको बजार कस्तो रहेको छ ?

हाम्रोमा सबैभन्दा बढी चाइनिज काठ बढी आयत हुन्छ किनभने चाइनिज काठ सस्तो र हेर्दा राम्रो पनि हुन्छ । हाम्रो नेपालमा न काठ पाईन्छ न त दक्ष जनशक्ति मानिसहरु प्रशिक्षण पाउने वित्तिकै बाहिरको लागि हानिन्छन् । जसको कारणले गर्दा हामी बाहिरबाट काठ आयात गर्न वाध्य छौँ । बाँकी टर्की, मलेसिया, इन्डोनेसियाबाट आयत हुने गर्दछ । यिनीहरु अलिक महंगा काठ हुन् । यिनीहरुको आफ्नै शोरुम पनि रहेको छ । एउटा टि–टेबल २ लाखसम्मको पनि आयत हुने गर्दछ र बिक्री पनि भईरहेको छ ।

विदेशी काठले कति बजार खाइरहेको छ ?

७० प्रतिशत बजार विदेशी काठले खाईरहेको छ ।

अग्राख काठ र नेपाली काठमा रकम कतिको फरक छ ?

मोटामोटी रुपमा २० प्रतिशतले फरक पाईन्छ । स्क्वायर फिट अनुसार दाममा फरक पर्न जान्छ ।

नेपाली काठमा के बढी बिक्री भएको पाईन्छ ?

नेपाली काठमा बढी बिक्री भएकोमा अफिस टेबल, पलङ बिक्री भएको पाईन्छ । यिनीहरु महंगो भए पनि मानिसहरु बलियो हुन्छ भनेर यही किन्न मन पराउँछन् । पाएसम्म मानिसहरु यही किन्न रुचाउछन् तर नपाएको कारणले चाईनिज काठ किन्न वाध्य छन् ।

एउटा फर्निचरलाई नेपाली काठ बेच्न भन्दा विदेशी बेच्न फाईदा हुन्छ हो ?

फाईदा पनि बढी र लागत पनि कम । एउटा नेपाली काठ १० हजार पर्न जान्छ भने विदेशी काठ ५–६ हजार पर्न जान्छ । त्यसैमाथि पनि विदेशी काठ सजिलोसँग पनि पाईन्छ ।

नेपाली कार्पेटको स्थिती के छ ?

हामी आम नेपालीले प्रयोग गर्ने कार्पेट बनाउन हामी सक्षम भईसकेका छौँ । त्यसको आयत पनि बन्द भईसक्यो । ३ वटा फ्याक्ट्री नेपालमा भईसकेको छ र अझै अर्को एउटा पनि आउँदैछ । महंगो दरको अझै पनि आयत गरिरहेका छौँ ।

हातले बनाएको गलैचाको अवस्था कस्तो रहेको छ ?

अहिले आएर हातले बनाएको गलैचाको निर्यात पहिलेको भन्दा कम भएको छ । त्यसमा पनि कामदारकै समस्या छ । निर्यात नभएको होईन तर अहिले नेपालमा गलैचा उद्योगको स्थापना भईसकेको छ जुन सामान्य दायराबाट शुरु गरेको थियो । महंगोमा चाँही अझै सक्षम भईसकेका छैनन् ।

नेपाल कार्पेट उत्पादनमा सक्षम भईसकेको छ, त्यही पनि बाहिरीबाट किन आयत गरिन्छ ?

नेपाल कम मुल्यको कार्पेटको उत्पादनमा मात्र सक्षम भएको देखिन्छ र अझै पनि बढी मुल्य पर्ने कार्पेटको उत्पादन भएको पाइएको छैन र उक्त कार्पेट बाहिरबाटै आयत गरिन्छ ।

मेलाको बारेमा केही बताईदिनुस् न?

हाम्रो मेलामा यसपटक अन्तर्रास्ट्रिय कम्पनीमा स्टल राख्नेमा भारत र पाकिस्तान पक्का भईसकेका छन् । अरु हुन बाँकी छ । यसपटक हामीलाई स्टलकै समस्या होला जस्तो भईरहेको छ । पोहोर २ वटा स्टल लिनेले यसपटक ४ वटा स्टल लिने भनेका छन् किनभने पछिल्लो समयको उनीहरुको प्रतिकृया राम्रो आएको छ । तर हामीहरुको मुख्य उद्देश्य भनेको धेरै प्रदर्शनकर्ता र थोरै स्टल हो । किनभने धेरै प्रदर्शनकर्ता हुँदा मेलामा आउनु हुने मानिसहरुले धेरै अवलोकन गर्न पाउँछन् र एउटै प्रदर्शनकर्ताले धेरै स्टल लिँदा कम सामानको प्रदर्शन हुने र मेला पनि एकैछिनमा घुमेर भ्याईने हुन्छ ।

विगतको बर्षमा भन्दा अहिले केही फरकपन ल्याउनु भएको छ की नार्इ ?

हामीले यो पटक केही फरकपन ल्याएका छौँ । पहिला हाम्रो हलमा मात्र प्रदर्शन हुन्थ्यो तर अहिले बाहिर पनि डुम राख्दैछौँ । हलमा ६/७ को स्टल हुन्छ । सबै डुममा ६०–६५ वटा स्टल हुन्छन् । यो प्रदर्शनकर्ताको आवश्यकता अनुसार गरिन्छ । हामीले प्रवेसिका पनि बदल्दै छौँ । र पहिला हामी सामाजिक संजालमा त्यति जान पाएका थिएनौँ त्यसैले यो पटक हामी अधिकतम सोसल मिडियामा जाँदैछौँ ।

फर्निचरले भोग्नु परेको समस्या र सरकारले के गरिदिएको भए हुन्थ्यो जस्तो लाग्छ ?

सबैभन्दा समस्या हाम्रो कच्चा पद्दार्थको हो । जती पनि बैठक हुन्छन् त्यसमा पनि सबैको यही एउटा गुनासो रहेको छ । ३० अर्बको वस्तुको कारोबार गर्नु सानो कुरा होइन । आज तपाईंको ३० अर्बको कारोबार गर्नेले प्रत्यक्ष रोजगारीमा कम्तीमा पनि एउटा पसलमा ४ जना कामदार राख्दा पनि हाम्रो ७०० वटा रिटेल पसल गरेर ३००० कामदार हुने गर्छ ।

सबै मानिसको धेरै कमाउने योजना हुन्छ । सर्वप्रथम मानिसहरु सर्टिफिकेट पाउने बित्तिकै बाहिरको लागि तातिन्छन् । यहाँ ३० कमाए बाहिर ६० कमाउँछु भन्ने उसको सोच हुन्छ । सरकारले हामीले कच्चा पद्दार्थ सजिलो र सस्तो मुल्यमा प्रदान गरीदिए सहयोग हन्थ्यो । हामीले ६० प्रतिशत आयत गर्छौ भने ४० प्रतिशत उत्पादन गर्छौ । यदि सरकारले यसमा सहयोग गर्ने हो भने हामीले २ बर्षमा यसलाई ६० मा परिवर्तन गर्न सक्छौँ ।

त्यस्तै ट्रेनिङ प्रदान गरेर सर्टिफिकेट पाउने बित्तिकै नेपाल सरकारले बाहिर जाने प्रवृद्धीमा रोक लगाउन पर्छ । सरकारको तर केहीमा पनि राम्रो नीति नियम छैन । हरेक कुराको विकासको लागि राम्रो नीति नियम हुन निकै नै आवश्यक रहेको छ ।

कति सम्मको काठ बिक्री हुन्छन् ?

यसको यकिन छैन किनभने हामीले २००० देखी २ लाख सम्मको काठ बिक्रीमा राखेका छौँ । अझै त्यो भन्दा महँगो पनि बजारमा रहेको छ । हाम्रो देश गरीब छ तर जनता धनी छन् । किन्नेले १० लाखको पनि किन्छन्।

केही भन्न चाहनुहुने र हामीले सोध्न छुटाएको प्रश्न?

आउँदो मेलामा तपाईं हामीले जतिनै सम्झाए पनि भिजिटर आएनन् भने त्यसको केही काम छैन । म सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई यहाँ आएर हामीले के उत्पादन गर्दैछौ भन्ने हेरिदन आग्रह गर्दछु । तपाईंहरु किन्नुस् नकिन्नुस् केही छैन, तर हामी के कुरामा सक्षम भईसक्यौ भन्ने हेरिदिनुस् । अरु बेला एउटा फर्निचरको लागि धेरै ठाउँ दगुर्नु पर्ने हुन्छ तर यहाँ सबै कुरा एउटै छाना मुनी पाईन्छ ।

नेपाली जनताले हामीलाई साथ दिएर हामीहरुको सामान प्रयोग गर्दिएमा हामीहरुलाई धेरै सहयोग मिल्थ्यो र आएको १/२ वर्षमा हामी सबै बनाउन सक्षम हुनेछौँ । सबैलाई यसको सक्दो प्रचारप्रसार होस् । यही छ आग्रह ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.