चितवन मिल्क पुनः सञ्चालनको तयारी, दैनिक एक लाख ५० हजार लिटर दूधको धुलो बनाउने

  २०७५ साउन १६ गते १५:४८     विकासन्युज

चितवन । चितवन मिल्क लिमिटेड पुनः सञ्चालनमा आउने भएको छ । नेपालमा धुलो दूध उत्पादन गर्ने उद्देश्यका साथ स्थापना भएको उद्योग भूकम्पपछि २०७२ वैशाखबाट पूर्णरुपमा बन्द रहेको थियो । उद्योगले गत पुस महिनाबाट निजी डेरीको बचेको दूध प्रशोधन गर्दै आएको छ ।

नेपाल डेरी उद्योग संघले आफू मातहतका डेरीमा खपत नभएको दूध उद्योगमा ल्याएर धुलो र नौनी बनाउँदै आएका छन् । उनीहरुले दूध प्रशोधन गरेबापत उद्योगलाई भाडा तिर्ने गरेका छन् । तर उद्योग नियमित सञ्चालन भने हुन सकेको छैन ।

उद्योगका अध्यक्ष राजुबाबु श्रेष्ठले आगामी असोजबाट उद्योग नियमित सञ्चालन गर्ने बताए । संघसँग सम्झौताअनुरुप आउने दूधको धुलो उत्पादनसँगै उद्योगले आफ्ना अन्य उत्पादन गर्नेछ । धुलो दुधबाट नियमित उत्पादन शुरु गर्न लागिएको हो । क्रमशः अन्य उत्पादन बढाउँदै लगिने भएको छ ।

सरकारले हाल धुलो दूध आयातमा प्रतिबन्ध लगाएको छ । चितवन मिल्कले उत्पादन गर्ने दुग्धजन्य पदार्थ उपयोग गर्न नेपाल डेरी उद्योग संघ सकारात्मक भएको छ । कम गुणस्तरको भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्न कठिन भइरहेको बेला भूकम्पले उपकरण र भवनमा क्षति पुर्याएपछि उद्योग बन्द भएको थियो ।

उद्योगका व्यवस्थापक दुर्गा पराजुलीले उद्योगमा तीन प्रकारको धुलो दूध उत्पादन गर्न सकिने बताए। दैनिक एक लाख ५० हजार लिटर दूधको धुलो बनाउने क्षमता उद्योगसँग छ । घ्यू, दही, पनिर र पोका दूध पनि उद्योगले उत्पादन गर्न सक्दछ ।

विसं २०६६ मा आठ बिगाहा क्षेत्रफलमा एक अर्ब रुपैयाँभन्दा बढी लगानीमा भरतपुर महानगरपालिका-१ ठिमुरामा उद्योग स्थापना गरिएको थियो । शुरुका वर्ष दूध नपुगेपछि भारतबाट दैनिक एक लाख लिटरसम्म दूध ल्याएर उद्योगले प्रशोधन गर्ने गरेको थियो । धुलो दूध नेपालमा बिक्री गर्न नसकेपछि घाटामा गएको उद्योग भूकम्पछि पूर्णरुपमा बन्द भयो ।

पराजुलीका अनुसार भारतमा बिक्री नभएको गुणस्तरहीन धुलो दूधसमेत नेपाल भित्रिदा यहाँका उच्च गुणस्तरको दूधले बजार पाउन सकेको थिएन । नेपाल डेरी उद्योग संघका अध्यक्ष अरनिको राजभण्डारीले डेरीसँग बचेको दूध उद्योगलाई भाडा तिरेर धुलो र नौनी उत्पादन गर्दै आएको बताए । डेरी उद्योगले बचेको दूधको धुलो उत्पादन थालेपछि दूध बढी भएको समयमा किसानलाई आलोपालो प्रथा (मिल्क होलिडे) गर्न नपरेको संघले जनाएको छ ।

भारतीय धुलो दूध आयात रोकेर नेपालको चितवन मिल्क, दुग्ध विकास संस्थानको विराटनगरमा रहेको उद्योग र सुजल डेरीको पोखरामा रहेको उद्योग नियमित सञ्चालन गर्न सकेमा नेपाल दूधमा आत्मनिर्भर हुने राजभण्डारीको दाबी छ । जसका लागि नेपाली कृषकलाई सरकारले अनुदान दिनुपर्ने कृषक बताउँछन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.