काष्ठमण्डप पुनःनिर्माणको नमूनामा त्रुटि भए–नभएकामा विज्ञद्वारा अध्ययन गरिदै

  २०७५ साउन ८ गते १७:२२     विकासन्युज

काठमान्डौ। काष्ठमण्डप पुनःनिर्माणको नमूनामा त्रुटि भए–नभएकामा विज्ञहरुले अध्ययन गरिरहेका छन् । यसअघि नै काष्ठमाण्डप पुनःनिर्माणको नक्सा तयार भइसकेपनि त्यसमा हुनसक्ने कमी कमजोरीबारे विज्ञहरुले अध्ययन गरिरहेका हुन् ।

अहिले पनि केही आन्तरिक काम भइरहेको छ, “अबको एक महिनामा पूर्णरुपमा काष्ठमाण्डप पुनःनिर्माणको काम जनताले देख्नेगरी नै शुरु हुन्छ” काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यले बताए । उनको अनुसार यो ऐतिहासिक सम्पदा भएकाले सबैको विचार यसमा समावेश हुन आवश्यक हुन्छ त्यसैले केही समय लागेको हो ।

विसं २०७२ को भूकम्पले पूर्णरूपमा क्षति पुगेको ऐतिहासिक काष्ठमण्डप पुनःनिर्माणका लागि गत वैशाख ३१ गते क्षमा पूजा पनि भइसकेको छ । क्षमा पूजा कुनै कार्य शुरु गर्नुपूर्व गरिने र निर्माणको अवधिभरि कुनै किसिमको समस्या नआओस् भनेर गरिने पूजा हो । आगामी भदौको पहिलो साताबाट पुनःनिर्माण गर्ने गरी सम्पूर्ण तयारी भइरहेको छ । त्यसका लागि पुनःनिर्माणमा प्रयोग हुने इँटा र माटोको गुणस्तर परीक्षणसँगै निर्माणका लागि आवश्यक पर्ने काठ जम्मा गर्ने काम भइरहेको छ ।

बिसेत नामका मानिसले कल्पतरुलाई चिनेर नियन्त्रणमा लिई एउटा रूख उपलब्ध गराउने वाचा गराएर छाडेपछि कल्पतरुले सालको काठ दिएको, सातौँ शताब्दीमा राजा लक्ष्मीनरसिंह मल्लले निर्माण त्यसैबाट मूर्तिविहीन मरुसतः बनाएको र पछि यसैलाई काष्ठमण्डप भन्न थालिएको हो ।

पछि मरुसतःमा गोरखनाथ र अन्य मूर्ति थपिएको थियो । केही वर्षअघि बेलायतको दुर्हाम विश्वविद्यालयका अनुसन्धानकर्ताले गरेको खोजअनुसार यो सातौँ शताब्दीको भएको बताइएको थियो । नेपालको राजधानी काठमाडौँको नाम ‘काष्ठमण्डप’बाट नै रहेको इतिहासमा उल्लेख छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.