३१ प्रतिशतले बढ्यो बीमा बजार, नयाँ कम्पनीको हिस्सा कति ?

  २०७५ साउन ६ गते १४:४७     नारायण पौडेल

काठमाडौं । एक बर्षकै अवधिमा बीमा बजार ३१.१६ प्रतिशतले वृृद्धि भएको छ । बीमा समितिले तयार पारेको जीवन तथा निर्जीवन बीमा कम्पनीहरुको बीमा शुल्क सम्बन्धी प्रारम्भिक तथ्यांक अनुसार गत आर्थिक बर्षमै प्रिमियमको आकार ३१.१६ प्रतिशतले बढेर ४२ अर्ब ५ करोड पुगेको हो ।

अघिल्लो आर्थिक बर्ष २०७३।७४ मा त्यस्तो प्रिमियम जम्मा ३२ अर्ब ६ करोड रुपैंयाँ मात्रै थियो । जीवन बीमा कम्पनीको बजार ३२.५१ प्रतिशतले बढेको हो भने निर्जीवनको बजार ११.५० प्रतिशतले बढेको हो ।

गत आर्थिक बर्ष २०७४।७४ मा जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले ९ अर्ब ९९ करोड प्रिमियम वृद्धि गर्न सफल भएका हुन् । साे अवधिमा जीवन बीमा कम्पनीहरुले १९ अर्ब ९२ करोेड प्रिमियम संकलन गरेका छन् । निर्जीवन बीमा कम्पनीहरुले २२ अर्ब १३ करोड रुपैयाँ प्रिमियम संकलन गरेका छन् ।

जीवन बीमा कम्पनीको कुल प्रिमियम अघिल्लो बर्ष १३ अर्ब ३ करोड थियो भने निर्जीवन बीमा कम्पनीहरुको प्रिमियम १९ अर्ब मात्रै थियो ।बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँले बीमा पहुँच ११ प्रतिशत पुगेको बताए । उनले आगामी २ बर्षभित्र बीमा पहुँचलाई १४ प्रतिशत भन्दा माथी पुर्याउने दावी पनि गरे ।

नयाँ कम्पनीको योगदान कति ?

गत आर्थिक बर्षमा मात्रै लाइसेन्स पाएका ९ वटा नयाँ जीवन बीमा कम्पनीहरुले ३ अर्ब ४८ करोड प्रिमियम संकलन गर्न सफल भएका छन् । पुराना ९ वटा कम्पनीहरुले गत बर्ष १६ अर्ब ४४ करोड रुपैयाँ प्रिमियम संकलन गरेका हुन् ।

नयाँ जीवन बीमा कम्पनीमध्ये युनियन लाइफ इन्स्योरेन्स कम्पनीले एक अर्ब २५ करोड प्रिमियम संकलन गरेको छ भने आईएमई लाइफले ५२ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ । रिलायबल लाइफले ४२ करोड संकलन गर्दा सिटिजन लाइफले पनि ४० करोड पुर्याएको छ । ज्योति लाइफ र सन नेपाल लाइफले भने २८/२८ करोड रुपैंयाँ प्रिमियम संकलन गरेका छन् ।

प्रभु लाइफले ११ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ भने सानिमाले ९ करोेड र रिलायन्सले ८ करोड रुपैंयाँ प्रिमियम संकलन गर्न सफल भएका छन् । निर्जीवन बीमा कम्पनी तर्फ जनरल इन्स्योरेन्स कम्पनीले ३३ लाख, अजोड इन्स्योरेन्सले २४ लाख र सानिमाको २ लाख रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.