भेरी बबई डाइभर्सनको ४९ प्रतिशत काम सकियो, निर्धारित समय अगावै सम्पन हुने

  २०७५ साउन ६ गते ११:०३     विकासन्युज

सुर्खेत । राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन आयोजनाको काम ४९ प्रतिशत सम्पन्न भएको छ । गत कात्तिक महिनाको पहिलो साताबाट सुरुङ निर्माण कार्य थालिएको १२ किलोमिटरलामो सुरुङ खन्ने काम लगभग आधा सम्पन्न भएको आयोजनाका निर्देशक शिवकुमार बस्नेतले जानकारी दिए ।

निर्देशक बस्नेतका अनुसार काम सुरु भएको ८ महिनामा ४९ प्रतिशत काम भएको हो । आयोजनाका बाँध बनाउनदा ३२ हेक्टर जमीन डुबान पर्ने भएको बताउँदै त्यस क्षेत्रको समुदायको व्यवस्थापनमा सहयोग गर्न निदेशक बस्नेतले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसँग अनुरोध गरेका थिए। आयोजनाको काम सम्पन्न मिति २८ मार्च २०२० भनिए पनि तोकिएको तालिकाभन्दा दुई महिना अघि काम सम्पन्न हुने उनले जानकारी दिए।

आयोजना सम्पन्न भएपश्चात् वार्षिक ७ अर्ब आम्दानी हुने प्रक्षेपण गरिएको छ । आयोजनाको पानीबाट बर्दियाको ५१ हजार हेक्टर जमीनमा सिँचाइ भई त्यसबाट उठ्ने वार्षिक राजस्व ३ अर्ब र उत्पादित ४८ मेगावाट जलविद्युत्बाट ४ अर्ब रुपैयाँ आम्दानी हुने आयोजनाका निर्देशक बस्नेतले बताए।

कर्णाली प्रदेशका मुख्यमन्त्री शाही, भौतिक पूर्वाधार विकासमन्त्री खड्ग खत्री र सरकारी अधिकारीसहितको टोलीले आयोजनाको अवलोकन तथा अनुगमन गरेको थियो । मुख्यमन्त्री शाहीले नेपालमा सबैभन्दा ठूलो सुरुङ प्रविधिबाट निर्माणाधीन भेरी बबई डाइभर्सनको काम कारबाहीबारे बुझ्न, समस्या थाहा पाउन र यथार्थ प्रगतिको जानकारी लिन उक्त आयोजनाको अवलोकन गरिएको जानकारी दिए।

“आयोजनाको ल्याब, क्रसर उद्योग, सिगमेन्ट निर्माण कारखाना र मुख्यगरी करीब छ किलोमिटर निर्माण भइसकेको सुरुङमार्ग हेरेका छौँ । छोटो समयमा यसको उत्साहजनक र प्रशंसा गर्न लायक काम भएको छ,” उनले भने। मुख्यमन्त्री शाहीका अनुसार तीव्र गतिमा बनिरहेको सरकारको सबैभन्दा सस्तो लगानीको यो आयोजनाले कर्णाली प्रदेश र ५ नं प्रदेशको समृद्धिको ढोका खोल्न सहयोग पुग्ने छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.