१०० अर्ब लगानीमा अर्काे पूर्वाधार विकास बैंक खुल्दै, कम्तिमा १५ प्रतिशत सेयर सर्वसाधारणले पाउने

  २०७५ साउन ५ गते १२:१०     रामकृष्ण पौडेल

काठमाडौं । १०० अर्ब रुपैयाँ लगानीमा नेपालमा अर्को पूर्वाधार विकास बैंक खोल्ने प्रक्रिया अगाडि बढेको छ । चिनियाँ लगानीकर्ताको प्रस्तावमा पूर्वाधार विकास बैंक खोल्न सरकारले सैद्धान्तिक सहमति दिएको छ ।

एक चिनियाँ कम्पनीले आफ्नो ८५ प्रतिशत र नेपाल सरकारको १५ प्रतिशत सेयर राख्ने गरी १०० अर्ब रुपैयाँ लगानीको प्रस्ताव गरेको छ । तर बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन अनुसार त्यस्तो संरचना राख्न नमिल्ने राय राष्ट्र बैंकले अर्थमन्त्रालयलाई दिएको थियो । कम्तिमा १५ प्रतिशत सेयर नेपाली सर्वसाधारणलाई छुट्याइनुपर्ने सुझाव राष्ट्र बैंकले अर्थमन्त्रालयलाई दिएको छ ।

राष्ट्र बैंकमा डेपुटी गर्भनर चिन्तामणि शिवाकोटीका अनुसार नेपालीको लगानीमा बैंक खोल्दा कम्तिमा ३० प्रतिशत सेयर सर्वसाधारणलाई दिनुपर्छ । विदेशीको लगानीमा खुल्ने बैंकले कम्तिमा १५ प्रतिशत सेयर नेपाली सर्वसाधारणलाई दिनुपर्छ । सर्वसाधारणलाई १५ प्रतिशत सेयर नदिई सरकारलाई दिन्छु भन्न मिल्दैन । ‘राष्ट्र बैंकले अर्थमन्त्रालयलाई यहि राय दिएको छ’ सिवाकोटीले भने–‘१५ प्रतिशत सर्वसाधारणलाई दिएपछि बाँकी ८५ प्रतिशत प्रमोटर सेयर विदेशी लगानीकर्ता, नेपाल सरकार वा नेपाली प्रवद्र्धकबीच बाँडफाँड हुन सक्छ ।’

राष्ट्र बैंकको रायपछि अर्थमन्त्रालयले चिनियाँ लगानीकर्तालाई छलफलमा बोलाएको छ । अर्थमन्त्रालयका सचिव राजन खनाल भन्छन्–चिनियाँ कम्पनीले १०० रुपैयाँ बराबर विदेशी लगानी ल्याएर पूर्वाधार विकास बैंकमा लगानी गर्छौ भनी प्रस्ताव गरेका छन् । मन्त्रिपरिषद्ले अर्थमन्त्रालयलाई छलफल गरी नेगोसिएट गर्न जिम्मेवारी दिएको छ । हामीले राष्ट्र बैंकको राय लिएपछि उनीहरुलाई छलफलमा बोलाएका छौं ।

पूर्वाधार विकासमा लगानी गर्न नेपाललार्इ ठूलो पुँजी आवश्यक भएकोले सरकारले उनीहरुलाई सक्दो सहयोग गर्ने खनालले बताए । चिनियाँ लगानीकर्ताहरु सकेसम्म छिटो बैंक खोल्ने तयार देखिएको उनको भनाई छ ।

बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन २०७३ मा कम्तिमा २० अर्ब रुपैयाँ लगानी गरी पूर्वाधार विकास बैंक खोल्न सकिने व्यवस्था गरिएको छ । सोही व्यवस्था अनुसार नेपाली लगानीकर्ताहरुले २० अर्ब रुपैयाँ चुक्ता पुँजी राखेर नेपाल इन्फास्ट्रक्चर डेभलपमेन्ट बैंक खोल्ने प्रक्रिया अगाडि बढाएका छन् ।

बैंक खोल्न लगानीकर्ताहरुले ४५ प्रतिशत पुँजी बैंकमा जम्मा गरिसकेका छन् । कार्यालय बानेश्वरमा राखेर कर्मचारी भर्ना कार्य अगाडि बढाईरहेका छन् ।

नेपालीहरुको लगानीको पूर्वाधार विकास बैंक खुल्न नपाउँदै त्यो भन्दा धेरै ठूला लगानी भएको विदेशी पूर्वाधार विकास बैंक प्रवेशको तयारीले नेपाली लगानीकर्ताको पुँजीको सुरक्षामा चुनौति बढ्ने विश्लेषण गरिएको छ । तर अल्पविकसित नेपालका लागि अहिले जति विदेशी लगानी आए पनि नेपालीको लगानी जोखिममा नपर्ने खनालको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.