अर्थमन्त्री भन्छन्ः मलाई दातृ निकाय र निजी क्षेत्रले विश्वास गरिसके

  २०७५ साउन ४ गते १७:३५     विकासन्युज

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आफुलाई विदेशी दातृ निकाय र निजी क्षेत्रले विश्वास गरिसकेको दावी गरेका छन् । अर्थमन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्री डा. खतिवडाले सन्तुलित बजेट, वित्तीय अनुशासनको कार्यक्रम अघि सारेकाले आफुलाई विदेशी दातृ निकायले विश्वास गरेको बताएका हुन् ।


‘हामीले ल्याएको सन्तुलित बजेट, वित्तीय अनुशासनको बिधिले दातृ निकायहरु पनि विश्वस्त भएका छन्, थप सहयोगका लागि प्रतिवद्धता पनि बढाईरहेका छन् ।’, मन्त्री खतिवडाले भने । उनले पछिल्लो चार महिनामै आफुले ५० अर्ब विदेशी ऋणका लागि छलफल अन्तिम चरणमा पुर्याएको पनि जानकारी दिए ।

त्यस्तै, स्वदेशी तथा विदेशी निजी क्षेत्रले समेत आफुलाई विश्वास गरिसकेको उनको दावी थियो । ‘प्रत्यक्ष वैदेशिक लगानीको प्रतिवद्धता पनि बढेको छ, स्वदेशी निजी क्षेत्र पनि उत्साहित देखिन्छ, नेपालमा लगानी गरेपछि राम्रो प्रतिफल पाइन्छ भन्नेमा निजी क्षेत्र विश्वस्त बनिरहेको छ’, मन्त्री खतिवडाले भने ।

करमा एग्रेसिभ भएकै हो
मन्त्री खतिवडाले सरकार करमा भने एग्रेसिभ भएको स्वीकार गरेका छन् । ‘जुन पुस्ताले उपभोग गरेको हो, त्यति पुस्ताले कर तिर्नु पर्छ, इन्टरनेटका सवालमा हामीले त्यहि गरेका हौं, हामी करमा भने एग्रेसिभ भएकै हौं’, खतिवडाले भने । उनले आजको पुस्ताले उपयोग गरेको बस्तु तथा सेवा वापतको ऋण भावी पुस्तालाई बोकाउन नसकिने स्पष्ट पारे ।

सम्मेलनमा राजश्व सचिव शिषिर ढुंगानाले गत आर्थिक बर्षमा राजश्व संकलनको लक्ष्य कसरी पुरा गरियो भन्नेबारे फेहरिस्ता सुनाएका थिए । एनले गत आवमा समग्र राजश्व २०.९१ प्रतिशतले बढेको जानकारी दिए । भ्याट तर्फ २९ प्रतिशत, भन्सार तर्फ २१.७ प्रतिशत, अन्तशुल्क तर्फ २१.१ प्रतिशत र आयकर तर्फ ७.८१ प्रतिशतले वृद्धि भएको उनले बताए । त्यस्तै, गैर कर राजश्व संकलनको दर भने १७.९ प्रतिशतले वृद्धि भएको जानकारी उनले दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.