छोरी जन्माएको भन्दै घर निकाला, घर फिर्ता आए १० लाख ल्याउनुपर्ने

  २०७५ साउन ३ गते १५:१५     विकासन्युज

इनरुवा । सुनसरी जिल्लाको दुहबी नगरपालिका-६ कि राधा साह छोरी जन्मिएकोमा दुई वर्षदेखि घरेलु हिंसाबाट पीडित भएका छन् ।

सुनसरीको इटहरीमा पत्रकार सम्मेलन गरेर साहले आफू छोरी जन्माएकै कारण घरबाट निकाला भएको र अपहेलितसमेत भएको बताए । उनले छोरी जन्मिएका कारण श्रीमान् र घरपरिवारबाट अपहेलित हुँदै अहिले माइतमा बस्न बाध्य भएको बताए ।

साहले २०७२ सालमा २० वर्षको उमेरमा रामधुनी नगरपालिका-३, प्रिपाहका २४ वर्षीय गोपाल साहसँग विवाह गरेका थिए । विवाहपछि छोरी जन्मिएको भन्दै श्रीमानले कुटपिट गर्ने गरेको र घरबाट निकालेको पीडित साहले पत्रकार सम्मेलनमा बताएका छन् । दुई वर्षदेखि दुहबीमा रहेकी आमाको घरमा बस्दै आएको बताउँदै साहले घर फिर्ता आए १० लाख रुपैयाँ लिएर आउनुपर्ने माग श्रीमानले गरेको बताए ।

आफू पीडित भएर पनि सम्बन्धित निकायले न्याय र चासो नदिएका कारण बाध्य भएर पत्रकार सम्मेलन गर्नुपरेको पीडित साहले बताएका छन् । दुई वर्षकी छोरीसहित पत्रकार सम्मेलनमा उपस्थित भएकी साहले आफू अन्यायमा परेको भन्दै दुहबी नगरपालिकाको न्यायिक समितिमा निवेदन दिए पनि सुनुवाइ नभएको गुनासो गरेका छन् ।

आफू छोरी जन्माएकै कारण श्रीमान् र घरपरिवारबाट अलग भएकोमा उनले दुःख व्यक्त गरेका छन् । उनले श्रीमानसहित ससुरा ललित साह तथा सासु छिनादेवी साहले घरबाट निकालेको र घरमा फिर्ता आए १० लाख रुपैयाँ ल्याउन पटक पटक दबाब दिएको बताए । पीडित साहले श्रीमानकै घरमा बस्न पाउनुपर्ने मागसमेत गरेका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.