सञ्चय कोषले सञ्चयकर्तालाई बढायो ब्याजदर, कोषमा दिने ८.२५ र ऋणमा लिने ९.७५ प्रतिशत

  २०७५ साउन १ गते १०:१४     विकासन्युज

काठमाडौं । कर्मचारी संचय कोषले सञ्चयकर्तालाई दिने र ऋण दिएवापत लिने ब्याजदर दुबै बढाएको छ । कोषले साउन १ गतेदेखि सञ्चयकर्तालाई दिने र लिने ब्याजदरमा पुनरावलोकन गरेको हो ।

सञ्चयकर्तालाई दिने र लिने दुबै ब्याज महंगिएको कोषले जानकारी दिएको छ । संचय कोष रकममा ८ प्रतिशत रहेको ब्याजदरलाई ०.२५ प्रतिशत बढाएर ८.२५ प्रतिशत पुर्याएको छ । विशेष सापटी भने साढे ९ प्रतिशत ब्याजदर यथावत राखिएको छ ।

घर, शैक्षिक र घर मर्मत सापटीको ब्याजदर ९.५० बाट बढेर ९.७५ प्रतिशत पुगेको छ । सरल चक्र ब्याजदर १० बाट १०.२५ प्रतिशत पुगेको कोषले जनाएको छ । यस्तै ४० लाख रुपैयाँ भन्दा बढीको घर सापटीको ब्याजदर भने १०.२५ प्रतिशत कायम गरेको कोषले जानकारी दिएको छ ।

सञ्चयकर्तालाई प्रदान गरिदै आएको विशेष सापटी सीमा पनि घटाएर ८० प्रतिशत कायम गरिएको छ । गत असारसम्म यस्तो सापटी सीमा ९० प्रतिशतसम्म थियो । ९० प्रतिशत सापटी लिएका सञ्चयकर्तालाई समेत ८० प्रतिशत सीमा कायम गरिने कोषले जनाएको छ ।

सञ्चयकर्ताको हितलाई ध्यानमा राखेर कोषमा दिने र कर्जामा लिने ब्याजदरमा सामान्य वृद्धि गरिएको कोषका प्रशासक तुल्सिप्रसाद गौतमले जानकारी दिए । आगामी वर्ष कोषले दिने र लिने ब्याजदरको अन्तर १ प्रतिशतमा झार्ने योजना गौतमले सुनाए ।

“यो वर्ष १.५ प्रतिशतसम्म छ, आगामी वर्षदेखि घटाएर १ प्रतिशतमा झार्ने छौं”उनले भने “सञ्चयकर्ताको हितका लागि कम लाभ लिने योजना छ । बढी भन्दा बढी सञ्चयकर्तालाई सहभागी गराउन कर्जा सापटी सीमा पनि घटाइएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.