सार्क उद्योग वाणिज्य संघको विधान संशोधन समितिको सभापतिमा महासंघका ढकाल चयन

  २०७५ असार ३१ गते १८:४५     विकासन्युज

काठमाडौं । सार्क उद्योग वाणिज्य संघको ७५औं कार्य समिति बैठकले नेपाल उद्योग वाणिज्य महासंघका विशिष्ट सदस्य, पूर्व अध्यक्ष एवं सार्क उद्योग वाणिज्य संघका उपाध्यक्ष चण्डिराज ढकाललाई संघको विधान संशोधन समितिको सभापतिमा चयन गरेको छ ।

बंगलादेशको ढाकामा भैरहेको कार्य समिति बैठकमा संघको विद्यमान विधानलाई अझ बढी स्पष्ट र क्रियाशिल बनाउन संशोधन गर्न लागिएको जानकारी गराइयो । त्यसैगरी सार्क उद्योग वाणिज्यसंघका कार्य समिति सदस्य देश बन्धु बस्नेत (अजित) संघको मानव संशाधन समितिको सदस्यमा मनोनित भएका छन् ।

विधान संशोधन समितिका सदस्यहरूमा संघका वर्तमान उपाध्यक्ष विनोद जुनेजा, संघका पूर्व अध्यक्ष एवं वर्तमान उपाध्यक्ष दासो उगेन थेक्चुप दोर्जी, पाकिस्तान उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष एवं संघका वर्तमान कार्य समिति सदस्य जुवेर अहमद मल्लिक, र बंगलादेश उद्योग वाणिज्य महासंघका पूर्व महासचिव तथा संघका कार्य समिति सदस्य सफकात हैदर छन् ।

कार्य समिति बैठक पश्चात सार्क उवासंघद्वारा ढाकामा आयोजित अ क्लाईमेट रिसाइलेन्ट साउथ एसियाः टर्निङ क्लाइमेट स्मार्ट इन्भेष्टमेन्ट अपर्टुनिटिज इन्टिु रियालिटी विषयक सम्मेलनलाई महासंघका विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष ढकालले संबोधन गरेका छन् ।

संबोधनका क्रममा सार्क उवासंघका उपाध्यक्ष ढकालले यस क्षेत्रको आर्थिक विकासमा मुख्य समस्या बन्दै गएको वातावरण परिवर्तनको चुनौतीलाई साझा समस्याको रूपमा संवोधन गर्नुपर्ने धारणा राखेका छन् । वातावरण परिवर्तनबाट देखापर्ने चुनौतीलाई संबोधन गर्दै आर्थिक विकास, लगानी आकर्षण, रोजगारी सृजना गर्दै यस क्षेत्रका जनताको जीवनस्तर सुधारमा साझा एजेण्डा तय गर्न उनले सुझाव दिए । वातावरण परिवर्तनबाट उत्पन्न हुन सक्ने समस्यालाई मध्यनजर गर्दै उनले दक्षिण एशियाली देशहरूले पनि आफ्ना विकास रणनीति तय गर्ने बेला आइसकेको बताएका छन् ।

स्वच्छ उर्जा र उर्जा दक्षता अभिवृद्धिमा भएको लगानी वातावरणमा देखिएको परिवर्तनका कारण दीगो हुन नसकेको ढकालले बताएका छन् । त्यस्तै, उनले वातावरण परिवर्तबाट हुन सक्ने असरलाई समयमै संवोधन नगर्ने हो भने यस क्षेत्रमा सन् २०३० सम्म करिब १० करोड मानिसहरु गरिबीको रेखामुनी धकेलिने बताएका छन् । गरिवीको रेखामुनी जानबाट यस क्षेत्रका जनतालाई जोगाउने हो भने आगामी सन् २०३० सम्म यस क्षेत्रमा स्वच्छ उर्जा उत्पादनमा करिव ४१० विलियन अमेरिकी डलर लगानी गर्नुपर्ने, करिव ६७० विलियन अमेरिकी डलर वरावरको लगानी यातायात सुधारमा खर्चनु पर्ने तथ्यांक पूर्व अध्यक्ष ढकालले प्रस्तुत गरेका छन् ।

हाल दक्षिण एशियाली देशहरूमा भारतले सौर्य उर्जा, श्रीलंकाले हरित आवास योजना, भुटानले विद्युतीय सवारी साधन, बंगलादेश र नेपालले सार्वजनिक निजी साझेदारीमा सार्वजनिक यातायातको प्रवद्र्धन तथा उर्जा विकासमा पहल गरीरहेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.