गलैंचा उत्पादक र निर्यातकर्ता संघ मर्ज भए, संस्थापकहरुले विशेष अधिबेशन बहिस्कार गरे

  २०७५ असार २८ गते १९:५७     विकासन्युज

काठमाडौं । नेपाल गलैंचा निकासीकर्ता संघ र केन्द्रीय गलैंचा उत्पादक संघ मर्ज भई नेपाल गलैंचा उत्पादक तथा निकासीकर्ता संघ गठन भएको छ । पुराना दुबै संस्था विघटन गरिएको छ भने नयाँ संस्था जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता भएको छ ।

नेपाल गलैंचा निकासीकर्ता संघ र केन्द्रीय गलैंचा उत्पादक संघले विहीबार विशेष अधिबेशन आयोजना गरी नयाँ संस्थाको नेतृत्व चयन गरेका छन् भने पुरानो कार्यसमिति भङ्ग गरेका छन् । निकासीकर्ता संघका अध्यक्ष रामबहादुर गुरुङको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति गठन भएको छ ।

दुबै संस्थाको उदेश्य पनि एउटै भएको र व्यवसायिक एकता सबैको आवश्यकता महशुस भएकोले दुई संस्था मर्ज भएको अध्यक्ष गुरुङले विकासन्युजलाई बताए । नयाँ संस्था दर्ता भईसकेको, नयाँ कार्यसमिति पनि चयन भईसकेकोले यहि संस्थाले पुराना र भङ्ग भएका संस्थाको प्राविधिक काम सम्पन्न गर्ने उनले बताए ।

गलैंचा उत्पादक तथा निकासीकर्ताबीच २० वर्षअघि विवाद भएपछि दुई संस्था खडा भएका थिए । दुई संस्था मर्जको क्रममा निकासीकर्ता संघको संस्थापक तथा पूर्वअध्यक्षहरुले विशेष अधिवेशन बहिस्कार गरेको निवर्तमान अध्यक्ष अनुपबहादुर मल्लले बताए । ‘देश विदेशमा नाम चलेको र गलैंचा निर्यातमा महत्वपूर्ण योगदान गरेको संस्था विघटनको खबर सुनेको छु । मलाई दुःख लागेको छ । म, पूर्व अध्यक्ष कविन्द्रनाथ ठाकुर तथा गलैंचा निकासीकर्ता संघका संस्थापक सदस्यहरु कोही पनि त्यो कार्यक्रम उपस्थित भएनन्’, मल्लले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.